सम्बन्ध नसुधारे दुवैलाई समस्या

सम्बन्ध नसुधारे दुवैलाई समस्या

मित्र फेर्न सकिन्छ, छिमेकी फेर्न सकिँदैन । अझ यो सवाल दुई छिमेकी मुलुक बीचको हो भने त झनै मुश्किल छ । प्रायः सबै देशको आफ्नो छिमेकी मुलुकसँग कुनै न कुनै समस्या रहेकै हुन्छ । लामो समयदेखिका मित्र नेपाल–भारतबीच पनि सिमाना समस्या झन बल्झिएको छ ।
नेपाल र भारतका नागरिकलाई एकअर्को देश पस्न पासपोर्ट, प्रवेशाज्ञाको जरुरत पर्दैन । नागरिकहरुले अर्को देशमा सजिलै जागिर पाइराखेका छन् । दुई देशका सिमानाको स्पष्ट रेखांकन छैन, प्रायः नदीलाई सिमाना मान्ने गरिएको छ तर, नदीको बहाव र कटान समयान्तरमा परिवर्तन भइरहेको हुन्छ ।

नेपाल–भारतबीच वैध–अवैध व्यापार हुने गरेको छ । सीमा वरिपरिका जनतासमेत उस्तै देखिन्छन् । जाति, धर्म, नश्ल, भाषा एउटै छ । उत्तर भारतका केही समुदायलाई त ‘नेपाली’ नै भनेर बोलाइन्छ । दुवै मुलुकबीच रोटी–बेटी, सीता–रामको र सिद्धार्थ गौतम बुद्धको सम्बन्ध छ ।
भारतीय सेनामा गोर्खालीहरुको मात्र २ रेजिमेन्ट छ । करिब ४० हजार नेपाली भारतको विभिन्न पल्टनमा कार्यरत छन् । त्यत्तिकै संख्यामा भारतीय प्रहरी र अर्धसैनिक समूहमा समेत जोडिएका छन् । ८० हजार नेपालीले भारतीय सेनाबाट निवृत्त भई पेन्सन खाइरहेका छन् । भारतीय सेनातर्फ ११ हजार नेपाली सेनाका विधवाहरु सेवामा कार्यरत छन्, आसाम राइफलमा मात्रै सेवानिवृत्त १७ हजार नेपाली छन् । नेपाली सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले मानार्थ ‘जनरल’ पदबाट विभूषित गरेका छन् भने पूर्व भारतीय सेनाध्यक्ष तथा हालका मन्त्री भिके सिंहले पनि नेपाली सेनाको सम्मान पाएका छन् ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । दुई देशको व्यापार २०१८/०१९ मा ८ अर्ब २७ करोड अमेरिकी डलर पुगेको थियो । यो वर्ष नेपालले भारततर्फ ५० करोड ८० लाख डलर निर्यात र भारतबाट ७ अर्ब ७६ करोड डलरको सामान आयात गरेको देखिन्छ । विश्व बैंकले दिएको डाटाअनुसार ३० लाख नेपाली भारतको फलफूल उत्पादनमा संलग्न छन् अर्थात् भारतीय फल अर्थव्यवस्थाको ठूलो हिस्सा नेपाली कामदारमा निर्भर छ । कोरोना प्रकोपको महामारी फैलिएपछि धेरै नेपाली कामदार स्वदेश फर्कंदा उत्तरप्रदेश, बिहार, हिमाञ्चल प्रदेश र उत्तराखण्डले अरबौंको घाटा व्यहोर्नु परेको छ । स्याउ, लिची आदि फलफूलका भारतीय व्यापारीहरु अहिले पनि नेपाली कामदार फर्किने आशामा छन् । तर यही बेला नेपाल र भारतबीच विवाद दिनानुदिन बढ्दैछ । यसबाट सिमानामा बस्ने नागरिकले ठूलो दुःख पाएका छन् । नेपालमा भारतविरोधी भावना उत्पन्न भएपछि कतिपय सीमा नाकामा नेपालीहरुले अवरोध खडा गरिदिएका छन्, जसबाट सामान ओसारपसार हुन पाएन । सामानको अभाव दुवैतर्फ भयो । दुवै देशका स्थानीय जनता मर्कामा परे ।

नेपाल र भारतको सम्बन्ध गाढा छ, विशाल छ, विशिष्ट खालको छ तर समस्या पनि उत्तिकै जटिल छ । समस्या र जटिलता दुवै मुलुकका ‘नेतृत्ववर्ग’ को कमजोरी हो । कालापानीको विवाद अहिले जन्मेको होइन । ७ दशकदेखिको हो, जुन यो वर्ष उत्कर्षमा पुग्यो । दुई देशका सरकार चलाउनेहरु समस्यालाई पूर्णतः समाधान गर्नेतर्फ कहिल्यै अग्रसर भएनन् । समस्या उत्पन्न भएपछि र विवाद सतहमा आएपछि जहिले पनि टालटुल मात्र गर्दै आए । यो कुनै बहसको विषय नै हैन कि हरेक देशको आ–आफ्नो स्वार्थ हुन्छ । नेपालजस्तो भूपरिवेष्ठित सानो मुलुकले भूमि जोडेर (ल्याण्ड लिंक) भौतिक पूर्वाधारको विकास गर्न चाहनु र अरु मुलुकसँग प्रतिस्पर्धामा उत्रेर अधिकतम लाभ लिन खोज्नु स्वाभाविक हो ।

नेपाल र भारतबीचको सम्बन्धमा पछिल्लो समय उतारचढाव आएको प्रष्ट छ । सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी १७ वर्षको अन्तरालमा नेपाल आउने पहिलो प्रधानमन्त्री हुन् तर यो भ्रमणबाट प्राप्त खुशी दुवै देशका सरकार र जनताले लामो समय मनाउन पाएनन्, बीचमै भारतले नेपालमाथि नाकाबन्दी लगाइदियो । इतिहास, भूगोल, अर्थतन्त्र सबै कोणबाट नेपाल र भारत साझेदार हुन् । दुवै देशले आ–आफ्नो स्वतन्त्रता, सार्वभौमिकता, पहिचान, सुरक्षा, विकासको अनुभव आदानप्रदान गर्दै आइरहेका छन् । जनस्तरको सम्बन्धले दुई देशको आपसी सम्बन्धलाई मजबुत पार्दै आएको छ । सीमा विवाद यी सबैको सामु सानो लाग्छ ।

– सिके नायक (नयाँदिल्ली)

(लेखक भारतीय पत्रकार संघका महासचिव र त्यहाँको प्रेस काउन्सिलका सदस्य हुन्)

टिप्पणीहरू