प्रस्तावित एमालेका टिपेक्स लगाइएका अध्यक्ष मनोज भेटवाल

प्रस्तावित एमालेका टिपेक्स लगाइएका अध्यक्ष मनोज भेटवाल

पार्टी विभाजनको नियतसाथ सोमबार नेकपा एमालेको नाममा दल दर्ता गर्न कान्तिपथ, बहादुर भवनस्थित निर्वाचन आयोग पुग्ने टोलीमा विवादास्पद ठेकेदार मनोजकुमार भेट्वाल अघिअघि थिए ।  जलेश्वर-स्वच्छन्द विकोई विल्डर्स प्रालि नामक फर्मबाट निर्माण व्यवसाय गर्ने मनोजलाई देख्नेबित्तिकै आयोगका कर्मचारीले चिनिहाले ।

उनी पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावर निर्माण घोटालामा मुछिएका व्यक्ति हुन् । उनका विरुद्ध चेक बाउन्स र विदेशी विनिमय अपचलन मुद्दा अदालतमा विचाराधीन छ ।

राजनीतिक दल दर्ता गर्ने व्यक्तिमाथि कुनै फौजदारी अभियोग भए वा त्यस्तो अभियोग विचाराधीन भए दल दर्ताको निवेदन स्वत: दरपीठ हुने कुरा सुन्नासाथ टिपेक्सको खोजी भयो । र, मनोजको नाममा टिपेक्स लगाइयो ।

उनी प्रस्तावित नेकपा एमालेको अध्यक्षका रूपमा त्यहाँ पुगेका थिए । ‘मनोज कुमार भेटवाल’ भन्ने उनको नाम पछाडि ठेगाना थियो, शिवगञ्ज, झापा । त्यसमा पनि टिपेक्स लाग्यो ।

यसबारे जनआस्थाले भेट्वाललाई निर्वाचन आयोग पुगेको प्रसंग निकाल्दै सोध्यो, ‘तपाईंले नाममा किन टिपेक्स लगाउनुभएको ?’
तर, प्रश्न पूरा नहुँदै उनले फोन काटे । फेरि केहीबेरमा कलब्याक गरेर भने, ‘ए, म त तेह्रथुमको हो हजुर । त्यो अर्कै मनोज होला !’

‘तपाईंको नागरिकतामा पनि यही ठेगाना, त्यही जन्ममिति छ नि…’ प्रश्न पूरा नहुँदै फेरि भने, ‘नाम मिल्यो होला, म होइन…!’ यति भनेर फेरि फोन काटे ।

स्मरणीय छ, उनको पुर्ख्यौली घर तेह्रथुमस्थित प्रधानमन्त्री जन्मिएकै गाउँ आठराई (साविकको इवा, सल्ले) हो । बसाइँ सरेर उनको परिवारका सदस्य झापा, शिवगञ्ज पुगेको हो । मनोजले झापाबाटै नागरिकता बनाएका छन् । त्यही नागरिकताका आधारमा उनी व्यवसाय गर्छन् ।

७५ लाख १० हजारको फर्जी चेक प्रकरणमा प्रहरीले खोज्दा फरार रहेका उनले ०७६ फागुन २८ मा प्रहरी परिसर, काठमाडौंमा आत्मसमर्पण गरेका थिए । जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

उनी अवैध हुण्डी मुद्दामा पनि फरार छन् ।

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको कसुरमा मनोज र निशा गुरुङसहित चार जनालाई प्रतिवादी बनाई ०७६ साउन १५ गते विशेष अदालतमा मुद्दा  दायर गरेको थियो ।

निशा रानीबारी हत्याकाण्डमा जेल चलान भएका गुण्डा नाइके मनिराज गुरुङकी पत्नी हुन् ।

निशाले सिंगापुरमा रहेका आफन्त, साथीभाइ र अन्य व्यक्तिहरुसँग जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले निर्माण गरिरहेको काठमाडौं भ्युटावर निर्माणमा लगानी गर्ने भनी हुण्डीमार्फत विदेशी रकम ल्याएकी थिइन् ।

 

टिप्पणीहरू