देउवामाथि दवाब बढाउन कोइराला खेमा आज पनि जुट्दै

देउवामाथि दवाब बढाउन कोइराला खेमा आज पनि जुट्दै

पार्टीभित्र ४० प्रतिशत हिस्सेदारी खोज्दै संस्थापनविरुद्ध मोर्चा कसिरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज पनि भेला बोलाएको छ । कोइराला खेमाको अघोषित कार्यालय मानिने बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा अपरान्ह २ बजेदेखि भेला शुरु हुने जनाइएको छ ।

चुनावको सीट भागबण्डामा संस्थापन पक्षले गरेको बिभेद र त्यसविरुद्ध अपनाउने रणनीतिका विषयमा छलफल गर्न भेला डाकिएको सो समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

समानुपातिकको बन्दसूचीमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसविरुद्ध कोइराला खेमाले केन्द्रीय कार्यालय घेराउदेखि अलग भेला गर्दै आएको छ । कोइराला खेमाको मागबमोजिम नै कांग्रेसले अन्तिम समयमा समानुपातिक सूची सच्याएको थियो । प्रत्यक्षतर्फ पनि भेदभाव हुनसक्ने भएकाले खबरदारीका लागि भेला आयोजना गरिएको सो खेमाका अर्का एक नेताले जानकारी दिए ।

टिप्पणीहरू