सिपाहीमाथि छिनछिनमा सास्ती

जन आस्था
१३ असार २०७७, शनिबार ०९:४५
[post-views]

नेपाली सेनाका वर्तमान चिफसावले सेनाजस्तो गरिमामय संस्थाको नेतृत्व सम्हालेपछि धेरै आर्थिक अनुशासन र जवानमुखी सुधारका कार्य गरेको सुनियो र देशका लागि आवश्यक पर्दा ज्यान आहुती दिन अग्रमोर्चामा खटिने तत्पर सिपाहीको रगत–पसिना घट्क्याउने रक्त पिपासु अधिकृतहरू पनि तह लगाएको सुनियो र पत्रिकामा पढ्न पनि पाइयो तर हामी नं. २ जगदल गणका सकल दर्जाको हकमा भने त्यो आदर्श त्यो चरित्र भोग्न, देख्न, पढ्न र अनुभव गर्न पाइएन किन होला सेनापतिज्यू ? यो प्रश्नसँगै हामी अलिकति भूमिका भन्न चाहन्छौं, कृपया पढिदिनुहोला ।

हामी पूर्व धनकुटा ब्यारेक र सुदूरपश्चिम दिपायल (डोटी) ब्यारेकका फौजलाई तत्कालीन पृतनापतिहरूको असहमतिका बाबजुद जबर्जस्ती मर्ज गरी श्री नं.२ जगदल गण बनाएर एउटा कम्पनीले ओगटेको ठाउँ मेलम्चीमा ल्याएर राखियो जहाँ बस्ने सुत्नेको संरचना अपुग भएर भुइँमा महिनाैंसम्म सुत्नुपरेको थियो । असार/साउनको बर्षे झरीमा, मेलम्चीजस्तो ओसिलो ठाउँमा बिनाखाट सेनाले दिएको एकसरो मन्डीका भरमा सुतेर ओसिएको ज्यान महिनौंपछि जाडोको समय माघ–फागुनमा बल्ल–बल्ल खाट पाएपछि ज्यान सुक्न नपाउँदै किन फेरि स्थापना भएको ३ वर्षमै वर्षाकै समय पारेर याने कि असारमै हामीलाई स्थानान्तरण गरिँदै छ ? भुइँमा सुतेको करिब ८ महिनापछि हाम्रा नाममा किनिएका खाट पनि प्लाईवुड बेगरका फलामका डण्डी मात्र अझै पल्टिरहेका छन् । कोही हाकिम साबहरूले मेलम्ची आएर हेर्दा फरक पर्दैन ।

आखिर हामीलाई बिनाप्लाई फलामका डण्डीमा सुत भनेर डन्डी किन्ने पैसा मात्र दिएको हो र, कि तत्कालीन गणपति र लेखाको नियतले हामी एउटा खाटमा २ जना वा २ वटा खाट जोडेर ३ जना सुत्न बाध्य भयौं ? सत्यतथ्य थाहा पाउन पाए हुन्थ्यो नि सर ! जस्ताबाट चुहेको पानी छल्दै छेउ र कुना गरी सुतेका हामी सिपाहीलाई त्यो बेला कार्यरत अधिकृतहरूले भन्ने गर्थे, ‘तिमीहरूलाई त घर बनाउने पैसा आ’को छ आधुनिक घरमा सुत्न पाउने भयौ, हामी अधिकृत पदिकलाई मात्र केही छैन’ तर त्यही एउटा घर र ठूला हतियार राख्ने कोत घर बनाउनलाई पनि हड्डी घोटियो । टण्टलापुर घाममा खोलाबाट ढुंगा बोकेर वाल लगाउने काम गरियो, बल्ल तल्ल हतियार सुरक्षा गर्ने र आफू ओत लाग्ने ठाउँ आफंै बनाइयो । दुःख गरियो, उक्त दुःखको फल खान पनि नपाई फेरि किन तुरुन्तै मुभ गरिँदै छ हामीलाई ? स्थानीय ठेकेदारसँग र नगरपालिकासँग चिप्स, रोडा, गिट्टी र सिमेण्ट सहयोग मागेर बास्केटबल कोर्ट र मूलगेट अगाडिको मोडदेखि अघिल्लो गेटसम्म करिब २५ मिटरदेखि २७ मिटर बाटो पिच गर्दा ठेला उठेका हातले बास्केटबल खेल्न नपाई हामी मुभ हुने सर ? अनि पिच गर्दा ढुंगा र रोडाले घोचेका खुट्टाले त्यो पिचमा हिँड्न नपाई हामी मुभ हुनुपर्ने त्यस्तो के कारण प¥यो सर ? कि त्यसमा पनि बजेट आ’को थियो र चन्दा संकलन गरी हाम्रै श्रमले बिनाबजेट बाटो, कोर्ट, अब्स्ट्याकल अनि जेसियो मेश बनेको भनेर अनियमितता खुल्ला भन्ने डरले हामीलाई लखेटेको हो सर ? यदि बजेट आको हो भने हामीले कहिल्यै श्रमिक ज्याला पाएका पनि छैनौँ नि त !

