तस्करीमा ‘भीआईपी पास’ को गाडी

तस्करीमा ‘भीआईपी पास’ को गाडी

सचिव विष्टले दुबै गाडीमा गृह मन्त्रालयले उपलब्ध गराएको भीआईपी पास टाँसेर लकडाउनको समयमा पनि पटक पटक काठमाडौं सुर्खेत ओहोर दोहोर गरेका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १०, (क) प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद पुकार महर्जन र उनका निजी सचिव विजय विष्टले प्रयोग गरेको गाडी तस्करीको आशंकामा प्रहरीले समातेको छ । बहुमूल्य पत्थर काइनाइट र रंगीन पत्थर टुर्मालिनको चोरी, निकासी गरेको विशेष सुराकीको आधारमा दुईवटा भिआईपी पास झुण्डाएका गाडीलाई सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार राती सुर्खेतमा नियन्त्रणमा लिएको हो ।

महँगो पत्थर तस्करीमा संलग्न भएको आशंकामा प्रहरीले बा १५ च ३५०५ को स्कोर्पियो र बा १८ च ७६२१ नम्बरको हाइलक्स गाडीलाई भेरीगंगा नगरपालिकाको छिन्चुस्थित मनकामना होटलबाट नियन्त्रणमा लिएको बताइन्छ । सो क्रममा अर्को एउटा गाडी भने हालसम्म फरार छ । हाइलक्स सांसद महर्जनले प्रयोग गर्दै आएको गाडी हो भने स्कोर्पियो उनकै ठूलो बाको नाममा दर्ता रहेको देखिन्छ । महर्जन नेपाली काँग्रेसका सांसद हुन् ।

काठमाडौंबाट गएका दुईवटै ‘भिआइपी गाडी’ मा चोरी, निकासीको लागि बहुमूल्य पत्थर काइनाइट र टुर्मालिन रंगीन पत्थर लुकाई छिपाई ओसारिने गरेको आशंका छ । जाजरकोटमा मात्र पाइने काइनाइट र टुर्मालिनको बजारमूल्य गुणस्तरअनुसार प्रति किलोग्राम ५ सयदेखि २५ हजार रूपैयाँ पर्छ । सरकारले उत्खनन् स्वीकृति दिएपनि पाँच वर्ष अघिदेखि काइनाइट र टुर्मालिनको विदेश निकासीमा भने रोक लगाएको छ । मुलुकभित्र प्रशोधन उद्योग नभएकाले पछिल्लो समयमा चोरी, निकासीबाटै भारत,चीन र अमेरिकासम्म पुग्ने गरेको छ ।

सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले पक्राउ गरेको दुईवटै गाडी र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो । प्रहरी स्रोतकाअनुसार घटनाको विषयमा विस्तृत अनुसन्धान गर्दै नियन्त्रणमा लिइएकाहरूसँग आवश्यक सोधपुछ तथा प्रारम्भिक बयानसमेत लिइएको छ ।

सचिव विष्टले दुबै गाडीमा गृह मन्त्रालयले उपलब्ध गराएको भीआईपी पास टाँसेर लकडाउनको समयमा पनि पटक पटक काठमाडौं सुर्खेत ओहोर दोहोर गरेका थिए । उनको आउजाउ शंकास्पद देखिएपछि स्थानीयले कीर्तिपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राजेन्द्र बानियाँसँग बिष्टलाई क्वारेण्टिनमा राख्नुपर्ने माग राखेका थिए । तर बानियाँले स्थानीयको मागलाई एउटा कानले सुनेर अर्कोले उडाइदिए । तस्करीमा प्रयोग भएको गाडीका निम्ति सांसद महर्जनले गृह मन्त्रालयबाट ‘ट्राभल एण्ड टुर्स’ को नाममा भीआईपी पासको बस्दोबस्त मिलाएका थिए ।

टिप्पणीहरू