काँग्रेसको बागी समूहद्वारा उम्मेदवारी घोषणा

काँग्रेसको बागी समूहद्वारा उम्मेदवारी घोषणा

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट बागी दिएर जितेको समूहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उठेर जितेको उक्त समूहले महोत्तरी क्षेत्र नम्बर १ ’क’ मा उम्मेदवारी दिन लागेको हो ।

यो समूहका नेता बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री हुन् । पार्टीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काँग्रेसका पूर्वनगर सभापति युवराज पोखरेललाई चुनावमा अगाडि सार्ने समूहको तयारी छ ।

यसअघि काँग्रेसले पार्टीबाट विद्रोह गरेकालाई निर्वाचनमा सघाउन र निर्वाचनपछि कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

तर, प्रल्हाद पक्षले गरेको निर्णयलाई लिएर पार्टीका केन्द्रीय सदस्यहरु असन्तुष्ट भएसँगै कारवाही फुकुवा रोकिएको हो । ‘पार्टीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै उहाँहरुले हतार गर्नुभयो,’ केन्द्रीय सदस्य महेन्द्रकुमार राय यादवले भने, ’यो पनि पार्टीका विरुद्ध विद्रोह नै हो ।’

पार्टीसँग कारवाही फुकुवाको लागि पटक–पटक अपील गर्दासमेत अस्वीकार गरेकाले बाध्य भएर उम्मेदवार अगाडि सारिएको क्षेत्रीपक्षको दाबी छ ।

स्थानीय निर्वाचनमा जेब्रा चिन्हबाट मेयर निर्वाचित प्रल्हाद क्षेत्रीले प्रदेश सभामा पनि जित्ने विश्वास व्यक्त गरे ।

४ वटा वडा, उपमेयरसहित विजयी क्षेत्रीले माओवादी केन्द्रका उम्मेदवारलाई पाँच हजार ८८७ को फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादीका उम्मेदवार राजु खडकाले ८ हजार ३२३ मत ल्याउँदा प्रल्हादले १४ हजार २१० मत ल्याएका थिए ।

तर, यही मतलाइ आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारिएका युवराज पोखरेल कमजोर भएको कतिपयको टिप्पणी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाई माओवादी केन्द्र, एमाले, काँग्रेस सबै दलले सहयोग गरेको त्यतिबेलै चर्चा थियो ।

विशेषगरी काँग्रेसबाट नै ठूलो सहयोग बटुलेका प्रल्हादले स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भए पनि दलगत राजनीति गरेकाले उनीप्रतिको अपेक्षा निकै कम भएको विगतमा उनी निकट एक जना कार्यकर्ता बताउँछन् ।

’जित्न कै लागि हो भने बलियो रणनीति बनाउनुपर्छ नत्र गाह्रो छ’ उनले भने ।

क्षेत्री पक्षले प्रतिनिधिसभामा भने शर्तसहित कुनै पार्टीलाई सहयोग गर्ने तयारी गरेको छ । गठबन्धनबाट छुट्टिएपछि जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी वा एमाले कुन पार्टीलाई सहयोग गर्ने भन्ने निर्णय नभइसकेको उक्त पक्षको भनाइ छ ।

तर, काँग्रेस निकट नेताहरुले क्षेत्रीपक्षले पुनः गल्ती गरे पार्टीको ढोका पूर्णरुपमा बन्द हुनसक्ने बताएका छन् । यो विषयमा जिल्ला सभापति नागेस्वर यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

केन्द्रीय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको उक्त निर्णय विद्रोहकै निरन्तरता भएको प्रतिक्रिया दिए ।

टिप्पणीहरू