कवि मणिकुमार पोखरेलका केही मणिहरु

कवि मणिकुमार पोखरेलका केही मणिहरु

–कौशल चेम्जोङ

उदयपुरको रुपाटार ७ मा पिता रत्नप्रसाद र माता गोमादेवीको कोखबाट (२८ फाल्गुण २०१४) जन्मिएका पोखरेल कवि साक्षी प्रमाणवाद समूहका सक्रिय हस्ताक्षर हुन । हाल सुर्खेत जिल्लाको बीरेन्द्रनगरमा बसोबास गर्दै आइरहेका पोखरेल उदयपुर छोडेर साहित्यिक साधनामा निरन्तररुपमा लागि पर्ने मध्ये एक कवि हुन । जसले उदयपुरलाई ९विशेषगरी० रुपाटार र यसका आसपासका क्षेत्रलाई सुन्दरढङ्गले वयान गरेका छन् । उनको पहिलो कृति ‘श्रद्धाञ्जली’ सुर्खेती कला साहित्य परिवार बीरेन्द्रनगरले वि.सं.२०४८ साल असारमा प्रकाशित गरेको हो । प्रकाशकका अनुसार श्रद्धाञ्जली ‘आफ्ना जीवनानुभुतिहरुलाई सार्वजनिक बनाएर देश काल परिवेशका विसंगतिहरुलाई होसियारीसाथ प्रतीकात्मक रुपमा विविध दृष्टिकोणसहित प्रस्तुत’ गरिएको छ ।

पहिलो कृतिमा शीर्षक कविता श्रद्धाञ्जली, आमाको सम्झनामा, बुढो रुख, चलन, देशको माया, ड्रमको पानी, मिर्मिरेमा झुल्किएको ज्योति, कला।कलाकार।समाज, जन्मेपछि द्रोण पूत्र बन्न सक्नु पर्छ, दुर्गन्ध, असफलता, पश्चाताप, आकाश धर्ती र जीन्दगी, विश्वासःभत्किसकेपछि, दिदीलाई चिठ्ठी, गल्ती दोहरिएपछि अपराध बन्छ, आवश्यकता, अभिमानी हुट्टिट्याँऊ र सम्भावना शीर्षकका १९ कविता रहेका छन ।

कविता सरस र सरल हुनुपर्छ भन्ने मान्यता बोकेका पोखरेलले यस सङ्ग्रहमा विभिन्न कालखण्डका विभिन्न गोष्ठी अनि अवसरहरुमा वाचित कविताहरुलाई एकठ्ठा गरेका छन । किनाराका साक्षीका रुपमा दुई प्रमाणवादीहरुलाई अघि सारेका कवि पोखरेलबारे एक महेन्द्रनाथ गिरी भन्छन, ‘आफ्ना व्यक्तिगत जीवानुभूतिहरुलाई निर्वैयक्तिकताको जलप चढायी, साधारणीकरणको खोली राखी गद्य कविताको प्रवाहमय शैलीमा प्रस्तुत गर्ने र वर्तमानलाई प्रतीकात्मक रुपमा अभिव्यक्ति दिने प्रयास श्रद्धाञ्जलीमा गरिएको छ ।’ अर्का साक्षी अच्यूतशरण अर्याल लेख्छन, ‘सङ्ग्रहका कविताहरु प्रतीकात्मक छन, राष्ट्रका दुखाइका प्रसँगहरुले भरिपूर्ण छन् र नारी पक्षका संवेदनमय छन् । यसमा नेपाली समाजका ४०औं दशकका अनुभूतिहरु उल्लिखित छन् ।’

आमाको सम्झनामा कवि पोखरेल आमा हुनुको अर्थ र गर्व बोध गराउँछन् । आमासँगै हुनुको अनुभूतिहरुलाई विछोडका पलहरुसँग साक्षात्कार गराउँछन् । शैशवस्थादेखि मृत्युपर्यन्त आमा सँधै चिरस्थायी प्रातःस्मरणीय हुन्छन भनेर अन्तस्करणलाई झकझकाउँछन् । सँधै हुँदा ख्याल नहुने, सँगै हुँदा वास्तै नहुने आमाहरु विछोडिदा सम्झाना योग्य हुने होइन, आमा त आमा हो भन्ने भाव यस कवितामा कवि पोखरेलले गद्यात्मक शैलीमा पोखेका छन । बुढो रुखमा तन बुढो भए पनि मन बुढो नहुनेप्रति उनी घृणा व्यक्त गरिरहेका भेटिन्छन् ।

