मदनको हत्यामा गिरिजालाई मुछ्दै एमाले मिडिया

मदनको हत्यामा गिरिजालाई मुछ्दै एमाले मिडिया

‘धर्म भाकेर, ईश्वर साक्षी राखेर भन्दैछु’ भन्दै जननेता मदन भण्डारीको हत्याको अर्को ‘खुलासा’ गर्न तम्सिएका छन्, मोरङका उमेश गिरी । उनले हत्याको मुख्य योजनाकार तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहेको र त्यो कुराको साक्षी आफूमात्र जीवित रहेको जिकिर गरेका छन् ।

२०५१ सालमा नेपाली कांग्रेस परित्याग गरेका र सांसद खरिद बिक्री एवं एमाले विभाजनमा भाग लिँदै ०७४ को निर्वाचनताका एमाले भएका मोरङवासी उमेश गिरीले केपी ओलीपक्षीय केही व्यवसायीको लगानीमा सञ्चालित चक्रपथ डटकम र दैनिकी अनलाइनबाट त्यस्तो घोषणा गरेका हुन् । ‘छातिमा ढुंगाजस्तो साह्रो चिज बोकिरहेको थिएँ’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘खुलासा गर्नैैपर्ने थियो, आज गर्छु ।’

१२ मीनेट २३ सेकेण्डको अन्तर्वार्तामा उनले मदन हत्याको योजनाबारे सल्लाह गर्न गिरिजाले आफूलाई विराटनगरस्थित निवासमा बोलाएको बताएका छन् । भनेका छन्, ‘कुनै पनि निर्णय गर्दा गिरिजा, नोना, वीपीले पनि मलाई सोध्नुहुन्थ्यो । हत्या योजनाबारे कुरा गर्न बोलाउँदा गिरिजाले सिगरेट तानिरहनुभएको थियो । नोना कोइरालाकै सामु गिरिजाले भन्नुभयो, ‘ल उमेश, यो मदन भण्डारीले त नेपाली कांग्रेसलाई सिध्याउने भयो ।’ उमेशले ‘किन, कसरी सिध्याउने ?’ भन्दै आफ्नो कुरा सुनाएको बताएका छन् ।

उनले गिरिजालाई भने, ‘हामीले मौका पाएका छौँ । तपाईं प्रधानमन्त्री हुनुभएको छ । तपाईंले राम्रो काम गर्नुभयो भने ५० वर्ष नेपाली कांग्रेसलाई कसैले छुन सक्दैन । विश्वमा कम्युनिष्ट आन्दोलन सकिएको छ । यहाँमात्रै बचेको छ । सोभियत संघ विघटन भयो, भारतमा त्यही अवस्था छ ।’ उमेशले यसो भन्दाभन्दै गिरिजाले ‘यसले हामीलाई खान्छ, यसलाई ठेगान नलगाई हुँदैहुँदैन’ भन्नुभएको सुनाएका छन् । गिरिजाले उमेशलाई ‘तिमी के भन्छौ’ भन्दा उनले भनेका थिए रे, ‘हेर्नुस् गिरिजा दाजु, हामी प्रजातन्त्रवादी हौँ ।

अहिले उनीहरु पनि प्रजातन्त्रवादी हुन् । त्यत्रो मालेबाट सशस्त्र विद्रोह हुँदै आयो । पहिलो महासचिव सीपी मैनाली, दोस्रो महासचिव झलनाथ खनाल, त्यसपछि मदन भण्डारी । विश्वमा कम्युनिष्ट ध्वस्त भएको बेला मदनले उग्रवादी धारलाई प्रजातान्त्रिक धारमा ल्याएका छन् । त्यसलाई त हामीले स्वागत गर्नुपर्ने हो । उसैलाई सिध्याएपछि के गर्ने ?’ उमेशले ‘केही हुनुहुँदैन । नभए नेपालमा नराम्रो घटना, परिघटनाको शुरुवात हुन्छ ।’ भन्दा गिरिजा र नोना दुबै चूप लागेको उनले दाबी गरेका छन् । त्यसबेला मोरङको कर्सियामा वीपीको शालिक अनावरण गर्ने कार्यक्रम थियो । ०४९ सालको कात्तिक १५ गते शालिक अनावरण भयो । त्यहाँ पनि मदन भण्डारीलाई सिध्याउनुपर्छ भन्ने गिरिजाको कुरा थियो भनी उनले अन्तर्वार्तामा सुनाएका छन् ।

०५० साल जेठ ३ गते दासढुंगामा घटना हुँदा उनले आफू विराटनगरमा रहेको भन्दै खबर सुनेपछि मनमा चिसो पसेको बताएका छन् ‘गिरिजाले भनेको कुरा सम्झिएँ । भोलिपल्ट रञ्जन गिरी आए । यो के हो ? भनेर सोधे । मैले यो हत्या हो भनेँ ।’

उनले आफ्नो दावीलाई पुष्टि गर्न केही पात्र तयार पार्ने प्रयत्न गरेका छन् । भनेका छन्, ‘२०५१ मा मैले नेपाली कांग्रेसबाट राजीनामा दिएँ । नेपाली कांग्रेस (विश्वेश्वर) नामको पार्टी खोलें । तर, चुनाव हारेँ । ११ ठाउँमा कांग्रेसलाई हराएँ । त्यसपछि जयप्रकाश गुप्ता मसँग भेट्न आयो । हारेको झोँकमा दासढुंगा हत्याकाण्डको खुलासा गर्छु भन्दा यस्तो नगर्नुस् दाइ भन्यो । चुनाव हारेको झोँकमा भन्यो भन्छन्, कसैले पत्याउँदैनन् ।’

उनले मदनको हत्यामा एक नम्बर गिरिजाप्रसाद कोइराला र दुई नम्बरमा माधवकुमार नेपालको हात रहेको भनेका छन् । यद्यपि, ती कुराका कुनै प्रामाणिक तथ्य र विश्वसनीय घटनाक्रम छैनन् । तर, त्यही कुरालाई ओलीपक्षीय अनलाइनहरुले जोडतोडका साथ उठाएका छन् । चक्रपथ अनलाइन अहिले घनश्याम कोइरालाले चलाएका छन् भने दैनिकी माधव तिवारीको हो । चक्रपथमा ओली समूहको प्रत्यक्ष लगानी छ । दैनिकी चलाउने माधव तिवारी भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदाका प्रेस सल्लाहकार हुन् ।

उमेर गिरी उनै व्यक्ति हुन्, जो ०७४ सालमा मोरङ– ३ मा उम्मेदवार हुँदा नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा नेपाली कांग्रेसबाट उम्मेदवार थिए । सुनिललाई हराउनका निम्ति कांग्रेसमा लामो समय काम गरेका उमेश गिरीलाई एमाले प्रवेश गराइएको थियो । अचम्मको कुरा, अहिले फेरि चुनावको मुखमा कम्युनिष्टबीच फाटो पार्न र काँग्रेसलाई उत्तेजित बनाउन यिनै विवादास्पद पात्रलाई अप्रमाणित कुरा बक्न लगाएर हाइलाइट गरिएको छ ।

टिप्पणीहरू