सेनाको आकाश किन सुक्दै ?

सेनाको आकाश किन सुक्दै ?

अधिकांश देशका सेनामा स्थल, जल र वायु गरी तीनवटा अंग हुन्छन् । तर, नेपाललगायतका भूपरिवेष्ठित मुलुकमा भने स्थल र वायुसेना मात्र छन् । लामो समयदेखि नेपाली सेनाको वायुसेवातर्फ जनशक्ति प्रक्षेपण र समयानुकूल विकासको पहल नहुँदा एकैचोटी रित्तिने अवस्था निम्तिएको छ ।

अधिकांश प्राविधिक र वायुसेवासँग सम्बन्धित जनशक्तिले राजिनामा दिन थालेपछि सेनाको हवाइसेवा, त्यसमा पनि अत्यावश्यक उद्धारको रात्रि (नाइटभिजन) उडान ठप्प हुन लागेको हो । गत वैशाखमा पाइलट अर्जुन केसीले राजीनामा दिएपछि हवाई सेवाको जनशक्तिमा पहिरो जाने क्रम शुरु भएको बताइन्छ ।

यसबीच रविन्द्र बस्नेतलगायतका केही पाइलट र प्राविधिकले भविश्य नदेखेपछि भटाभट सैन्यसेवा छाडेको खबर छ । राजीनामा दिन तयार हुनेमा जर्नेलहरु समेत छन् । युद्धकार्य तयारीपन र कोर्ट अफ इन्क्वायरीको छानबिन तीव्र गतिमा अघि बढेपछि दबाब थेग्न नसकेर जागिर छाडेका सुधीर श्रेष्ठको ठाउँमा कसैलाई पदस्थापन गरिएको छैन । एकतारे जर्नेलको नयाँ दरबन्दी सिर्जना गरी बाहिरबाट आशिषनर्सिङ राणालाई निमित्तको जिम्मेवारी दिइएकोछ । उनले अवकाश पाएपछि सो दरबन्दी स्वतः रिक्त हुनेछ ।

सैन्य हवाईसेवा निर्देशनालय प्रमुखको स्वतः दावेदारका रुपमा जर्नेल धनेन्द्र शाह र कुमार रायमाझी रहे तापनि दुवैको शैक्षिक योग्यता एसएलसी मात्रै हो । शैक्षिक योग्यताको कारण भविश्य अन्धकार हुँदै गएको भन्दै उनीहरुले पनि सैनिक सेवा छाड्ने निधो गरेका हुन् । यिनले अब प्रमोशन नहुने र जर्नेलको रुपमा थप जिम्मेवारी पनि नपाएपछि जागिरबाट पन्छिन खोजेको बताइन्छ । हालको अवस्थामा एसएलसी योग्यता भएकालाई सेनाको तल्लो तहमा समेत प्रवेश पाउन मुश्किल छ ।

उता, प्रमुख सेनानी प्रशान्त कटुवाल र विनायकबहादुर सिंह पनि हवाई सेवा छाड्नेहरुको सूचीमा छन् । विगतदेखि नै विनायकको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको बताइएकाले पनि छाड्न खोजेको हुनुपर्छ । सेनाभित्र नामअनुसारको राम्रा मानिएका प्रमुख सेनानी कुशल गुरुङ्गले समेत सैनिक सेवालाई निरन्तरता नदिने सोचाई बनाएको बुझिन्छ । सर्टिफिकेट काण्ड लाग्नेमा पाइलटहरु सुवर्ण विष्ट र सञ्जिव घिमिरेसमेत छन् ।

०७४ मा बाजुरा जाँदा स्काइ ट्रक क््रयासमा परेकी पाइलट (मेजर)अनिता आलेको करङ्ग भाँच्चियो, फोक्सो फुट्यो, बिएण्डबी हस्पिटलमा महिनौं बसेर पुनर्जीवन पाइन् र राजीनामा दिई बेलायत पलायन भइन् ! सेनाकै हेलिकप्टर पाइलटहरु बिवेक खड्का, सुरेन्द्र पौडेल, आनन्द अधिकारी र शाश्वत दुलालले पनि भविष्य देखेनन् र निजी वायुसेवामा गई मासिक ५–६ लाख कमाउँदै छन् ! अर्का पाइलट मानबहादुर सेनाको जागिर छोडी युएन गए, लेफ्टिनेन्ट कर्णेल गोविन्द गुरुङ्ग पनि नातावादको पीडामा परी बिदेश भास्सिएकै छन् !

नेपाली सेनाले लामो समयदेखि हवाई सेवातर्फ जनशक्ति उत्पादनमा ठूलो धनराशी खर्चेको छ । यिनको आन्तरिक तथा वाह्य तालिम र अध्ययनमा पनि धेरै लगानी परेको छ । सैनिक मुख्यालय र रक्षा मन्त्रालयले खासै चासो नदिएको परिणामस्वरुप एकैचोटी सेनाको हवाई सेवामा रिक्तता आउन लागेको बताइन्छ ।

यसरी सबैले एकैचोटी सेवा छाड्ने अवस्था किन आयो होला ? पूरै नेपाली सेनाको जिम्मा लिएर बसेका रक्षामन्त्रीलाई पनि उक्त अवस्थाबारे जङ्गी अड्डासङ्ग सोधपुछ गर्ने फुर्सद देखिँदैन । मुलुकमा कोरोना संक्रमणको आक्रान्तसँगै बाढी, पहिरोको सिजन शुरु भएको छ । तर यस्तो संवेदनशील अवस्थामा सेनाको हवाई सेवामा देखिन लागेको शून्यताले थप समस्या निम्तिने खतरा छ ।

ओरालो लागेको मृगलाई..

उता, भक्तपुरको खरिपाटीस्थित सैनिक महाविद्यालयमा भ्रष्टाचार गरेको अभियोगमा दण्ड र जेल सजायँ सुनाइएका महासेनानी भूपालमान अधिकारीले सैनिक समरी जनरल अदालतमा पुनरावेदन हालेका छन् । यसअघि महिना दिनदेखि थुनामा रहेका जर्नेल प्रयोगजङ्ग राणाको घर लिलाम भएको छ भने सवारी दुर्घटनामा परेर पढाइमा अब्बल छोरो ह्वीलचेयरको सहायतामा दैनिकी बिताइरहेका छन् । भुपालमानकी पत्नी पनि अर्बुद रोगले थलिनुभएको छ ।

भ्रष्टाचारको अभियोग लागेका प्रयोगजंग राणाका बुबाको निधन भएको छ भने दाजु पनि कलकत्तातिरै बितेका छन् ।

टिप्पणीहरू