गाउँले चरीहरुलाई पासो थाप्ने, सोझीहरुलाई जालमा पार्ने ध्याउन्नमा रहेका यौनपिपाशुहरुको विपक्षमा उभिदैं उनीहरुको प्रभृतिलाई नाङ्गेझार बनाएका छन । सङ्ग्रहको शीर्ष कविता श्रद्धाञ्जली आमाप्रति समर्पित छ । जहाँ उनले मातृवात्सल्य जीवनका रहर लाग्दा, सँधैसँधै आमाकैं काखमा लुटुपुटु हौं झैं लाग्दा रहरहरुको विस्कुन फिजाउँदै आमाको मायालाई उचाइँमा पुर्याएका छन । र, साश्वत नियमका विरुद्ध जान नसक्ने भएपछि अर्थात् जो जन्मिन्छ, उ अवश्य मर्नुपर्छ भन्ने मान्यताका आधारमा श्रद्धाञ्जली पस्किएका छन । चलनमा पोखरेलले यथास्थितिविरुद्ध, परम्परागत चलनविरुद्ध धावा बोल्ने प्रयास गरेका छन । मान्छेहरुको विरुद्धमा रहेका खराब चलनको कमसेकम ठाडै विरोधमा उत्रिन नसके पनि व्यङ्ग्यवाण हानेका छन । र, उनी कुसंस्कार, विसंगतिविरुद्ध आन्दोलित देखिन्छन् ।

सङ्ग्रहमा रहेको देशको मायामा कवि पोखरेल गाँस जुटाउनेका निम्ति जीवनदाता आमाबाबा, प्यारी जीवनसँगीनी र लालाबालालाई एक्लै छोडेर भारत प्रवास छिर्न बाध्य नेपालीहरुको कथा कहन्छन् । विदेश पलायन हुनु रहर होइन बाध्यता हो भन्ने कथनलाई देशको मायालाई साक्ष्य प्रमाणको रुपमा तेर्साएका छन ।

तर उनी भविष्यप्रति आसावादी देखिन्छन्, सँधैंसँधैं यस्तो दुर्दशा हुने छैन भन्ने विश्वास व्यक्त गर्दै गाँस जुटाउनको लागि पलायन हुनु पर्ने वाध्यताको अन्त्य हुने आस गर्छन् । सर्सती हेर्दा कवि पोखरेलका कविताहरु औसत कविताकैं दर्जामा छन्, प्रारम्भमा गद्य शैलीलाई अपनाएका पोखरेलले पछिल्लो समय भने लोकलयलाई निरन्तरता दिएका छन । उनले श्रद्धाञ्जलीको ड्रमको पानीमा युज एण्ड थ्रो नीतिको शीकार हुने चलनलाई खुलासा गरेका छन ।

काठमाडौंको बसाइँ होस या उदयपुर रिस्कूतिरको, उनले जतिखेर भाव बह्यो त्यसलाई बहन दिए । जतिखेर कोर्न मन लाग्यो कोरिदिए । अनि सुर्खेत जहाँ गाँसबाँसको जोहो भएको छ कविको, त्यही धेरैजसो साक्षी उभ्याएर रचनाकर्मलाई निरन्तरता दिए । श्रद्धाञ्जलीका पोका पारिएका कविताका रचना काल वि.सं.२०४० सालदेखि २०४७ सालसम्मको देखिन्छ । मिर्मिरेमा झुल्किएको ज्योतिमा कवि पोखरेल परम्परागत उखानहरुको सुन्दर ढङ्गले उपयोग गर्दै विम्वका रुपमा प्रस्तुत गर्छन् ।

उनी कवितामा आसाको सञ्चार गर्छन् । र, सुदुर भविष्यका निमित्त सन्ततीहरु तम्तयार भएको सूचना दिन्छन । त्यसै सङ्ग्रहमा रहेको अर्को कविता कला,कलाकार,समाजमा यी तीनै शब्दको गरिमा र महत्वलाई वयान गर्छन् । यिनका सवल र निर्वल पक्षहरु केलाउँदै एकार्काको भूमिका र दायित्व निभाउनको लागि प्रेरित गर्छन । त्यसैगरी जन्मेपछि त द्रोणपुत्र हुन सक्नु पर्छमा मान्छेहरुलाई मान्छे हुनुको गर्व गर्दै जीवनमा आई पर्ने समस्याहरुलाई पन्छाउँदै महाभारतका चर्चीत द्रोण पुत्र अश्वस्थामा जस्तै चिरञ्जिवी हुनुपर्छ भन्ने भाव व्यक्त गर्दछ ।

