बनमा बाघ करायो, विदेशबाट पति आउँदा यता पत्नी हरायो

वनमा बाघ कराउने, खोरमा बाख्रा हराउने एकैचोटी भएपछि बाघमाथि शंकाको छुट कसलाई हुन्न ? पहिलेदेखि गाइँगुइँ चलेको हल्लालाई लिएर शंका त गाउँलेहरूले गरेकै थिए । शंकाकै भरमा आरोप लगाउन पनि भएन । तर दुबैजना एकाएक मोबाइल फोन अफ गरेर गायब भएपछि छिमेकीलाई पँधेरी बात गर्न कसले रोक्नु ! बेसीशहर नपा –११ चिती रामचोककी अञ्जना सेढाइँ यही ४ गतेदेखि काखको छोरो च्यापेर हराएकै दिन गएको स्थानीय निर्वाचनमा अत्यधिक मतले विजयी बनेका वडासदस्य भरत बस्नेत पनि सम्पर्कविहीन भए ।

अनेकौँ सपना बुनेर साउदीबाट नेपाल ओर्लेको दिन श्रीमती लिन आउलिन् भन्दा त उल्टै घर छोडेको खबरले वैदेशिक रोजगारबाट फर्केका शंकरको मन कस्तो भयो होला ! कल्पना मात्र गर्न सकिन्छ । नाताले दाइ पर्नेको साली लौडारी भञ्ज्याङ तनहुँ की सविता दिदीकोमा आउजाउ गर्दागर्दै माया बसेपछि बिहे भयो । मायाप्रेम बसेर गरेको बिहे छोरी जन्मिएपछि बाटो मोडिन् ।

तनहुँ दमौलीबाट मागीबिहे गरे अञ्जनालाई । छोरो जन्मियो र शंकर वैदेशिक रोजगारको सिलसिलामा साउदी गए । राम्रै पैसा कमाए । हाडछाला घोटेर पनि परिवार सुखको लागि विदेशबाट फर्कने बेला न श्रीमती, न कमाएको सम्पत्ति । अर्कै मान्छेसँग अफेयर चलेको हल्ला खासखुस चलेपनि छोरीकै बिबाह गर्ने उमेर भैसकेका जनप्रतिनिधि जस्तो मान्छेसँग सम्बन्ध राखे हराउन पर्ने अवस्थासम्म पुग्लान् भनी कसैले सोचेनन् ।

भरत बस्नेतकी छोरी केही समयपछि अष्ट्रेलिया हिँड्न ठिक्क परेको बेला बाउलाई बैँस चढ्नुले रोऊँ कि हाँसुको अवस्थामा पुगेको बताइन्छ । एमालेबाट निर्वाचित ५० हाराहारीका बस्नेतले नै अञ्जनालाई लगेको पक्कापक्कीजस्तै भए पनि शंकरका दाइ राजनले ७ गते जिल्ला प्रहरी कार्यालयमा भने लाखौंको धन सम्पत्तिसहित हराएकी अञ्जनाको खोजी गरिदिन भनी उजुरी गरेका छन् । ८ गते स्याङ्जातिर लोकेसन देखाएको प्रहरीले जानकारी दिए पनि जनआस्थालाई प्राप्त पछिल्लो सूचनाअनुसार उनीहरू छिमेकी मुलुक भारत पसेको देखिन्छ ।

– अञ्जनकुमार

टिप्पणीहरू