भीम रावलबाहेक ‘१० भाइ’ प्रति एमाले अध्यक्ष हल्का नरम

भीम रावलबाहेक ‘१० भाइ’ प्रति एमाले अध्यक्ष हल्का नरम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा तत्कालीन माधव नेपाल खेमाका १० जना नेतालाई आत्मालोचना गराएर मात्रै टिकट दिने तयारी गरेको चर्चाले केही दिनयता एमाले वृत्त गर्माएको छ । आफू नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र पार्टी फुटाउन भूमिका खेलेको भन्दै ओलीले आत्मालोचना गराउने रणनीति बनाएपछि यो विषय चर्चामा आएको हो ।

१० बुँदे पक्षधर भनिने ती नेताहरुमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली टिकटको दौडबाट आफैँ बाहिरिएका छन् भने बाँकी सबै आ-आफ्नो क्षेत्रबाट सिफारिस भएका छन् । जसमध्ये चितवन महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका नेता भीम रावल अछाम-२ बाट सर्वसम्मत भएका छन् । तर,रावल सर्वसम्मत भएकोमा पार्टीका सुदूरपश्चिमेली नेताहरुलाई निवासमै बोलाएर असन्तुष्टी जनाउनुभएका अध्यक्ष ओली आत्मालोचना गरे पनि उनलाई टिकट नदिने मुडमा रहेको बताइन्छ ।

आफू नेतृत्वको सरकार ढालेकोमा निकै इख लिनुभएका अध्यक्ष ओली चितवन महाधिवेशनमा आफूलाई अध्यक्षमा सर्वसम्मत हुन नदिएकोमा रावलप्रति थप असन्तुष्ट हुनुहुन्छ, भनिन्छ । जसका कारण रावल सर्वसम्मत भएकोमा उहाँले गम्भीर चासो र सोधखोज गरेको उहाँनिकट स्रोतले बताएको छ ।

“घनश्याम भुसालले ‘माफी मागिन्थ्यो भने पन्चसँगै मागिन्थ्यो किन ओलीसंग’ भनी निकटहरुसँग भन्ने गरेको पनि चर्चा छ ।”

यस विषयमा अस्ति बसेको सचिवालय बैठकमा समेत कुरा उठेको एक नेताले बताए । टिकटबारे निर्णय लिन बसेको बैठकमा ओलीको मुड बुझेका ती नेताका अनुसार भीम रावलबाहेक अरुले टिकट पाउने सम्भावना छ । तर, त्यसअघि अनौपचारिक नै भए पनि आत्मालोचना गराउने तयारी छ ।

तर, ‘१० भाइ’ समूहका नेताहरु भने अहिले एक गठ छैनन् । उनीहरु आ-आफ्नै ढंगले टिकटको लबिइङमा रहेको बताइन्छ । बुझिएअनुसार योगेश भट्टराईले आत्मालोचनाका नाममा टिकटमा पन्पक्ष हुँदा एक मतका साथ चुनावमा जाने परिस्थिति नबन्ने र त्यसले परिणाम प्रतिकूल हुनेतर्फ ओलीको ध्यानाकर्षण गराइसकेका छन् ।

ओलीबाहेक अन्य नेताहरुले पनि पाँच दलीय गठबन्धनका विरुद्ध निर्वाचनमा प्रतिष्पर्धा गर्नुपर्ने कठिन अवस्थामा आन्तरिक एकता बलियो बनाउनुपर्ने आवाज उठाइरहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललेसमेत चुनावको मुखमा आत्मालोचनाका नाममा आन्तरिक एकता खल्बल्याउनु हानिकारक हुने भएकाले त्यस्तो निर्णय नगर्न ओलीलाई सुझाव दिएको बताइन्छ । तर,टिकट वितरणको अन्तिम निर्णय गर्ने अधिकार सचिवालयले ओलीलाई दिएकाले भीम रावल,योगेश, घनश्यामहरुको हकमा के हुन्छ अहिले यसै भन्न सकिने अवस्था नरहेको नेताहरु बताउँछन् ।

यता,टिकटकै विषयलाई लिएर पूर्वमाओवादी समूह पनि सन्तुष्ट नरहेको खबर आइरहेको छ । बाहिर चर्चामा आएअनुसार समानुपातिक सूची बनाउँदा आफूहरुलाई उपेक्षा गरिएको एमालेका पूर्वमाओवादी नेताहरुको गुनासो छ । ओलीले आफूनिकट सिमित नेताहरुलाई मात्र राखेर मनलाग्दी निर्णय गरेको भन्दै पूर्वमाओवादीका एक नेताले भने, ‘समानुपातिकमा क-कसको नाम राखियो हामीलाई केही थाहा छैन । हामीहरु कसैलाई पनि सोधपुछसम्म भएन ।’

१० भाइ र पूर्वमाओवादी दुवै खेमाको साझा बुझाइ छ -नेकपा हुँदै एमालेसम्म विभाजित भैसक्दा पनि ओली अझै प्रणालीमा छिर्न चाहेनन् । राप्रपा,लोसपासँग तालमेल गर्न तयार हुने तर आफ्नै पार्टीका नेतालाई विश्वास नगर्ने स्थितिले चुनावमा अपेक्षित परिणाम नआउने भन्दै पूर्वमाओवादीका ती नेताले अप्रत्यक्ष चेतावनी समेत दिए ।

घनश्याम भुसालले ‘माफी मागिन्थ्यो भने पन्चसँगै मागिन्थ्यो किन ओलीसंग’ भनी निकटहरुसँग भन्ने गरेको पनि चर्चा छ ।

टिप्पणीहरू