मध्यरातको पहिरोले राजधानीमा तीन जनाको प्राणान्त

मध्यरातको पहिरोले राजधानीमा तीन जनाको प्राणान्त

तीन दिनदेखिको अविरल वर्षाका कारण आएको पहिरोले थानकोट नजिकै तीन जनाको ज्यान गएको छ । गए राति १ बजे चन्द्रगिरि नगरपालिका २, देउराली भञ्ज्याङ नजिकै गएको पहिरोमा एकै घरका तीन जना पुरिएका हुन् ।

सिमेन्टको ब्लकबाट बनेको कच्ची घर पहिरोले पुरिँदा माटोले घरभित्रका तीन जना पुरिएका थिए । ५६ वर्षका राजु श्रेष्ठ,उनकी श्रीमती ४५ वर्षकी गीता र १८ महिनाकी छोरी सारथीको ज्यान गएको हो ।

तीनै जनाको शव अहिले बिहान निकालिएको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट नायव निरीक्षक हरेन्द्र कुसवाहको टोली, सशस्त्र प्रहरी बलको नीलबाराही गणबाट सहायक निरीक्षक उपेन्द्र गिरीको कमाण्डमा जुटेको टोली, प्रहरी वृत्तबाट निरीक्षकको अर्को टोली र प्रहरी विपद् तथा उद्धार टोलीसँगै सडक विभागको जेसीबीले माटो पन्छाएपछि शव फेला परेको बताइएको छ ।

मध्य असोज र मध्य दशैंमा परेको अविरल वर्षाको कारण मुलुकका धेरै ठाउँमा बाढी र पहिरो गएको छ । लामो बिदाको कारण यसबीचमा भएका जनधनको क्षतिको पूर्ण विवरण प्राप्त नभइसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू