बहुबिबाह गर्नेलाई पनि चुनावमा उठ्न बन्देज

बहुबिबाह गर्नेलाई पनि चुनावमा उठ्न बन्देज

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुनेलाई निर्वाचित गर्ने निर्वाचनका लागि पर्सि असोज २३ गते उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्नुअगाडि उम्मेदवारको योग्यता र अयोग्य हुने आधारहरु प्रकाशित गरेको छ ।

यस्ता छन् योग्यता:

(क) नेपालको नागरिक,

(ख) प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,

(ग) पच्चिस वर्ष उमेर पूरा भएको,

(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको र

(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।

अयोग्य हुने आधार:

(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,

(ख) निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुध्दिकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(घ) सङ्गठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ङ) जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(च) यसबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(छ) प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेका,

(ज) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(झ) नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमतिप्राप्त गरेको,

(ञ) मानसिक सन्तुलन ठीक नभएको ।

टिप्पणीहरू