नेपाल प्रहरीको मौलो हेडक्वार्टरभित्रै, महानिरीक्षकद्वारा निशानमा पञ्जाछाप

नेपाल प्रहरीको मौलो हेडक्वार्टरभित्रै, महानिरीक्षकद्वारा निशानमा पञ्जाछाप

नेपाल प्रहरीले आज मौलो पूजा गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजा गरिएको बताइएको छ ।

मौलो पूजा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएको हो । सो क्रममा उहाँले बलि पूजा र निशानमा पञ्जा छाप लगाउनुभएको प्रहरी मुख्यालयले जनाएको छ ।

विशेष कार्य गरेका प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार रामकुमार कार्कीलाई सोही बखत नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको छ । जसमा दुई वटा निशान छ । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अङ्कित हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्हको हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचैन कायम राख्ने जस्तो संवेदनशील कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्टदेवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ ।

प्रहरी संगठनभित्र कुनै किसिमको अनिष्ट नहोस् र भन्ने उद्देश्यले प्रहरीको निशान झण्डालाई पूजा गर्ने परम्परा छ । नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेको हो ।

त्यसपछि प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा मौलो पूजा गर्न थालिएको हो । आजै सबै प्रहरी एकाइमा रहेका मौलोमा पूजा भएको बताइएको छ ।

टिप्पणीहरू