काँग्रेसको कलह चुलियो, मधेसमा अरुलाई छाड्न नहुने नेतृत्वलाई सुझाव

सत्ता सहयात्री दलहरुसँग गठबन्धन गरेर आगामी निर्वाचनमा बहुमत ल्याउने योजनामा रहेको नेपाली काँग्रेसभित्रको आन्तरिक किचलो थप चर्किन थालेको छ । मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी मनोनयनको केही दिन मात्र बाँकी छँदा डा. शेखर कोइराला समूह गठबन्धन नमान्ने भन्दै संस्थापनविरुद्ध आन्दोलनमा उत्रिएपछि काँग्रेसको आन्तरिक विवाद चुलिएको हो ।

समानुपातिक उम्मेदवारको बन्दसूचीमा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै चरणबद्ध संघर्ष थालेको कोइराला खेमाले आज पनि अलग्गै भेला गरेको छ । समानुपातिकमा जस्तै प्रत्यक्षतर्फसमेत एकलौटी गरिए एमालेसँग तालमेल गरेर उम्मेदवारी दिने उक्त समूहले चेतावनी दिइसकेको छ । काँग्रेसको गत महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइरालाले पार्टीमा ४० प्रतिशत भाग खोजेका छन् ।

यसैबीच काँग्रेस मधेस प्रदेशका जिल्ला सभापतिहरूले सभापति देउवालाई सामूहिकरुपमा भेटेर गठबन्धन दलबीच भइरहेको क्षेत्र बाँडफाँड र उम्मेदवार सिफारिसप्रति आपत्ति जनाएका छन् । मधेसका ३२ मध्ये अधिकांश क्षेत्र एक्लै जितिने भएकाले गठबन्धनका नाममा अरु पार्टीलाई सीट छुट्याउन नहुने उनीहरुको माग छ ।

त्यस्तै, काँग्रेसका मधेसी नेताहरुले प्रत्यक्षतर्फ सिफारिस भएका नाममा पनि असन्तुष्टि जनाएको बताइएको छ । यसअघि कोइराला समूहको चित्त बुझाउन आफ्नो नाम समानुपातिक सूचीको पुछारतिर पारिएको भन्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहनले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

टिप्पणीहरू