मधेशमा यसरी बढ्दैछ ओलीको माहोल

मधेशमा यसरी बढ्दैछ ओलीको माहोल

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणिकरण नगरिँदा एमालेमाथि त्यसको दोष लागेको छ । तर, मधेसमा दिनैपिच्छे एमाले प्रवेश गर्ने क्रम जारी छ । हिजोसम्म मधेसको दुश्मन भनिएका केपी ओली किन नागरिकता विधेयक गिजोलिँदासम्म एकाएक मधेसकै प्रिय बन्नुभयो ?

यसको खास जवाफ हो, गठबन्धनका कारण एमालेबाहेक प्रमुख दलका नेताहरुको टिकटको टुंगो नहुनु । तर, एमालेलाई अलिअलि भए पनि जनाधार भएका मान्छे चाहिएको छ । दशौं वर्षदेखि राजनीतिमा लागेकाहरूले कुनै अमुक निर्वाचन क्षेत्रलाई समातेर त्यसमा सारा लगानी गर्दै आए । अहिले गठबन्धनमा त्यहाँबाट आफूले टिकट पाउने कुरामा थोरैलाई मात्रै विश्वास छ ।

नेपाली कांग्रेसमा शेरबहादुर देउवापक्षीय नेताहरु सबै ढुक्क छन् । गठबन्धनकै बलमा माओवादी र समाजवादीका केही मान्छे उत्साहित भएका छन् । कांग्रेस एउटा क्षेत्रमा १२–१३ हजार भोटका साथ चुनावमा गएको थियो भने २५ प्रतिशत भोट आउँदा पनि जितिन्छ भन्ने माहौल छ । यो परिस्थितिको सबैभन्दा ठूलो लाभ एमालेलाई भइरहेको छ । यसकारण ओलीको केन्द्रिकरण मधेसमा भएको हो ।

धनुषा जिल्ला नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको लामो श्रृंखला भएको ठाउँ हो । ०३६ सालको विद्यार्थी आन्दोलनदेखि लागेकाहरु आज एकजना पनि कांग्रेसमा छैनन् । युवराज खाती, रामसरोज यादवहरु नै त्यो पार्टीमा रहेनन् । उनीहरु चुनाव जित्नका लागि ओलीतिर आकर्षित भए । ओली मधेस जाने, कुर्ता–सुरुवालमा देखिने, कतै बिजुली रिक्सा चढ्ने, जनकपुरमा जाँदा रेल चढ्नेजस्ता फण्डा निकालेर आफ्नो उपस्थिति जनाइरहनुभएको छ । जबकि, शेरबहादुर, रामचन्द्रहरु मलामी जाँदा पनि लवेदा–सुरुवालमा ठाँटिने गर्नुहुन्छ ।

मधेसवादी पार्टीले पहिला ओलीमुक्त मधेसको कुरा गरे । मधेस आन्दोलनको सबभन्दा ठूलो खलनायक भनेर ओलीको प्रचार गरे । आखिर तिनै पार्टीका सबै नेता ओलीसँगै ठोक्किन पुगे । पहिला उपेन्द्र ओलीको क्याबिनेटमा मन्त्री भए । पछि महन्थ ठाकुरहरु ओलीसँग छन् । ओलीसँगै ठोक्किने भए किन उपेन्द्र र महन्थसँग लाग्नु ? सीधै जान सकिन्छ भनेर अहिले मधेसी नेताहरु धमाधम एमाले प्रवेश गर्दैछन् ।

कांग्रेस र माओवादीका नेताहरु चाहिँ गठबन्धनबाट टिकट नपाउने भएर ओलीतिर गएका छन् । एमालेले सबै सीटमा उम्मेदवारी दिएर समानुपातिकमा मत बढाउन खोजेको छ । अहिले सबभन्दा बढी मधेशवादी दलबाट एमालेमा गएका छन् । यस हिसाबले मधेसमा मधेसवादी दलको वर्चस्वलाई असर गर्छ भने एमाले, माओवादी र कांग्रेस हावी हुने संकेत देखिन्छ । त्यसमा पनि माओवादी तलमाथि भयो भने दुई दलीय उपस्थिति देखिन्छ । माओवादीले त्यहाँबाट पहिला जितेको चार सीट हो ।

महोत्तरीबाट गिरिराजमणि पोखरेल, सर्लाहीबाट रामेश्वर राय यादव, धनुषाबाट मात्रिका यादव र रौतहटबाट प्रभु साह । यसपटक धेरै पैसा खर्च हुने कारण रामेश्वर चुनाव नलड्ने निर्णयमा पुगेका छन् । उनले प्रचण्डलाई भनिसके, ‘१० करोड लाग्छ, मसँग पैसा छैन ।’ स्थानीय निर्वाचनताका बर्दिबासमा आफ्नै पार्टीका मेयर उम्मेदवारलाई हराउन भूमिका खेलेको भनी गिरिराजमणिको हालत खराब छ । उता, कांग्रेसमा अमरेशकुमार सिंह भारतबाट भन्न लगाएर सर्लाही ४ बाट उठ्ने नै भए । त्यस्तै, राष्ट्रपति विद्या भण्डारीकी सम्धिनी किरण यादवले पनि महोत्तरीबाटै टिकट पाउने भइन् ।

धनुषामा एकीकृत समाजवादीका रामचन्द्र झा उठ्ने भनिएको छ । उपेन्द्र यादव सुनसरी वा सप्तरीबाट उठ्ने तयारी गर्दैछन् । तर, गठबन्धन तोड्दा उनलाई पनि गाह्रो छ । कतिपय कांग्रेसहरु माओवादीबाट चुनाव लड्न टिकट मागिरहेका छन् । कारण हो, गठबन्धनमा ‘भ्यागुताको धार्नी’ मिल्ने छाँट छैन ।

टिप्पणीहरू