सामान्यतया सेनाको हरेक पल्टन घटीमा ४ देखि ८ वर्षपछि मात्र स्थानान्तर हुँदै आएको देखेका थियौ तर हामीलाईचाहिँ किन ३ वर्षमै मुभ गराइँदै छ ? हाम्रा लागि यस गणका अधिकृतले किन पहल गर्दैनन् ? कम्तीमा यहाँ भएका अधिकृतहरूले अहिलेको कोभिड १९ को महामारी, प्रतिकूल मौसम र अन्य पल्टनको मुभ हल्ट गरी हामीलाई मात्र लखेट्दा सकल दर्जाको मोरालमा परेको असरजस्ता सत्यतथ्य माथिल्लो निकायमा जाहेर गरिदिए त माथिल्लो निकायले कुरा बुझ्थ्यो होला अनि केही समय हामी रोकिन्थ्यौँ होला । तर, सम्भव देखिएन सायद यो अधिकृतहरूले हाम्रोजस्तो दुःख भोगेनन् र आफूले भोग्न पनि पर्दैन भनेर होला मौसम प्रतिकूलता बुझेर पनि बुझ पचाएका । अथवा पोस्टिङ भइहाल्छ अब नयाँ ठाउँमा आफूले दुःख गर्नुपर्ने होइन भनेर पनि होला अधिकृतहरूले हाम्रा लागि नबोलेका ।

यदि, यस्तो हो भने हामी बिन्ती गर्छौं सर पहिला हामीले आफ्नै पसिना बगाएर, ढुंगा बोकेर, इँटाको ठाउँमा ब्लक बनाई गारो लगाएर ठड्याएको पदिक लाइनदेखि गन कोतघर पछाडिको रिटेनिङ वालसहित बास्केटबल कोर्ट र पिच सडकको पहिला छनबिन होस् अनि हामीलाई मुभ गराइयोस् । हामी भकुण्डेबेंसी मात्र होइन, कालापानीमा गएर तैनाथ हुन र यत्तिकै दुःख गर्न तयार छौँ सर । सुन्दै छौँ, ‘हामीले बनाएको सिमेन्ट ढलानवाला गन कोतघर भत्काएर भकुण्डेबेसी लैजानु भन्ने आदेश छ रे, आखिर किन ? कि हामी अप्राविधिक, अदक्ष तथा साधारण सीपले बनाएका संरचना मापदण्डअनुसार नभएर हो ? यदि त्यसो हो भने पहिला त्यो घरको छानबिन हुनुप¥यो, मापदण्ड लेखाजोखा हुनुप¥यो अनि हामीले सुनेअनुसार निरीक्षण टिमले अघिल्लो गणपतिलाई सोधिएको सोह्र (१६) बुँदे स्पष्टीकरणले के सुधार भयो ? त्यसको पनि लेखाजोखा हुनुप¥यो सर ।

