बालुवाटारले उपेन्द्रलाई ठेल्दै बालकोट पुर्याएपछि…आज ओली,उपेन्द्र सम्झौता

बालुवाटारले उपेन्द्रलाई ठेल्दै बालकोट पुर्याएपछि…आज ओली,उपेन्द्र सम्झौता 

बालुवाटारमा झण्डै दुई महिनादेखि दिनहुँजसो हुँदै आएको गठबन्धन दलका शीर्ष नेता तथा कार्यदलको बैठकका नतिजामा केही सातादेखि सुस्तता देखिएसङ्गै जनता समाजवादी पार्टी (जसपा) ले हिजो रातीबाट अकस्मात औपचारिक ‘कोर्स चेञ्ज’ गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापति रहनुभएको नेपाली काँग्रेस र पुष्कमल दाहाल प्रचण्डको नेकपा माओवादी केन्द्रले व्यवहारमा ‘छिर्के’ हान्दा आफूहरु बालकोट जान बाध्य भएको जसपा नेताहरुको निश्कर्ष छ ।

‘उताबाट अति नै पेल्न थाले । यसबीच मन्त्री राजेन्द्र श्रेष्ठ नर्वे गएको, उपाध्यक्ष अशोक राई पूर्वतर्फ लाग्नुभएको, अध्यक्ष उपेन्द्र यादव धरमरको अवस्थामा देखिनुभएकोमा रकम चेम्जोङहरुसँगको निरन्तरको वार्ताले हिजो रातीबाट लगभग मूर्त रुप लिएको हो । आज एमाले र हामीबीच सम्झौता हुँदैछ,’ बालकोटसँग निरन्तर वार्तामा सहभागी जसपाका एक जना नेताले बेलिविस्तार लगाए ।

जसपालाई बालकोट पुर्याउनमा विदेशी शक्ति केन्द्रको आड र भरोसाले पनि काम गरेको चर्चा चलाइएको छ । काँग्रेस र माओवादीले ठेलेर बालुवाटारबाट बालकोट पुर्याइदिएको उल्लेख गर्दैै उनै नेताले भने, ‘नदेखिएको र प्रमाण नपुगेको पक्षलाई किन दोष लगाउनु ?’ तर पछिल्लो परिस्थितिका कारण उक्त आरोपमा पनि केही सत्यता भएको पुष्टि हुन्छ ।

यसबीच डा.बाबुराम भट्टराईलाईसमेत अस्वाभाविक रुपमा प्रचण्डसँग मिलाइएको छ । जसपाका नेता तथा मन्त्री राजेन्द्र श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट उठ्ने बताउँदै आए पनि अन्ततः हिसिला र बाबुरामपुत्री मानुषीलाई त्यो ठाउँ छुट्टयाउनै पर्ने भनेर माओवादीले अत्तो थापेको अवस्था छ । खेल यस्तै यस्तैबाट शुरु भएको उनीहरुको बुझाइ छ ।

पछिल्लो पटक अस्ति र हिजो बालुवाटारमा भएको छलफलमा काँग्रेसले मधेश प्रदेशमा जसपालाई १३ बाट पनि झारेर बढीमा १० सीट दिन सकिने अडान लिएपछि उक्त पार्टी बिच्किएको स्रोतको दाबी छ । पहिले १६ भनिएकोमा काँग्रेसका नेताहरुको व्यवस्थापनलाई देखाउँदै १० सीटको सीमा तोकिएको थियो ।

उसले विशेषतः मधेश प्रदेशमा एक्लै सरकार बनाउन पुग्नेगरी आफूलाई सीट माग्दै आएको थियो । एमालेसङ्ग नयाँ सम्झौताअनुसार जसपाले त्यहाँका ३२ वटा संघीय सीटमध्ये १६ र प्रदेशमा ३२ सीट पाउने भएको छ ।

यसअघि विभिन्न बाध्यता देखाउँदै प्रधानमन्त्री देउवाले महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको लोसपालाई सरकार र गठबन्धनमा सामेल गर्न अनेक प्रयास गरे पनि जसपाले रोक्दै आएको थियो । हुन तः पछिल्लो एक वर्षदेखि लोसपाको खासै राजनीतिक महत्व र भूमिका पनि देखिएको थिएन ।

आफ्नो अस्तित्व जोगाउन र कार्यकर्ता बचाउन पनि जसपाले एमालेसँग मिल्नुको विकल्प नदेखिएको उनीहरुको बुझाइ छ ।

त्योबाहेक १ नम्बर प्रदेशमा सुनसरी र मोरङका संघीय संसदको दुई सीट र प्रदेश सभातर्फ चार सीटमा एमालेसँग सहमति भएको छ । सुदूरपश्चिम,लुम्बिनीमा पनि त्यस्तै गर्ने भनिएको छ । बाँकेमा मन्त्री इस्तियाक राइनलाईसम्म छाड्ने मनस्थितिमा काँग्रेस देखिएको थियो । तर एमालेबाट अनुकूल प्रस्ताव आएपछि काँग्रेस र माओवादीको पेलानसँगै बालुवाटारमा भएको छलफललाई जसपाले एउटा कानले सुनेर अर्को कानले उडाइदिएको सहजै अनुमान लगाउन सकिन्छ ।

काँग्रेस र माओवादीले वार्ताको नाममा हलो अड्काएको थाहा पाएपछि बालकोटका नेताहरुसँग जसपाका केही नेता पछिल्लो सातादेखि नियमित सम्पर्कमा थिए । त्यही सम्पर्कले हिजो साँझ एउटा स्वरुप लिएको हो । अब गठबन्धनबाट जसपालाई चोइटाएर एमालेको तालमेलमा लैजाने अवस्था सहज बनेको छ । आजै एमाले–जसपाबीच सम्झौतामा हस्ताक्षरको तयारीसमेत गरिएको छ ।

टिप्पणीहरू