भारतीय औषधिका कारण गाम्बियामा दर्जनौं बालबालिकाको मृत्यु, अनुसन्धान शुरु

भारतीय औषधिका कारण गाम्बियामा दर्जनौं बालबालिकाको मृत्यु, अनुसन्धान शुरु

भारतमा उत्पादित औषधि सेवन गरेका ६६ जना गाम्बियन बालबालिकाको मृत्युपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुसन्धान थालेको छ । भारतीय चार किसिमका औषधि सेवनबाट अफ्रिकी मुलुक गाम्बियाका ती बालबालिकाको मृत्यु भएको आरोप लागेको छ ।

डब्लुएचओले औषधि निर्माता कम्पनी मेडन फर्मास्युटिकल्स र भारतीय नियामक निकायमाथि अनुसन्धान थालेको जानकारी दिइएको छ । साथै विश्व स्वास्थ्य संगठनले ती औषधिको बिक्री वितरणमा प्रतिबन्ध पनि लगाएको छ ।

हरियाणा राज्यमा निर्मित उक्त कम्पनीका खोकीको चार किसिमका औषधि खाएका बालबालिकामा गम्भीर किसिमको मृगौला रोग लागेपछि मृत्यु भएको बीबीसीले जनाएको छ । बालबालिकाको मृत्युपछि गरिएको अनुसन्धानमा औषधिको कैफियत देखिएको डब्लुएचओले जानकारी गराएको छ ।

संगठनले भारतमा निर्मित प्रोमिथो जाइन ओरल सोलुसन, कोफिक्स मलिन बेबी कफ सिरप,माकोफ बेबी कफ सिरप र मागरिप एन कोल्ड सिरपमा मानव स्वास्थ्यलाई गम्भीर हानी गर्ने तत्व फेला परेको जनाएको छ । गाम्बियाको जस्तै उक्त दुःखद् घटना भारतीय औषधि प्रयोग गर्ने अन्य धेरै मुलुकमा समेत हुनसक्ने आकलन गरिएको छ ।

यसबारे भारत सरकार र निकायहरुले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

फोटो स्रोत : रोयटर्स

टिप्पणीहरू