मूल्य स्थिरता कायम राख्न प्रहरीलाई कुखुरा

मूल्य स्थिरता कायम राख्न प्रहरीलाई कुखुरा

सरकारले स्वदेशी कृषि उत्पादन प्रवर्धनको लागि नयाँ उपाय अपनाएको छ ।

महिनौंदेखिको लकडाउन र कोरोना महामारीको त्रासका कारण मुलुकभित्र उत्पादित कृषि उपजलगायत माछा, मासु र कुखुराको फुलको खपत कम हुँदा समग्र मूल्य श्रृंखलामा ह्रास आएकोले नयाँ उपाय अपनाएको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मातहतका सुरक्षा निकायहरूलाई हालै जारी गरेको परिपत्रमा सबैले प्रयोग गर्ने राशनमा स्वदेशी कृषि उपजलगायत माछा, मासु र कुखुराको फुल प्रयोग गर्न निर्देशन दिइएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल,नेपालको प्रधान कार्यालयलाई लेखेको पत्रमा ‘मुलुकको आर्थिक विकासको महत्वपूर्ण उत्पादन क्षेत्रको रूपमा रहेको कृषि क्षेत्रलाई दूरगामी असर पर्नसक्ने हालको असहज परिस्थितिमा सुरक्षाकर्मीहरूलाई प्रदान गरिने राशनमा स्वदेशी तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, कुखुराको अण्डालगायत कृषि तथा पशुजन्य उत्पादनहरू समावेश हुने व्यवस्था गर्नुहुन’ भनिएको छ ।

लकडाउन र कोरोना संक्रमणको कारण कृषि तथा पशुजन्य उत्पादनहरूको मागमा ह्रास आएपछि बजारमा ती सबैको मूल्य घटेको छ । यतिखेर उत्पादन बढेको तर कृषकहरूको न्यूनतम खर्च र ज्यालासमेत नउठ्ने अवस्था हुनेगरी मूल्य घटेकाले मूल्य स्थिरता कायम राख्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त उपाय अपनाएको हो ।

टिप्पणीहरू