नेकपामा आज शक्ति परीक्षण

नेकपामा आज शक्ति परीक्षण

लामो समयदेखि नबसिरहेको नेकपा स्थायी कमिटी बैठक कहिले रोपाइँ, कहिले मदन जयन्तीका नाममा रोकिँदै अघि बढेको छ ।

आधीभन्दा बढी नेताहरुले मन्तव्य प्रकट गरिसकेको अवस्थामा प्रधानमन्त्री तथा अध्यक्ष स्वयंले छिमेकी देशसँग जोडेर सहकर्मीहरु नै आफूलाई सत्ताच्युत गर्ने षड्यन्त्रमा संलग्न रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि आजको बैठकमा गरमागरम हुने अपेक्षा गरिएको छ । ‘नेताहरु षड्यन्त्रकारीको पहिचान खोल्न माग गर्ने मुडमा छन्,’ एक जना नेताले जनआस्थालाई बताए ।

चालु बैठकले पार्टी र सरकार सञ्चालन दुवै क्षेत्रमा असफल ठह¥याउँदै प्रधानमन्त्रीको राजीनामा माग्ने सम्भावना छ । ‘एक व्यक्ति एक जिम्मेवारीको प्रावधानअन्तर्गत या त उहाँले सरकार छाड्नुपर्ने हुन्छ, या पार्टी नेतृत्व, दुवै पदमा निरन्तरता अब कुनै पनि किन्तु परन्तुले सम्भव छैन,’ ती नेताले बटमलाइन सुनाए ।

बैठकमा सबैका कुरा सुनेर दुई अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । तर बीचैमा विदेशी षड्यन्त्रको मतियार बनेको आरोप शीर्ष तहबाटै लागेपछि भने कार्यतालिका नै गडबड हुने सम्भावना पनि उत्तिकै छ । वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले पनि बोल्न बाँकी नै छ ।

माओवादी कित्ताको भएर पनि सचिवालयमा हालसम्म प्रधानमन्त्रीको रक्षाकवच बन्दै आउनुभएका गृहमन्त्री वादल आजचाहिँ एमसीसीलगायत यी सबै प्रकरणमा वर्षात बनेर बर्सिने हो कि बीचैमा बिलाउने हो ठेगान छैन । किनभने प्रश्न उहाँको मन्त्रालयसँग पनि गाँसिएको छ, जसले देशको आन्तरिक सुरक्षा र विदेशी गतिविधिमाथि समेत निगरानी राख्ने गर्दछ । र, आरोप आफ्नै नेताहरुमाथि समेत लागिसकेको अवस्था छ । त्यो पनि गुप्तचर विभागलाई सिधै आफूमातहत तानिसक्नुभएका प्रधानमन्त्रीको तहबाट ।

टिप्पणीहरू