दशैंको छैठौं दिन, कात्यायिनीको पूजापाठ

दशैंको छैठौं दिन, कात्यायिनीको पूजापाठ

आज बडा दशैंको छैठौं दिन हो । पूजा घरमा वा जमरा घरमा कात्यायिनी भगवतीको पूजाआजा गरेर मनाईंदैछ । कात्यायिनीलाई साहसको प्रतिक मानिन्छ । आजका दिन दियो, कलश र गणेशको पूजा गरी कात्यायिनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास छ । प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको धर्मशास्त्रहरुमा उल्लेख छ ।

उनले नै महिषासुरको वध गरेको धार्मिक मान्यता छ । विशेष गरी गुलिया परिकार उनको प्रिय रहेकाले विभिन्न मिष्ठान्न अर्पण गरिन्छ । आजैका दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ को रुपमा पूजा गरेर गरगहना चढाउने प्रचलन छ ।

आज पनि देशभर शक्तिपीठ र देवी मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत दुर्गा र देवीका मन्दिरमा घटस्थापनादेखि दर्शनार्थीको घुईंचो देखिन्छ ।

टिप्पणीहरू