यसैमा सम्मिलित दुर्गन्ध कवितामा समाजमा व्याप्त विकृति र विसंगतिका बादलहरु फाट्ने अपेक्षा राखेका छन । असफलता शीर्षकको कवितामा भने कवि निराशा व्यक्त गर्छन्, जीवनप्रति उच्चवास छोडन्छन् । प्रगतिवादी भन्दा यथास्थितिको धरातललाई नैं चुपचाप नियति ठान्न पुग्छन् । कविले पश्चातापमा मातृभूमिप्रति समर्पित गर्नु पर्ने कामहरु असरल्ल रहेको, गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । र उनी आकाश–धर्ती र जिन्दगीमा तुलना गर्दै एकार्कालाई ढाढस दिन्छन्, बाँध्न अघि तम्सिन्छन् । विश्वास भत्किसेपछिमा देशका सच्चा सपुत हौं, सच्चा राष्ट्रवादी हौं भन्नेहरुले नै शोषण गर्ने र आमालाई बलात्कृत गर्न अघि सरेकोकाले रोष प्रकट गरेका छन । अर्थात् आफन्तहरुले विश्वासघात गरेको प्रति दुखेसो व्यक्त गरेका छन । उनले यस कवितामा विद्रोह बोलेका छैनन् ।

यथास्थितिलाई भाग्य चक्र ठान्दै स्वीकार गरेका छन् । जुन उनको सुरुवाती कविताका विशेषता हुन भन्दा फरक पर्दैन् । आफन्त र आफ्नै परिवेशलाई लेखनको विषय वस्तु बनाउने, सजाउने कवि पोखरेले दिदीलाई चिठ्ठीमा आमालाई माया गर्ने दिदीको उत्साहलाई उपल्लो छेउ पुर्याएको अनुभव गर्न सकिन्छ, उनी लेख्छन–

फेरि पनि आमाले
नियोजनको युग बिर्सेर
अभिमन्यू रोप्नुको सार्थकतामा
अर्जुनहरु
निरन्तर रुपमा जन्माइरहेकिछिन

गल्ती दोहरिए अपराध बन्छ शीर्षकको कवितामा पोखरेल एक पटकको गल्ती भूल मान्न सकिन्छ तर जब त्यही गल्ती पटक पटक दोहरिन्छ, त्यसले अपराधको रुप लिन्छ भन्ने मान्यतालाई अघि सारेका छन । आवश्यकता शीर्षकको कविता कता कता बरालिएको छ । भन्न खोजेका कुरा भाँती नपुगेझैं देखिन्छ । अभिमानी हुट्टिट्याऊँमा हुट्टिट्याउँको सगर खस्यो भने थाम्ने दम्भपूर्ण कथनलाई प्रतीकका रुपमा उभ्याएका छन । उनी अभिमानी आफन्तहरुलाई जवाफ दिन हुट्टिट्याऊँको संज्ञा दिदैं खबरदारी गर्न उपदेश दिन समेत चुकेका छैनन ।

उनी लेख्छन,–

घमण्ड पतनको खाडल हो
अभिमान उसको चिहान हो
र, पुर्खौली नासो भएपनि
यो दुवै उसको
एक पछिको अर्को मलामी हो ।

सङ्ग्रहको अन्तिम कविता संभावनामा विकृत मानसीकताका मान्छेहरु जसले रंग फेर्ने छेपारोलाई समेत उछिन्ने प्रयास गरेका छन, ती सबैको उछित्तो काढ्न अघि सरेका छन । आवरणसहित ५२ पृंष्ठ रहेको सो पुस्तकको छपान भास्कर प्रिन्टिङ्ग प्रेस बीरेन्द्रनगर सुर्खेतले गरेको छ । यो उनको पहिलो साहित्यिक कृति हो ।