गारो लगाउने मिस्त्री र सिकर्मीले मात्र प्रायः हरेक महिना टिएडिए खाएको रेकर्डले के देखाउँछ ? यस गणको ०७५ सालभरि खुवाइएको टिएडिएको रेकर्ड हेरे थाहा हुन्छ यदि छानबिन भएको खण्डमा । गारो लगाउँदै र झ्याल ढोका बनाउँदै फुर्सद नपाएका मिस्त्री, डकर्मी, सिकर्मीलाई कहाँको भ्रमण गराइयो र टिएडिए खुवाइयो ? अनि वास्तविक रूपमा व्यक्तिगत खर्च गरी पल्टनको काममा पोष्ट (काठमाडौं–मेलम्ची, सिन्धु, मेलम्ची, मेलम्ची (ग्याल्थुम–मेलम्ची र मेलम्ची–चम्बाथान–मेलम्ची) बदली गर्न आतेजाते गर्ने जवानलाई किन टिएडिए अपुग छ भनेर खुवाइएन ? कृपया यो सम्पूर्ण कुराको छानबिन होस् र हाम्रा सेनापतिको निष्पक्षताको आभाष हामीलाई पनि होस् अन्यथा खबर पत्रिकाले लेखेका प्रयोग संसेर ज.ब.रा. जरसाब र केही औंलामा गनिने निरीह अधिकृतहरूलाई मात्र कारबाही किन गरिन्छ ? नं. २ जगदलका ०७५ सालका हाकिमलाई चाहिँ किन उन्मुक्ति दिइँदै छ उस्तै केसमा सर ?

कम्तीमा एकपटक हामीलाई जम्मा गरी सोधियोस्, सत्य कुरा हामी भन्छाैं हामीलाई कसरी मजदुर बनाइयो, हामी भन्छाैं, हामी मिस्त्री काममा खटिएका १५ जनाजतिलाई मात्र काउन्सिलिङ गरी ट्र्याकसुट हाल्दिन्छु काम गर राम्ररी भनेर फकाएको अनि हामीमध्ये कसैले १५–२० जनालाई मात्र ट्र्याकसुट हाल्दा झन् शंका हुन्छ, फस्ने काम गर्दिनँ भन्दा सेनानी तीर्थराज गौतमले तुरुन्त अम्बाथान पोष्ट लखेटेको कुरा, हामी भन्छाैं मुनाफारहित क्यान्टिनमा सेनानी तीर्थराजले व्यक्तिगत रूपमा कालो कपडाको बेल्ट बेच्न लगाई उहाँले नै बिहानीको परेडमा बेल्ट लाको नालाको चेक गरी अनिवार्य कालो बेल्ट किन्न लगाएर लगाउन लाको र नाफा खाको कुरा, हामी भन्छाैं नि सर, सेनाबाट निकासा भएको कोरियन बेल्ट हुँदाहुँदै कालो बेल्ट किन्नुपरेको छ । जुन सेनाको निकासा नै होइन र निरीक्षण टोली सुन्न आइदिनुहोला । हामी भन्छाँै सेनाको आदेशविपरीत गणमा चमेना क्यान्टिन राखेर हु.इन्द्र तामाङमार्फत नाफा कमाएको कुरा । निर्माण कुरामा लेखाले बनाएका किर्ते कागजपत्र मात्र सबथोक होइनन् सर, भुक्तभोगी साक्षी हामी छाँै । हामीलाई लाइन लाएर सोधियोस् वास्तविकता भन्न तयार छौँ ।

अन्त्यमा, हामीलाई मुभ गराइयोस् केही छैन तर उचित समयको ख्याल गरियोस् । हामी मुभ हुनुपहिले एउटा छानबिन टोली आई घरहरूको नापजाँच गरियोस् अनि मात्र भत्काउनुपरे भत्काउँला विशेषगरी एडी हतियारको कोतघरको नापजाँच होस्, अझै चोरी गरेर ल्याएको सामग्रीको यहाँ उल्लेख नगरौँ, किनकि पल्टनको बेइज्जत र सार्वजनिक अविश्वास हुनेछ । अन्तिम अनुरोध छ सर, यदि कसैको रिसइबी छ, कसैप्रति र त्यसकै कारण बिनायोजना (सेनाको वार्षिक मुभ योजनाबिनै) अकस्मात् मुभ निकालेको हो भने जोसँग रिस छ, उसैसँग बदला लिइयोस् हामी तल्लोस्तरका अधिकारबिनाका जवानले हाजुरहरूको के बिगारेका थियाँै र सर हामीलाई यो झरी अनि महामारीमा दुःख दिनुहुन्छ ? मुभको दौरान ३ वटा पब्लिक क्वारेन्टाइन डिउटीमा भएका ३३ जनालाई एउटै समयमा अरूसँग मिसाई एउटै गाडीमा कसरी सामाजिक दूरी कायम गर्दै मुभ गराउनुहुन्छ सर ? छानबिन गरी हाम्रो संरक्षण गरिदिन अनुरोध गर्दछाैं ।

– नं.२ जगदल गणका सकल दर्जा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*