चीनमा पनि दशैंको रमझम, जमरा लगाउन पीसीआर अनिवार्य

चीनमा पनि दशैंको रमझम, जमरा लगाउन पीसीआर अनिवार्य

स्वदेशमा मात्रै होइन, विदेशमा पनि नेपाली र विदेशीले हर्षोल्लासका साथ दशैं मनाएका छन् । छिमेकी चीनको चच्याङ प्रान्तको यिऊ शहरमा हिजो नेपाली र विदेशीहरुले विजया दशमीको टीका र जमरा लगाएका छन् ।

नेपालीहरुझैँ चिनियाँहरु पनि टीका र जमरा लगाउन उत्तिकै उत्सुक देखिएको पाइयो । स्थानीय नेपाली रेष्टुरेन्टमा आयोजित दशैं कार्यक्रममा प्रवेश गर्न चीन सरकारको नीतिबमोजिम ४८ घण्टा अघिको पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको थियो ।

परम्परागत नेपाली खानाको व्यवस्था गरिएको दशैं कार्यक्रमको संयोजन सज्जन माकजु र जीवन मैनालीले गरेका हुन् । उनीहरु एनआरएन क्षेत्रीय कमिटीका महासचिव र सदस्य हुन् ।

यसअघि अष्टमीका दिन पनि नेवारी परम्पराअनुसार ‘कु:छी भोयः’ को आयोजना गरिएको एनआरएन चीनका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्सका चीन पूर्वी क्षेत्रीय व्यापार प्रतिनिधि राजकुमार खड्काले बताए । सो अवसरमा १९ प्रकारका परिकार केराको पातमा राखेर नेवारी परम्पराबमोजिम सुकुलमा राखी खुवाइएको थियो ।

उक्त भोज एनआरएन चीनका सहकोषाध्यक्ष रविन्द्रकुमार मालीको घरमा आयोजना गरिएको हो ।

 

टिप्पणीहरू