’सन्दिपलाई प्रहरीले होइन,पहिले अध्यागमनले पक्रिन्छ’

’सन्दिपलाई प्रहरीले होइन,पहिले अध्यागमनले पक्रिन्छ’

उमेर नपुगेकी किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछाने केहीबेरमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दै छन् । उनी कतार एअरवेजको उडानमा दोहाबाट आउन लागेको स्वयम लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले आफूमाथि गलत आरोप लागेकाले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन् । काठमाण्डौमा उत्रेलगत्तै प्रहरीसमक्ष आत्मसमर्पण गर्नु आफ्नो इमान्दारिता भएको उल्लेख गर्दै लेखेका छन्, ‘म न्याय पाउनेमा विश्वस्त छु । छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउने छु ।’

तर, नेपाल प्रहरीले ‘आत्मसमर्पण’ भन्ने सन्दर्भ नै नरहेको जनाएको छ । नेपाल प्रहरीको त्रिभुवन विमानस्थलस्थित कार्यालयमा कसैले पनि आत्मसमर्पण गर्ने भन्ने विषय नै नहुने डिआइजी श्याम ज्ञवालीले जानकारी दिए ।

लामिछानेको पक्राउबारे प्रहरीले यसअघि नै अध्यागमन कार्यालयलाई पत्राचार गरेकाले अब अध्यागमन कार्यालयले पनि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई पत्रसहित बुझाउने डिआइजी ज्ञवालीको भनाइ छ । यसअघि प्रहरीले लामिछानेमाथि लागेको अभियोग र पासपोर्ट नम्बरसहित उल्लेख गरेर जानकारी गराएकाले अध्यागमनले नियन्त्रणमा लिएर ‘अफिसियल ह्याण्डओभर’ गर्ने उनले जानकारी दिए ।

त्यसपछि विमानस्थल प्रहरीले अध्यागमनको सोही पत्रको आधारमा सन्दिपलाई काठमाडौं प्रहरीमा बुझाउने तयारी छ । लामिछानेविरुद्ध पीडित किशोरी र उनकी दिदीले गौशाला प्रहरीमा गत भदौमा जाहेरी दिएका थिए ।

यता आफ्नो स्वदेश फिर्तीबारे नेपाल प्रहरीलाई समेत जानकारी गराइसकेको सन्दिपले सामाजिक सञ्जालमा दाबी गरेका छन् । लामिछानेले आफूलाई नियन्त्रणमा लिने समयमा आफ्ना वकिल सरोजकृष्ण घिमिरेको अनिवार्य उपस्थितिको शर्त राखेका छन् ।

टिप्पणीहरू