किने छिरे देउवा बालुवाटार ?

किने छिरे देउवा बालुवाटार ?

विकसित राजनीतिक घटनाक्रमलाई हेर्दा नेकपाभित्रको अन्तरबिरोधको अन्त्य प्रधानमन्त्रीले पद छाडेपछि मात्र हुने देखिन्छ । राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः जारी गरे पनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुबै पदमा रहिरहने सम्भावना अत्यन्त क्षीण हुँदै गएको छ ।

प्रधानमन्त्रीले बुधबार बेलुकी काँग्रेस अध्यक्ष शेरबहादुर देउवालाई बालुवाटारमा भेट्नुभएको बताइन्छ । काँग्रेसीहरूले देउवासँगको भेटमा संवैधानिक नियुक्तीबारे छलफल भएको बताएका छन् । तर, स्रोतका अनुसार प्रधानमन्त्री र देउवाबीच सम्भावित सत्ता बाँडफाँडमाथि विशेष छलफल भएको हुनसक्छ ।

कथम् नेकपा फुटेमा सरकारको निरन्तरता निम्ति बिपक्षीको साथ अनिवार्य रहन्छ ।

उता, त्यस हदसम्मको आरोप लागिसकेपछि भारतले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई बोकेर हिँड्ने सम्भावना सपनामा पनि चिताउन सकिँदैन । त्यस्तो अवस्थामा न आन्तरिक समर्थन, न वाह्यको अवस्थामा उहाँलाई घाटाको अवस्थाको सिर्जना हुनेछ । सबै खाले खतरा देख्दादेख्दै पार्टी विभाजन गर्ने ‘हठ’ मुलुक, नेकपा र नेता तथा कार्यकर्ता बिरुद्धको गम्भीर भूल मात्र हुनेछ ।

अनेक कालखण्डमा सरकारमा बसेकाहरूले ब्यापारीमाथिको अनेकन लगानीबाट प्राप्त हुने पैसा तत्काल पार्टी विभाजनमा प्रयोग गरी केही सयमपछि पुरानै अवस्थामा पुर्याउन सकिन्छ भन्ने राजनीतिक हिसाब गरेका हुनसक्छन् । तर,त्यो दिवास्वप्न मात्रै ठहरिने उदाहरण विगतमा एमाले,राप्रपा,नेपाली काँग्रेस र माओवादी नै छन् ।

नेकपाभित्रको बढ्दो अन्तरसंघर्ष र प्रधानमन्त्रीका एकपछि अर्को अडानले उहाँ दुई वटै नसकेपनि कम्तिमा एउटा पद जोगाउने रक्षात्मक खेलमा लागेको स्पष्ट हुँदै गएको छ । प्रधानमन्त्रीले आफूलाई हटाएर नयाँ बन्ने सरकारलाई पनि टिकिखान नदिने बताएको स्रोतको दाबी छ । केही दिनअघि मुलुकभर संघीय र प्रदेश तहमा गरी मन्त्री,मुख्य मन्त्री,प्रदेश प्रमुखलगायत विभिन्न संवैधानिक निकायमा रहेका आफू निकटका दुई सय ४३ जना कट्टर अनुयायीलाई परिचालित गरेर नयाँ बन्ने सरकारलाई पनि सजिलैसँग टिक्न नदिने उहाँले बताइसक्नुभएको छ ।

यता पार्टीभित्र गृहमन्त्री रामबहादुर थापा बादलले ‘यु टर्न’ गरेपछि प्रधानमन्त्री र बालुवाटार समूह थप रक्षात्मक स्थितिमा पुगेको छ । स्रोतका अनुसार एमसीसीमा प्रधानमन्त्री र सो समूहले लिएको अडानमा थापाले असहमति जनाएका थिए । साथै मन्त्रीपरिषद्मा बढ्दै गएको प्रधानमन्त्रीको एक्लौटी रवैयाले पनि उनलाई ‘यु टर्न’ गर्न बाध्य बनाएको उनी निकट स्रोतले बताएको छ । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल खेमाको बुधबार बेलुकी धोबीघाट एरिया(अगेनो)मा भएको भेलामा थापाले एमसीसी पारित गर्ने विषयमा आफू कुनैपनि हालतमा पक्षधर बन्न नसक्ने बताएका थिए । उक्त भेलाको निम्ति बेलैमा खबर नपुगेर समितिको बैठकमा बस्नुपरेको कारण पर्यटन मन्त्री सामेल हुन नसकेको उनले बताएका छन् !

थापाले ‘यु टर्न’ गरेपछि अरु मन्त्रीहरू पनि दाम्लो चुँडाल्न मौका पर्खेर बसेको बताइन्छ । लामो समयदेखि मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरू ‘स्थापना’ को रूपमा मात्र देखिन थालेका हुन् । सचिव,सिडियोको सरुवा र विभिन्न निकायमा नियुक्ती सबै प्रधानमन्त्री र बालुवाटारको इच्छामा हुन थालेपछि मन्त्रीहरू सचिवको हाकिमको हैसियतमा खुम्चिन बाध्य भएका थिए । यसबीचमा प्रधानमन्त्रीले अप्रिय निर्णय गरेमा अधिकांश मन्त्रीहरू एक मिनेट पनि नबस्ने मनस्थितिमा पुगेका छन् ।

टिप्पणीहरू