नाङ्गो भिडियोको जुम, नगरौं चुमचुम « Jana Aastha News Online
Logo
१७ मंसिर २०७८, शुक्रबार
|  Fri Dec 3 2021

नाङ्गो भिडियोको जुम, नगरौं चुमचुम

प्रकाशित मिति :  ११ असार २०७७, बिहीबार १७:१५


विभिन्न बैंकका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका एकजना हाकिम सहभागी भर्चुअल छलफलमा पनि त्यस्तै भएको थियो । ह्याकरले अश्लिल भिडियो सार्वजनिक गरेपछि छलफलमा सहभागी महिला तथा पुरुष झण्डै एक मिनेट नाङ्गो भिडियो हेर्न बाध्य भएका थिए ।

कोरोना महामारी र लकडाउनले विश्वभरि नै ‘वर्क फ्रम होम’ को नयाँ सोच आयो । सोहीअनुसार प्रविधिमा पनि नयाँ प्रडक्टहरू थपिए । विश्वभर प्रचलित धेरैथरी सामाजिक सञ्जालभन्दा पृथक देखाउँदै कोरोनासँगै ‘जुम’ देखापरेको हो । विशेषगरी धेरै जनासँग एकैचोटी ‘लाइभ डिस्कसन’ गर्न मिल्ने भएपछि लकडाउनमा अन्य ‘लाइभ स्ट्रिम’ भन्दा भिडियो कन्फरेन्स,वेभ कन्फरेन्स र वेविनारका कारण जुमको व्यापार विश्वभरि नै नसोचेको गतिमा अघि बढेको छ ।

अहिले नेपालमा पनि सरकारी निकायदेखि गैरसरकारी संस्था र विद्यालयहरूले जुम प्रयोग गर्न थालेका छन् । तर, यसको प्राविधिक विश्वसनीयता प्रमाणित नभइसकेकाले जुममार्फत् गरिएका कतिपय छलफलमा एकाएक अश्लील दृश्य र नाङ्गो भिडियो बज्न थालेका छन् । मन्त्री र सरकारी अधिकारीहरू सम्मिलित कार्यक्रममा भएका हालका घटनाले सहभागी सबैलाई लज्जित र पानीपानी बनाइदिएको छ।

सोमबार पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल मिटिङ्गमा संस्कृति, पर्यटन तथा नागरिक पर्यटन मन्त्री योगेश भट्टराई बोलिरहँदा एक मिनेट नाङ्गो भिडियो बज्यो । सरकारी अधिकारी, पर्यटन व्यवसायी र पत्रकार गरी झण्डै दुई सय जना सहभागी उक्त मिटिङ्गमा ह्याकरले एकाएक अश्लिल भिडियो देखाएपछि सबै अचम्भित बनेका थिए ।

एक महिनाअघि विभिन्न बैंकका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका एकजना हाकिम सहभागी भर्चुअल छलफलमा पनि त्यस्तै भएको थियो । ह्याकरले अश्लिल भिडियो सार्वजनिक गरेपछि छलफलमा सहभागी महिला तथा पुरुष झण्डै एक मिनेट नाङ्गो भिडियो हेर्न बाध्य भएका थिए ।

सिंगापुर, केन्या र नर्वेमा त्यहाँका केही विद्यालयहरूले सञ्चालन गरेको ‘जुम क्लास’ मा समेत एकाएक नाङ्गो तस्बिर र भिडियो सार्वजनिक भएको घटना बाहिरिइसकेको छ ।

प्राविधिक विश्वसनीयतामाथि प्रश्नचिन्ह उठाउँदै विश्वका विभिन्न देशले जुमको प्रयोगमा रोक लगाएका छन् । भारतले यसको प्रयोगमा रोक लगाइसकेको छ । उता, जर्मन विदेश मन्त्रालयले पनि जुमको भिडियो कन्फरेन्स सेवामा प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !