पति चीनसँग लड्न भारत गए, पत्नी यता समातिइन् !

पति चीनसँग लड्न भारत गए, पत्नी यता समातिइन् !

तीनै जना लकडाउनमा बेस्मारी लुँडो खेल्थे । उन्मत्त हाँसोले छेउछाउका सबै चकित हुन्थे । लाग्थ्यो, यो हाँसोमा अनिष्टको संकेत मिसिएको छ । दुई जना भाडामा पसल चलाउँथे भने एकजना मार्केटिङ । मार्केटिङ गर्ने ब्यक्ति बजारका हरेक कुरासँग नजिक थिइन् । साथीहरू पनि अनेक थिए । धेरै साथीका कारण पेशा फस्टाउँदो त थियो तर आर्थिक रूपले चुर्लुम्म भइसकेको जानकारी भए पनि हाँसेर हिँड्नुको विकल्प थिएन ।

बनेपा नगरपालिका–९ घर भएकी ३२ वर्षिया जोसना श्रेष्ठको घरमा केही तोला सुन थियो । घर र पसल फरक–फरक स्थानमा छ । फलफूूूल पसल राखेर बसेकी जोसनाका श्रीमान् प्रहरीका जागिरे हुन् । इन्स्पेक्टर श्रीमान् आक्कल झुक्कल मात्रै घर आउने गर्थे । ससुरा सहितका परिवारका सदस्यहरूको सहयोगमा पसल चलाउँदै आएकी थिइन् । आफूसँग भएको सुन र केही पैसा छिमेकीलाई सहयोग उपलब्ध गराउँदै आएकी थिइन् । उजुरीमा लेखिएअनुसार घरमा १८ तोला सुन थियो । शुरुमा २१ तोला भनिए पनि उजुरी लेख्दा १८ तोला र बरामद हुँदा १० तोला फेला परेको छ ।

लकडाउन अवधिभर करुणा घिमिरे र सिर्जना आचार्य जोसनासँगै रहे । तिनको पसल एउटै लाइनमा छ । एकै स्थानमा पसल भएकाले भेटभाट र सम्बन्ध राम्रो हुनु नराम्रो थिएन । जोसनाले करुणालाई पनि केही पैसा सापट दिएकी थिइन् । उनीहरूबीच मिटर ब्याजमा समेत कारोवार हुने गथ्र्याे । करुणाका श्रीमान् भारतीय सेनामा छन् । भारतीय नागरिक भए पनि बनेपामा बसोबास गर्दै आएका थिए । बनेपामा बसिरहेका बखत श्रीमान्लाई भारत–चीनबीच भएको झगडाका कारण तत्काल देश फिर्ता बोलाइएकाले गए । त्यही बखत करुणालाई अर्काे बज्रपात आइलाग्यो । सुन चोरी अभियोगमा पक्राउ परेकी करुणाका ११ वर्षीय छोरा छन् । आमा जेलमा, बाबु भारतमा, उनी तनावमा ।

सिर्जना डाबरका सामान बिक्री गर्छिन् । बजारमा दिएको सामानको केही लाख ऋणमा छ । उनले धेरै व्यक्तिसँग सामान र पैसा लिने अनि तिर्न नसक्ने । सुन चोरी घटनाको प्रमुख नाइके उनै सिर्जना भएको हुनसक्ने प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त पहलमा सुन चोरी अभियोगमा बनेपा नगरपालिका–८ बस्ने ३६ वर्षिय राजु मानन्धर, भारत घर भई बनेपा ८ मा डेरा गरी बस्ने ३२ वर्षीय करुणा घिमिरे र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–५ घर भई सोही स्थानमा डेरा गरी बस्ने १९ वर्षिया सिर्जना आचार्यलाई १० तोला सुनसहित पक्राउ गरिएको काभ्रेका एसपी रवि पौडेलले बताउनुभयो ।

असार ९ गते बिहान ७ बजे जोसनाको घरको दोश्रो तल्लाको कोठाको बक्स पलङको घर्राभित्र झोलामा रखेको सुन नदेखेपछि चोरी पत्ता लागेको हो । घरभित्र रहेको सुन फेला नपरेपछि पक्राउ गरी सुन बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । घटना विवरण अनुसार पक्राउ परेकी सिर्जना आचार्यले करुणा घिमिरेलाई लकडाउनअघि नै ५ लाख रूपैयाँ सापटी दिएकी थिइन् । सिर्जनाले जुसको मार्केटिङ गर्दै आएकी थिइन् भने करुणाको बनेपामा फेन्सी पसल छ । लकडाउन अवधिमा सापटी रकम फिर्ता गर्न नसकेपछि डेढ महिनाअघि सिर्जनाले जोसनाको सुन चोरेर राजु मानन्धरलाई दिइन् । बाँकी रहेको सुन बनेपाका विभिन्न पसललाई दिइन् ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू