संकटकाल लगाउने नै हो त प्रधानमन्त्रीको सुर ?

संकटकाल लगाउने नै हो त प्रधानमन्त्रीको सुर ?

‘यहाँ बैठकमा जे–जे कुरा हुन्छ, त्यही–त्यही कुरा दिल्लीका मिडियाले दिन्छन् । मैले यत्ति भनेको हुँ,अरु त्यस्तो केही होइन ।’

बैठकमा शीर्षस्थ नेताहरुले कस्नुसम्म कसेपछि प्रधानमन्त्री केपी शर्मा ओली आजको स्थायी कमिटी बैठकमा यिनै भाषासहित प्रस्तुत हुनुभयो ।
भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भनी आइतबारको बैठकमा बोलेको विषयामा केन्द्रित हुँदै प्रचण्डले एकछिन प्रधानमन्त्रीको झाँको झार्नुभयो ।
‘भारतीय राजदूतले यदि त्यसरी खेलेको हो भने उनलाई देश निकाला गर्नुपर्छ । यदि होइन र तथ्य छैन भने त्यसको जवाफ चाहिन्छ । एजेण्डाका रुपमा त्यो कुरा राखियोस्’, प्रचण्डले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजदूतावासको सहसचिव स्तरको मान्छेलाई बोलाएर किन सोध्न सक्नुभएन ?’
प्रचण्डको कुरा काट्दै प्रधानमन्त्रीले बीचैमा भन्नुभयो, ‘हैन,यहाँका पार्टीका बैठकमा हुने र दिल्लीका मिडियामा आउने कुरा किन मिले ? मेरो अरु कुरा छैन । यत्ति हो ।’
अनि, प्रचण्डले जवाफ दिनुभयो, ‘तथ्यविहीन तरिकाले आरोप लगाउने ? कूटनीतिक कुरामा तपाईंको जुन मर्यादा छ,त्यो खत्तम भयो । एउटा सार्वभौम देशको प्रधानमन्त्रीले यस्तो बोल्न हुन्छ ?’

उहाँले भन्नुभयो, ‘तपाईंले राष्ट्रलाई धोका दिनुभयो । तपाईं व्यक्तिवादी हुनुभयो ।’ अनि, प्रधानमन्त्रीले तीन कुरा राख्नुभयो ।

पहिलो हो, ‘भारतको विरोध गर्दा साथीहरुलाई किन चिन्ता ?’

दोस्रो हो, ‘नन् इस्युलाई किन इस्यु बनाइयो ?’
र, तेस्रो थियो, ‘कोही साथीहरु (प्रचण्ड) ३२ वर्षदेखि अध्यक्ष हुनुुहन्छ । अझै अध्यक्ष चाहिने ?’
तेस्रो बुँदामा यसो भनेर उहाँले प्रचण्डलाई मात्र हैन,झलनाथ,माधवदेखि नारायणकाजीसम्मलाई भन्न भ्याउनुभयो ।

निर्वाचन आयोगमा आजै पार्टी दर्ताका लागि गरिएको निवेदनबारे उहाँले लर्बरिएर बोल्नुभयो । ‘त्यसमा म धेरै बोल्दिनँ’ भन्दै कुरा टुंग्याउनुभयो ।

यसपछि बोल्नुभयो,झलनाथ । ‘तपाईंले हामीलाई भारतीय एजेण्ट भन्ने ? तत्काल राजीनामा दिनुस् । राजीनामाको विकल्प छैन । तपाईंले गुट पनि राम्रोसँग चलाउन सक्नुभएन’, आक्रामक शैलीमा पेश हुनुभएका झलनाथले भन्नुभयो । उहाँले भन्नुभयो, ‘नक्सा छाप्ने कुरामा नमान्ने तपाईं हैन ? यहाँ ठूला कुरा गर्ने ? बैठकमा भएका कुरामा अरुलाई ढाँट्नुहोला । हामीलाई ढाँट्न सक्नुहुन्छ ?

माधव नेपालले भन्नुभयो, ‘अहंकार, दम्भ, आत्मकेन्द्रित हुँदा पार्टी ध्वस्त भयो । जनतामा पार्टीको छवि ध्वस्त छ । काम केही गर्नुभएको छैन । खालि आफ्नै गुणगान गाउनुभयो । आत्मकेन्द्रित स्वभाव,व्यवहार घातक हुन्छ । पार्टी फुटाउन दर्ता गर्न खोज्ने ? तपाईंलाई चेतना भया,हामीले धेरै मेहनत गरेर बनाएको पार्टी हो यो । त्यसैले तपाईंले राजीनामा गर्नुस् ।’

उहाँले विभिन्न नियुक्तिमा आफ्ना भक्त र अरुका विरोधी रोज्ने गरेको  कुरा पनि उठाउनुभयो । भन्नुभयो, ‘प्रचण्डजी र मलाई जसले गाली गर्छ उसलाई छानीछानी नियुक्ति दिने ? राति १२ बजेसम्म बोलाएर भोज खुवाउने ?’

नारायणकाजीले पनि उत्तिकै कडा प्रस्तुति दिनुभयो । वामदेवले विहान संकटकाल लगाउन राष्ट्रपतिसँग परामर्श भएकोदेखि निर्वाचन आयोगमा एमालेका नाममा दल दर्ता गर्न पठाएकोसम्मका कुरामा आफू विश्वस्त भएको सुनाउनुभयो ।

अघिसम्म पनि मलाई प्रधानमन्त्री बनाउँछु भन्ने तुरुप फ्याँक्न भ्यानुभयो’, वामदेवले भन्नुभयो, ‘अहिले यस्तो काम गर्ने बेला होइन । अहिले तपाईंले राजीनामा दिने समय हो । सक्नुहुन्छ राजीनामा दिनुस्,सक्नुहुन्न भने आउने परिस्थितिको सामना गर्नुस् ।

टिप्पणीहरू