एमाले अध्यक्ष केपी ओली हिजो बेलुका ३ घण्टासम्म शीतल निवासमा

एमाले अध्यक्ष केपी ओली हिजो बेलुका ३ घण्टासम्म शीतल निवासमा

हिजो साँझदेखि राति अबेरसम्म शीतल निवास र खुमलटारमा छुट्टाछुट्टै राजनीतिक भेटघाट र कुराकानी भएको छ । राष्ट्रपति निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली हिजो तीन घण्टा बस्नुभयो ।

अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न साँझ साढे ६ बजे बालकोटबाट एक्लै शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र उहाँबीच मुलुकको समसामयिक राजनैतिक घटनाक्रम,चुनावी स्थितिवारे झण्डै तीन घण्टा कुराकानी भएको थियो । शीतल निवासबाट निस्केर अध्यक्ष ओली बालकोट पुग्दा रातको झण्डै १० बजेको थियो ।

हिजै खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंह पुगेको अध्यक्ष दाहालको सचिवालयले पुष्टि गरेको छ । अध्यक्ष दाहाल र सिंहबीच साँझ ७ बजेदेखि झण्डै साँढे ९ बजेसम्म गोप्य कुराकानी भयो ।
सिंहलाई भारतीय पूर्व संस्थापन पक्षको विश्वासिलो पात्रको रुपमा लिइन्थ्यो । तर, पछिल्लो समय उनलाई बिजेपी पक्षले अविश्वास गर्न थालेको संकेत मिलेको काँग्रेस स्रोतको दाबी छ ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट यसअघि विजयी सिंहलाई आगामी निर्वाचनमा काँग्रेसले सांसदको उम्मेदवारबाट वञ्चित गराउने सम्भावना बढ्दै गएपछि उनको नयाँ दिल्ली, लैनचौर र खुमलटारतर्फको दौड बाक्लिएको हो ।

यसैबीच काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी डा.आरजु राणाको विशेष पहलमा लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य चन्दा चौधरी विधिवत काँग्रेस प्रवेश गरेकी छन् । चौधरीको काँग्रेस प्रवेशलाई सिंहको विकल्पको रुपमा हेरिएको छ ।

उनी यसअघि एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १८ दिन मन्त्री बनेकी थिइन् । त्योभन्दा पहिले माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री थिइन् ।

टिप्पणीहरू