जर्नेलहरूको भेलामा विप्लव र बाढी

जर्नेलहरूको भेलामा विप्लव र बाढी

त्यत्ति धेरै परिमाणको बिस्फोटक पदार्थ कसरी र कहाँबाट ओसारियो भन्ने विषय नै यतिखेरको सुरक्षा चुनौती भएको पृतनापतिहरूको धारणा थियो । उनीहरूले कोरोना महामारी र लकडाउनको फाइदा उठाउँदै हतियार थुपारेको हुनसक्ने आँकलन गरिएको छ ।

जंगी अड्डामा पृतनापतिहरूको भेला हिजो सकिएको छ । भेलामा राष्ट्रिय सुरक्षा र कोरोना महामारीको बारेमा धेरै छलफल भएको थियो । त्यहि क्रममा विप्लव माओवादीको हिंसात्मक गतिविधि मुलुकको लागि अलिकति चुनौतीपूर्ण देखिएकाले बेलैमा अनुगमन थाल्नुपर्ने बताइयो ।

पछिल्लो साता राजधानीमै विप्लवले ठूलो मात्रामा जम्मा गरेको बिस्फोटक पदार्थ भेटिएपछि सुरक्षा चुनौती थपिएको जर्नेलहरुको निस्कर्श थियो । त्यत्ति धेरै परिमाणको बिस्फोटक पदार्थ कसरी र कहाँबाट ओसारियो भन्ने विषय नै यतिखेरको सुरक्षा चुनौती भएको पृतनापतिहरूको धारणा थियो । उनीहरूले कोरोना महामारी र लकडाउनको फाइदा उठाउँदै हतियार थुपारेको हुनसक्ने आँकलन गरिएको छ । विप्लवको स्ट्रेन्थको बारेमा भने सुरक्षा निकायले अझैपनि ढुक्क हुनसक्ने विवरण प्राप्त गर्न सकेको छैन ।

भेलाले कोरोना संक्रमितको संख्या नसोचेको विन्दूमा पुग्नसक्ने आँकलन गरेको छ । कोरोना  रोकथामको उपाय र सेनाले भोगेका कठिनाइको बारेमा पनि खुलेरै छलफल भएको थियो । सेनाले सबैतिर क्वारेन्टिनमा राखेका वा क्वारेन्टिनको लागि लगिएका आशंकितहरूको ओसारपसारमा ठूलो कठिनाई भोग्नुपरेको बताएको छ । बेलैमा कोरोना रोकथामको लागि पीसीआर मेशिन धेरै ठाउँमा राख्नुपर्ने निश्कर्ष पनि निकालेको छ ।

सेनापतिले वर्षायाम शुरु भएकाले सम्भावित बाढी,पहिरो प्रकोप उद्धारका लागि तम्तयार भएर बस्न पृतनापतिहरूलाई आवश्यक निर्देशन दिएका छन् । त्यसका लागि राज्यका अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न पनि सुझाइएको छ ।

सेनाभित्र झाँङ्गिदै गएको आर्थिक अनियमितताको बारेमा पनि भेलामा उपस्थित जर्नेलहरूलाई नेतृत्वले सांकेतिक रूपमा सचेत गराएको छ । संगठनको साख गिराउने भएकाले कुनैपनि अनियमिततामा संलग्न नहुन पृतनापतिहरूलाई पुनः स्मरण गराइएको छ ।

टिप्पणीहरू