पोखरेलेको गद्यकविताको यात्राले पछिल्लो समयमा भने लोकलयको रफ्तार समातेको पाइन्छ । उनको लोकलयको बाटोमा खाल्डाखुल्डी जस्ता जर्क हुने ठाउँहरु कमै देखिन्छन् । त्यसको उम्दा नमूनाको रुपमा खण्ड काव्य अर्थात लामा कविताहरु समेटिएका शृङ्खलावद्ध कृतिहरु हुन गोमा(रत्न,रुपा, सौभाग्य सोपान र पुष्प वाटिकाहरु यसका प्रमाण हुन ।

वंशका गुण लिएझैं लाग्ने, लोकनाथ र बालकृष्णहरूसँग आफूलाई दाँज्ने, पोखरेल कुलकाअर्का एक मणि जस्तै लाग्छन मणि । हो, पोखरेलहरू नातापाताका होलान्, त्यसैले मणिकुमारलाई पनि यो हावाले छोयो होला भनेर बात नलगाउनु । किनभने उचालेको कुकुरले मृग मार्दैन, यिनी उचालिएका साहित्यकार होइनन् संघर्षबाट खारिदै वृत्तिका निम्ति उदयपुर छोड्दै सुर्खेतमा बसाइँ हिँडेका देखिन्छन । बसाइँ हिँड्नेको ताँतीका एक सदस्य पोखरेलले मातृभूमिप्रति माया प्रकट गर्दै मन रुवाएको भेटिन्छ–

आमा भन्ने कुरा पनि अचम्मकै मान्छु
हाँस्न बोल्न सघाउने औषधी यो ठान्छु ।
मर्नलाई तयार प्राणी समेत मुक्त छैन
उपस्थित बिना यसको लाग्छ संसार हैन ।

हो, आमा र मातृभूमिप्रतिको उनको यो उद्गार सुन्दर छ, अत्यन्तै सुन्दर छ । उनले सौभाग्य सोपानमा जीवनका दुवै पाटाप्रतिको आफ्नो धारणा र विचारलाई पस्केका छन् । आसा र निराशाबिच झोलिने जीवनका दार्शनिक, सामाजिक र सांस्कृतिक पक्षहरुमाथि विचार मन्थन गरेका छन । उनी लेख्छन्–

रिस, डाह, अहङ्कार, दाउपेच र निरासा र
बदला हुन् नकारका भाव बच्नू निरन्तर ।
आंतक औं धोका निन्दा, बेइमानी, कपटपन
नकारात्मक जान्नू नराम्रो हो जिद्दीपन ।
प्रेम, सत्य, खुशी, शान्ति, जिज्ञासा र इमान्दारी
अनुशासन, मानवत्व सकारात्मक भारी ।
खोज, चाह, आस, स्वप्न, न्याय अनि साहस र
दया, ज्ञान, करुणा हुन् सकारात्मक ज्ञान ।

त्यसैगरी उनी आसावादी देखिदैं सौभाग्य सोपानमा तातो फलामलाई चोट दिएपछि मात्रै काम लाग्दो ज्यावल बन्ने भन्दै लेख्छन,

चिसिएको फलाम छ जति चोट दिए पनि
बन्दैन त्यो औंजार त चाहेको हुँ यही भनी ।
समय र परिस्थिति अनुकूल जानी गरे
काम फत्ते अवश्य नै हुन्छ हाम लागीपरे
सकारात्मक सोच फत्ते हुन्छ अवश्य नैं
लत्ता छोडी बस्योृ भने भविष्य त बिग्रन्छ है ।
उनी प्रश्न गर्छन्
मनुष्य हो मनुष्यकैं हत्या हिंसा गरीकन
कसरी त्यो धर्म बन्छ रु प्रश्न गर्छन् बहुजन ।

समग्रमा सौभाग्य सोपान सकारात्मक सोचका साथ जीवन जिउन प्रेरित गर्ने लामो कविता हो । यसले मानवीय गुणहरुलाई स्वभाविक रुपमा लिएर मान्छेकैं हितमा उपयोग गर्न उत्साहित गर्छ । असल र खराब पाटाहरु मान्छेमैं हुन्छ तर असल पाटाहरु, उज्यालो पक्षहरुलाई अघि सार्नु मानव जीवनका लागि सार्थक पाटो हो भन्ने कुरा अघि सार्दछ ।

सकिन्न सुन्न रुपाको स्वर न उनी रोएको
सकिन्छ देख्न न पाऊ तिनले आँसुले धोएको ।
आसाको भू्रण पालेरै बस्नु धर्म हो कोखमा
तैपनि रुपा डुब्दिहुन् ठान्छु दुःख र शोकमा ।।

