हुलाकमा साढे चार करोड,खाएको तिर्दै हैरान

हुलाकमा साढे चार करोड,खाएको तिर्दै हैरान

-उत्तमकुमार थापा

हुलाक बैंकमा हिनामिना गरिएको बचतकर्ताको रकम फिर्ता हुन थालेको छ । बझाङ जिल्ला हुलाक कार्यालयस्थित बचत बैंकले गरीब र विपन्न वर्गको रकम धमाधम फर्काउन थालेको बताइन्छ ।

जिल्ला हुलाक कार्यालयमा रहेको उक्त बैंकमा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणले जम्मा गरेको रकम केही कर्मचारीले हिनामिना गरेका थिए । कर्मचारीले रकम हिनामिना गरेपछि विपन्न नागरिकले थप रकम बचत गर्न छाडे ।

विपन्न परिवारका सदस्यले जम्मा गरेको चार करोड ९५ लाख १४ हजार ८ सय ४१ रुपैयाँ ४४ पैसा भ्रष्टाचार गरिएको हो । त्यो रकम समाजका विपन्न वर्गले गाँस कटाएर जम्मा गरेका थिए । रकम जम्मा गर्नेमध्ये कोही होटलमा भाँडा माझ्ने,कोही दाउरा बेच्नेहरु हुन् । यस्ता निमुखा जनताको रकम हिनामिना गरेपछि कर्मचारीविरुध्द अदालतमा मुद्दा र अख्तियार अनुसन्धान आयोगमा निवेदन परेको थियो ।

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्नुपर्ने माग राख्दै वचतकर्ता र सर्वसाधारण आन्दोलित भएका थिए । अनियमितता भएको रकम फिर्ता गराउन हुलाक कार्यालयका प्रमुख राजेन्द्रबहादुर बोहराले विभिन्न निकायलाई गुहार्नु परेको बताइएको छ ।

त्यसैगरी पूर्व प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी,हालका बाबुराम अर्याल,कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख शेरबहादुर विष्ट एवम जिल्लाका नेता, सञ्चारकर्मी सबैले आफ्नो स्थानबाट आवाज उठाएका थिए ।

निरन्तरको दबाबपछि केन्द्रीय धनादेश कार्यालयबाट हालै रकम प्राप्त भएको जानकारी दिइएको छ । उक्त कार्यालयबाट प्राप्त पाँच करोड ५९ लाख ८५ हजार चार सय २१ रुपैयाँ हुलाक कार्यालय बझाङ पुगेको कार्यालय प्रमुख बोहराले बताए । रकम उपलब्ध गराउन पहल गरेका हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरेप्रति बझाङका वासिन्दाले धन्यवादसमेत दिएका छन् ।

सर्वसाधारणले जम्मा गरेको बचत रकमको ब्याज मात्रै ६४ लाख ७० हजार पाँच सय ७९ रुपैयाँ ९६ पैसा पुगेको छ । धनादेश कार्यालयबाट रकम प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको हातबाट ७० वर्षीया ज्येष्ठ नागरिकलाई अस्ति उक्त रकम हस्तान्तरण गरी गरीबको डुबेको रकम फिर्ता गर्न थालिएको हो ।

पहिलो दिन ३० जना महिला, ११ जना पुरुष गरी ४१ जनालाई भुक्तानी दिइएको छ । उक्त दिन ६३ लाख ३१ हजार चार सय ६० रुपैयाँ भुक्तानी भएको हो । हिजो ५५ जना महिला र १७ जना पुरुष लाई गरी जम्मा ७२ जनालाई ६८ लाख २४ हजार सय सय ५९ रुपैयाँ भुक्तानी दिइएको हुलाक कार्यालयले जानकारी दिएको छ ।

हिनामिना भएको आफ्नो बचत रकम फिर्ता भएपछि सर्वसाधारण खुशी देखिएको बताइन्छ । बझाङको हुलाक बचत बैंकमा १७ सय एक जनाले रकम जम्मा गरेका छन् ।

टिप्पणीहरू