मकै गोड्न आएकी बालिका बलात्कृत

मकै गोड्न आएकी बालिका बलात्कृत

रोल्पाबाट मकै गोड्न रुकुम पूर्व आएकी १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोप लागेका दुई जना युवालाई प्रहरीले समातेको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षिय टीकाराम श्रीष र सोही ठाउँका ३० वर्षे कमल रेग्मी शुक्रबार गिरफ्तार भएका हुन् ।

असार ७ गते श्रीषको घरमा मकै गोड्न आएकी ती बालिका अबेर भएपछि उनकै घरमा बसेकी थिइन् । सोही राति श्रीषले डरधम्की देखाएर बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी, घरमा असार ९ गते दिनभर काम गरेर बसेकी उनै बालिकालाई रेग्मीले पनि डरत्रास देखाएर राति बलात्कार गरेका थिए ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा असार १२ गते दिएको निवेदनपश्चात् सोही दिन आरोपी दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार १३ गते दुवैलाई म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । परिवारको आर्थिक अवस्था नाजुक भएपछि बालिकाले काम खोज्दै हिँडेको र मकै गोड्ने काम पाएको बताइएको छ ।

टिप्पणीहरू