चिर्पटले हानेर श्रीमान् ठहरै

सामान्य झगडामा आफ्नै श्रीमतीले दाउराको चिर्पटले हानेपछि श्रीमान्को ज्यान गएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकलाई श्रीमती रेश्मा बिकले दाउराको चिर्पटले हान्दा घरमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका क्रममा मंगलबार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकामा हानेको र श्रीमान्को ज्यान गएको वडाध्यक्ष जीवन केसीले बताए । उनका अनुसार बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले प्राप्त सूचनापश्चात् रेश्मा बिकलाई नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार घरमा रक्सी खाएर श्रीमतीलाई लछारपछार गरेका बिछोडले मार्छु काट्छु भन्दै दाउरा, हँसिया देखाउने गरेका थिए । बेला–बेला श्रीमान्को यस्तो व्यवहारको सहेकी रेश्माले म पनि के कम भन्दै दाउरा उठाएकी थिइन् ।

बिछोडले श्रीमान्लाई कसरी हान्न सक्छेस्, हान् त हान् भन्दै उक्साइरहेका बेला उनको टाउकोमा चिर्पट बजारिएको थियो । त्यतिबेलै ऐया भन्दै श्रीमान् ढलेपछि खाइस् भन्दै श्रीमती घरबाट हिँडेकी थिइन् । बिहानपख घर आउँदा भने उनका श्रीमान् ज्युँदो देखिनन् । बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि राति नै ज्यान गएको हुन सक्ने जनाइएको छ ।

टिप्पणीहरू