व्याकुल माइलाले श्रम गर्दा हुन्न ? भत्ता नै चाहिने ?

व्याकुल माइलाले श्रम गर्दा हुन्न ? भत्ता नै चाहिने ?

– विराट अनुपम

शारीरिक असक्तता भएको वा श्रम गर्न खोज्दा नपाएको भए बेग्लै कुरा हुन्थ्यो । आफ्नो शैक्षिक र सीपको दक्षताअनुसार काम नपाएको भए बेग्लै कुरा । घरमा आम्दानीको कुनै माध्यम नभएको भए अर्कै प्रसंग । तर, काम गर्ने उमेर समूहका अहिलेको नेपाली राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई सरकारले भत्ता दोब्बर गरेको छ । मासिक ५० हजार यसअगाडि माइलाले पाउँदै आएको २५ हजार भत्ताभन्दा दोब्बर हो । २०७१ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला २५ हजार व्यवस्था गरिएको थियो ।

माइलाको मासिक आधा लाख भत्ताबारे सामाजिक सञ्जालमा धेरै कुरा आएका छन् । एक थरिले भत्ताभन्दा पनि रोयल्टी दिएको भन्नुपर्ने तर्क गरेका छन् । अर्को थरिले भत्ता दिएर श्रष्टा र सिर्जनाको सम्मान गरेको भनेका छन् । अर्को खालका मान्छेले भने भत्ता अनावश्यक भएको भन्दै आएका छन् । यो आलेख तीनै पक्षभन्दा भिन्न मतको छ । सुरुवात २०६४ बाट गरौँ । दोश्रो जनआन्दोलन सफल भएपछि राजनीतिक रूपमा नयाँ नेपालको खाकासँगै नयाँ राष्ट्रगान बन्ने क्रममा व्याकुल माइलाको गीत छानियो । सीमित समयमा मागिएका रचनामध्येबाट छानिएर माइलाको गीत पहिलो भएको थियो । उनले पहिलो भएबापत दुई कुरा पाए । एक, नयाँ राष्ट्रगानको लेखक हुने मौका । दुई, नयाँ राष्ट्रगान लेखेबापत् एकमुष्ट पाँच लाख इनाम । दुवै हातमा लड्डु ।

पाँच लाखमै आर्थिक हिसाब मिलेको राष्ट्रगान लेखेबापत माइलाले सात वर्षपछि मासिक २५ हजार भत्ता पाए । अहिले राष्ट्रगान फाइनल भएको १५ वर्ष पुग्दा भत्ता बढेर ५० हजार पुगेको छ । भत्ताकै कुरामा माइला असन्तुष्ट बनेका छन् । माधव नेपाल सरकारकोे गाडी, चालक र इन्धन सबै व्यवस्था गर्ने निर्णय लागू नभएकोमा चिन्तित छन् । जागिरे श्रीमति र वकालतसमेत गर्ने उनी अहिले कुनै पेशामा छैनन् । विभिन्न सार्वजनिक कार्यक्रममा मात्रै व्यस्त हुने उनले सरकारसँग आवासको समेत अपेक्षा गरेका छन् ।

माइलाको यो स्तरको लोभले उनको काम गर्ने संस्कृतिमा समस्या देखिएको छ । श्रम संस्कृतिमा विश्वास नगरेको देखिएको छ । संसारमा हरेक वर्ष नोबेल साहित्य पुरस्कार पाउने श्रस्टाहरू छन् । उनीहरू पूर्ववत् आफ्ना कामहरू गर्छन् । विकसित देशमा राष्ट्रपति, प्रधानमन्त्री भएका मान्छेहरूले पनि कार्यकाल सकेर काममा लागेका उदाहरणहरू छन् । यसको ठीक विपरीत माइलामा भने आफू खास भएको महसुस भएको देखिएको छ । काम गर्ने उमेर समूहमा हुँदाहुँदै आफूले गर्दै आएको काम छोड्नुले उनले आफू खास भएको देखाउन चाहेको प्रष्ट हुन्छ ।

केही दर्जन प्रतियोगिताहरूको सिर्जनाबाट कुनै एक समयमा छानिएको सिर्जनाको सर्जक हुनु सबैथोक हैन । फेरि पनि सिर्जना छनौट हुँदा यो वा त्यो भत्ता दिने, गाडीदेखि आवास दिने शर्तहरू थिएनन् । उनले पाँच लाख पुरस्कार पाएकै थिए । राष्ट्रगान लेखेको भन्दै आफैंले राष्ट्रिय आइकन दाबी गरेर गर्दै गरेको काम छोड्नु र राज्यको भत्तामा जिन्दगी निर्भर गर्नु धेरै ठूलो कमजोरी हो । श्रम संस्कृतिको अवमूल्यन हो । आफूलाई आम मान्छे भन्दा बेग्लै सोच्नु हो । आफ्नो देवत्वकरण गर्नु हो । यो मामिलामा माइलाको कमजोरी देखिएको छ ।

गीत लेखेर, चलचित्रका कथादेखि अन्य आख्यान र पुस्तकहरू लेखेर जिन्दगी चलाउनेहरू छन् । माइलाले भने एउटा सिर्जनाको आजीवन व्याज खाने लोभ देखाएका छन् । हो– श्रष्टाको सम्मान हुनुपर्छ । भएको पनि छ । उनले सिर्जना छनौट भएपछि पाँच लाख दाम पाए । नाम पाए । ब्राण्ड बन्यो तर त्यही ब्राण्ड बनेकै कोणमा काम गर्न छोड्नु र राज्यको भत्तामा आश्रित हुनु धेरै खराब उदाहरण हो । यसले नेपालमा श्रम संस्कृतिप्रति अस्वभाविक विकर्षण भएको देखिन्छ । यसमा माइला चुकेका छन् । नेपालमा राष्ट्रगान रचनाकार पनि काम गर्ने उमेरमा काममै व्यस्त थिए र उनले राज्यको मुख हैन आफ्नो श्रममा जिन्दगी बिताए भन्ने बिम्ब बन्न पनि माइलाले श्रमलाई सम्मान गर्नुपर्छ । भत्ता संस्कृतिलाई अस्वीकार गर्नुपर्छ ।

टिप्पणीहरू