कान्तिपुरमा कोरोना असर

कान्तिपुरमा कोरोना असर

काठमाडौं पोष्टलाई पनि ‘डाउन साइज’ गर्ने योजना छ । खर्च रकम जानकारी गराउनेहरुले संस्थाको आम्दानीबारे भने केही बताएका छैनन् ।

निजी क्षेत्रबाट मुलुककै पहिलो नम्बरको मिडिया हाउस कान्तिपुर पब्लिकेशनले खर्च कटौती भन्दै केही सहायक प्रकाशन बन्दको घोषणा गरेको छ । यससँगै त्यहाँ कार्यरत पत्रकार, कर्मचारी र प्राविधिकलाई पनि बिदा दिइएको छ । हिजो सम्पादकहरूसँगको छलफलमा अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले ‘आजसम्मको सेवाका लागि सबैलाई धन्यवाद’ भनेपछि रोजीरोटीको बाटो बन्द भएको हो ।

लकडाउनलगत्तै केहि समय कान्तिपुर दैनिक र काठमाडौं पोष्टको प्रकाशनसमेत बन्द गरेको पब्लिकेशनले हिजोदेखि ‘नेपाल’ म्यागेजिन, कान्तिपुर ‘साप्ताहिक’ र ‘नारी’ मासिकको प्रिण्ट भर्सनसँगै अनलाइन पनि बन्द गरेको छ । तीनवटै सहायक प्रकाशनको टिमलाई नै बिदा गर्ने निर्णय भएपछि ५० जनाभन्दा बढी पत्रकार, कर्मचारी र प्राविधिकले रोजगारी गुमाएका हुन् ।

स्रोतका अनुसार पत्रकार, कर्मचारी र प्राविधिक गरी साप्ताहिक र नारीबाट २८ जना र नेपाल साप्ताहिकबाट २५ जनाले अवकाश पाएका छन् । कनिकुथी जेठ महिनासम्मको न्यूनतम तलब दिए पनि बिदाको हिसाब गर्न बाँकी रहेको अवकाश दिइएका कर्मचारीहरूले बताएका छन् । आफूहरूलाई सेवाबाट अवकाश दिने व्यवस्थापनको एकपक्षीय निर्णयसँगै गोल्डेन ह्याण्डसेकको कुरो जोडिएको पत्रकार तथा कर्मचारीहरूले बताएका छन् ।

मासिक १० करोड रूपैयाँभन्दा बढी खर्चको जानकारी गराएको व्यवस्थापनले चरणबद्ध रूपमा काठमाडौं पोष्टलाई पनि ‘डाउन साइज’ गर्ने योजना अघि सारेको छ । त्यसपछि अन्य विभागका कर्मचारी र पत्रकारहरू पनि कटौतीमा पर्ने निश्चित् छ । हिजोदेखि हटाइएका कर्मचारीहरू पहिलो चरणका हुन् । खर्च रकम जानकारी गराउनेहरुले संस्थाको आम्दानीबारे भने केही बताएका छैनन् ।

कान्तिपुरको निर्णयपछि नेपाल पाक्षिकबाट नयाँ पुस्ताका जल्दाबल्दा सञ्चारकर्मीहरू सम्पादक वसन्त बस्नेत, माधव बस्नेत, मनबहादुर बस्नेत, योगेश ढकाल, जनक नेपाल, सन्तोष आचार्य एकैचोटी बाहिरिएका छन् । नारी र साप्ताहिकका राजाराम गौतम पनि ब्यवस्थापनको निर्णयको शिकार भएका छन् ! फोटो पत्रकारितामा निकै राम्रो छबि बनाएका रवि मानन्धरले पनि हिजोदेखि कान्तिपुर पब्लिकेशन्सको क्यामराको लेन्समा बिर्को लगाएका छन् ।

टिप्पणीहरू