डलर अर्बपतिको भँगेरे दाउ

डलर अर्बपतिको भँगेरे दाउ

अरुले कम्तिमा १ करोडदेखि बढीमा पौने दुई करोड रूपैयाँ योगदान गरेको अवस्थामा पनि नबिल बैंकले भने जम्माजम्मी २८ लाखले झारा टारिदिएको छ ।

प्रधानमन्त्री कार्यालयमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये २१ वटाले १ करोड रूपैयाँभन्दा बढी योगदान गरेका छन् । तीमध्ये राष्ट्रिय वाणिज्य बैंकले १ करोड ८५ लाख र नेपाल इन्भेष्टमेण्ट बैंकलगायत अन्य ४ वटा बैंकले १ करोड रूपैयाँको दरले जम्मा गरेका छन् ।

१ करोड भन्दामाथि १ करोड ७५ लाख रूपैयाँसम्म जम्मा गर्ने १६ वटा बैंक छन् । सिटिजन, कुमारी, सिभिल, सिद्धार्थ र सेञ्चुरी बैंकले क्रमशः ५० लाखदेखि ७५ लाख रूपैयाँसम्म योगदान गरेका छन् । तर, नेपालका डलर अर्बपति विनोद चौधरीको ५३ प्रतिशत स्वामित्व रहेको नबिल बैंकले भने २८ लाख रूपैयाँ मात्र जम्मा गरेको छ ।

गत आर्थिक वर्षमा नबिलले ४ अर्ब रूपैयाँ नाफा गरेको थियो । त्यसमध्ये चौधरी ग्रुपको स्वामित्व रहेको बंगलादेशस्थित एनबी इन्टरनेशनलले पचास प्रतिशत अर्थात् २ अर्ब रूपैयाँ बराबरको लाभांश विदेशी मुद्रामा परिणत गरेर ढाका लग्यो । अघिल्लो वर्ष पनि पौने दुई अर्ब रूपैयाँको हाराहारीमा विदेशी मुद्रा नेपालबाट बाहिर लगेको थियो । नबिलमा एनबी इन्टरनेशनलको पचास प्रतिशत स्वामित्व छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब १५ करोड रूपैयाँ भन्दाबढी खुद मुनाफा गरिसकेको छ ।

चौधरीको एकाघर परिवारका निर्वाण, वरुण, सारिका र राहुलको नाममा बैंकमा ३.११ प्रतिशत स्वामित्व छ । त्यसवापत उनीहरूले पनि गतवर्ष झण्डै १३ करोड रूपैयाँ बराबरको लाभांश बुझेका थिए । यतिखेर बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा आठ करोड रूपैयाँ भन्दाबढी छ । साउन लागेपछि नबिलले उक्त शीर्षकमा अर्को चार करोड रूपैयाँ थप्नेछ । अन्यत्र त्यत्तिकै खर्च गर्न नपाइने सो रकमलाई सबै बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गरेको देखिने, सरकारलाई स्पष्टसँग सहयोग गरेको अर्थ लाग्ने र कोषको ठूलो रकम व्यवस्थापन गर्न पाइएकाले करोड भन्दाबढी जम्मा गरेका हुन् ।

तर, अरुले कम्तिमा १ करोडदेखि बढीमा पौने दुई करोड रूपैयाँ योगदान गरेको अवस्थामा पनि नबिल बैंकले भने जम्माजम्मी २८ लाखले झारा टारिदिएको छ । ‘अहिलेको असहज अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उल्लेख्य रकम योगदान गर्न धेरै सुझायौं । तर, साहुजीले मुण्टो बटारेपछि हाम्रो के लाग्छ र !’ बैंकका एकजना वरिष्ठ अधिकृतको उक्त कथनले पनि अरबौं लाभांश बुझ्ने अर्बपतिको कठोर मनलाई उदाङ्गो बनाई दिएको छ । बरु बैंकका सबै कर्मचारीले आफ्नो गाँस कटाएर भएपनि कोरोना कोषमा २६ लाख रूपैयाँ भन्दाबढी योगदान गरेका छन् ।

यसअघि कर्णाली प्रदेशलाई एक थान पीसीआर मेशिन उपलब्ध गराउन चौधरीले बैंकलाई दबाब दिएका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट तत्काल २८ लाख २५ हजार निकासा पनि गर्यो । तर, उक्त सहयोग ‘चौधरी ग्रुप’ ले गरेको देखाउनुपर्ने अडान लिएपछि बैंकले लामो समयसम्म रकम हस्तान्तरण नै गर्न नसकेको स्रोतको दाबी छ । जेठ दोस्रो साता बैंकले आफ्नै नाममा उक्त रकम कर्णाली प्रदेशलाई हस्तान्तरण गरिसकेको छ ।

कर्णाली प्रदेशलाई एक थान पीसीआर मेशिन सहयोग ‘चौधरी ग्रुप’ ले गरेको देखाउनुपर्ने अडान लिएपछि बैंकले लामो समयसम्म रकम हस्तान्तरण नै गर्न नसकेको स्रोतको दाबी छ

टिप्पणीहरू