कवि पोखरेल जन्मभूमि उदयपुरको रुपाटार संक्षिप्तमा रुपाप्रति अगाध श्रद्धा र प्रेम व्यक्त गर्दछन् । रुपाटारका प्राकृतिक छँटाहरुलाई सुन्दर ढङ्गले व्यक्ताउँछन् । त्यसैमा रमाउँछ। बाटोघाटो, खोलानाला, बोटविरुवा, टारबारी, साथीसँगी सबै समेटछन् । रुपा नामक लामो कवितामा उनले रुपाटारमा बिताएको बाल्यकालका सम्झनाहरुलाई ताजामात्रै गरेका छैनन् अपितु मातृभूमिको ऋण तिर्ने साउँव्याँजीको रुपमा लेख्छन,

छोडेर भूमि गरेको पाप म मेट्न सक्दिन
नसके पनि तिर्नलाई ऋण मौन चैँ बस्दिन ।
लागेको भाव पोख्दछु केही उतारी कर्ममा
मिल्नेछ शान्ति नपुगे पनि मरेर स्वर्गमा ।।

अनि पुष्प–वाटिकाका पुष्प र वाटिकाबिचको प्रेम सम्बन्धको वयान गर्दै सुखान्त जीवनका रुपमा टुङ्ग्याउँछन् । उनले यो कृतिमा साँचो मायामा तेर्सिने तगारोहरुलाई पन्छाउँदै सफल दाम्पत्य जीवन अगाल्न पुगेका पुष्प र वाटिकामार्फत् साँचो माया डग्दैन् भन्ने कुरालाई सावित गरेका छन् ।

जीवन हाम्रो संघर्ष नै हो संघर्ष गरौंला
बाँडेर माया ममता हामी प्रकाश छरौंला ।
हातमा छैन कसैको पुष्प १ अघि र पछिको
भविष्य रोक्ने जान्दछु तर कुरा हो मतिको ।। 

मुनामदन शैलीकैं जीवन चर्या उधिनेर अर्थात् सास धान्नको निम्ति गर्नु पर्ने विभिन्न खाले कर्मलाई उनले राम्रैसँग उनेका छन् । सामाजिक वर्ण र जात व्यवस्था, समाजले अघि सारेका रुढिगत मान्यताका कारण निश्चल, निष्पाप मायामा आउने तगारोहरुलाई उनले वयान गर्दै लेखेका छन,–

दिमाग बोल्थ्यो वर्ग र जात घरको अवस्था
मिलेन भने विचार हुन्न सुख र सुविस्ता ।।

जिन्दगी हाम्रो धर्तीको नासो कर्ममा बाँचौला
कर्म नै ठूलो ठानेर दुबै कर्ममै हाँसौंला ।
न गर्नू चिन्ता सिर्जनलाई जतन गरेर
सजाउँछु हाम्रो बगैंचा राम्रो माली म बनेर ।।

समग्रमा संयोगमा टुङ्गिने पुष्प र वाटिकाको प्रेम कथाका नायकनायिका कवि र उनकै जीवनसँगीनी अथाव उनकै आसपासको परिवेश हो की जस्तो जस्तै पनि लाग्छ । जे होस् प्रकृतिलाई सुन्दर ढङ्गले चित्रण गर्दै सामाजिक रुपान्तरका लागि झिनो आवाज उठाउन उनको कृतिहरुले सघाउन भने अवश्य पुर्याउँछ ।

बिर्सिएका लय टिपेर लामा छोटा कविताहरुको मेसो लगाउन सक्ने खुबी भएका मणिकुमार पोखरेल साँच्ची साहित्यिक मणि हुने तरखरमा देखिन्छन् । उनका पछिल्ला कृतिहरु गोमारत्न (खण्डकाव्य, २०६८), तिरस्कृत सिउँदो (लघुकथासङ्ग्रह, २०६९), ओझेलमा परेका फूलहरु (खण्डकाव्य, २०७३),रुपाटारको रङ्ग, सुर्खेतको सुगन्ध (अनुभव र अनुभूति, २०७४), सौभाग्य सोपान, पुष्प वाटिका र रुपा (लामो कविता, २०७८)ले यसैतर्फ सङ्केत गरेको छ ।

टिप्पणीहरू