मानवतावादको खोज, अहिलेको ओज

मानवतावादको खोज, अहिलेको ओज

-कपिल अर्याल,

शुद्धोधन ४, रुपन्देही, आज हामी २१ औं शताब्दीको भूमण्डलीकृत समाजमा छौं । पाँचौ ज्ञानेन्द्रियमध्ये आँखा सम्वेनशील अंग हो । तिनै आँखाद्वारा मानवताविरुद्ध भएका बलात् घटनाक्रम प्रत्यक्ष देखिरहेका छौं । मानवतावादको खोज आजको नयाँ विश्वका लागि एउटा चेतनायुक्त क्रान्ति हो ।

मानव साङ्लोद्वारा मानवीय घर निर्माण गर्नु यसको उद्देश्य हो । यो आन्दोलन ‘रेनेसा पिरियड’ मा इटलीबाट शुरु भएपनि विश्व जगतमा यसले निम्ताएको मानवरुपी विचारलाई मानव संरक्षणको मूल संवाहकको रुपमा पुरस्कृत भएको हामी सबैको मष्तिस्कमा कैद छ ।

स्वतन्त्रता क्रान्ति, औद्योगिक क्रान्ति, कृषि क्रान्ति, वौद्धिक क्रान्ति, औपनिवेशिक विस्तार विरुद्धको क्रान्ति, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, शीतयुद्ध इत्यादीसँग मानवताको क्रान्तिको घनिष्ठ साइनो देखिन्छ । मानवअधिकार, वौद्धिकता, मानव संरक्षण, प्रकृति संरक्षणका विषय पनि रेनेसा पिरियडबाट सुरु भएको हो । तर नेपालको हकमा सन् १९५० को राजनीतिक क्रान्ति पश्चात् यसबारेमा बृहत बहस भएको पाइन्छ ।

सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्ती पश्चात् मानवअधिकारका विषयमा र राष्ट्र संघका वडापत्रबमोजिम धेरै नवीनतम विषयको थालनी नेपालले गर्ने अवसर प्राप्त गरेको जगजाहेर छ । यसको सुरुवातीकर्ताको रुपमा जय पृथ्वीबहादुर सिंहलाई लिन सकिन्छ । सिंहले मानवता जागरणको निम्ति मानव कल्याणका उल्लेखनीय कार्य गरेकोमा दुई मत छैन । उक्त विषय काठमाडौंको बसन्तपुरमा शहीद दिवसका दिन एक जना पूर्व नेपाली राजदूतले पनि लेखकलाई बताएका थिए । सोही विचारका आधारमा हुमानिटी क्लबको स्थापना भएको हो ।आजको विश्व जगतलाई मानवतावादको खोजको आन्दोलनको आवश्यकता झन् बढ्दै गएको छ । यो आन्दोलन नितान्त चेतनाको बिगुल पनि हो । पाँच सिद्धान्तका आधारमा मानवता सम्बन्धी आन्दोलने तय भएको बताइन्छ । यो मानवमैत्री, सभ्यतामैत्री, विज्ञानमैत्री र वातावरण तथा पर्यावरणमैत्री देखिन्छ । यसको खोज, अनुसन्धान र सहकार्यमा जुट्नेको संख्या क्रमशः बढेको छ । यसका सैद्धान्तिक आधारलाई यस प्रकारले उल्लेख गर्न सकिन्छ ।

१. ब्रमाण्डीय सत्यता
२. मानवीय उपागम
३. सभ्यताको अनुशरणवाद
४. पृथ्वी, वातावरण र पर्यावरणको संरक्षणवाद
५. नवीनतम विज्ञान र प्रविधिको प्रयोग

यी पाँच सैद्धान्तिक धरातलमा रहेर मानव, प्रकृति, जीव, पृथ्वीको संरक्षणको निम्ति एउटा मूल आधार स्थापित गर्नु उक्त आन्दोलनको बृहत दृष्टिकोण हो । त्यस्तै चरित्रता, अनुशासन, कुशल शासन, संस्कारयुक्त, सभ्यता, सेवा, सदासहितायुक्त, परोपकारी, कल्याणकारी जस्ता व्यवहारिक र मनोवैज्ञानिक कार्य गर्ने उद्देश्यका लागि मानवतावादको खोजको आन्दोलन आजकोे वैश्विक अन्तर्राष्ट्रिय आन्दोलन बन्न आवश्यक भएको छ ।

विश्व जगतमा देखिएका हत्या, हिंसा, अपराध, आतंकवाद, अणु र अस्त्रको प्रयोग, द्वन्द इत्यादीले अशान्ति मात्रै होइन मानव सभ्यता, प्रकृति र मानवीयतामा दखल पुर्याएकोकामा कुनै शंका छैन । कुनै समय शान्ति क्षेत्रको प्रस्ताव विश्व जगतमा दर्शाउन सफल मुलुकले अब मानवीयताका खातिर मानवतावादको खोजको आन्दोलन मार्फत मानवीयता, मानवअधिकार र मानवशान्तीको सन्देश दिन सक्नुपर्छ ।

आज वन्यजन्तु, प्रकृतिमाथि प्रत्यक्ष मानवद्वारा गरिएका वदनियतले प्राकृतिक र भौतिकरुपमा वन्यजन्तुमाथि खतरा बढेको छ । मानिसले मानिसकाविरुद्ध निहत्था अपराधका कारण समाजमा मानवीयताको विश्वासमा अभाव आएको छ । रेडक्रस, स्काउट, लायन्स वा रोट्रयाक्ट, जेसिज जस्ता गैरसरकारी संस्था एक हदसम्म परोपकारी कार्यमा सक्रिय भएका छन् । तर मानसिक, मनोवैज्ञानिक र सैद्धान्तिक रुपमा भने चुस्तता देखिएको छैन ।

तसर्थ रुपचन्द्र विष्टको थाहा आन्दोलनले चेतना विस्तारीकरण गरेजस्तै मानवतावादको खोज आन्दोलनले पनि चेतनाको बिगुल छर्दैछ र छर्नु पर्दछ । मानव सभ्यताको अनुसरण गर्दे, ब्रम्हाण्डीय सत्यताको मानव उत्पत्ति र विकासमा क्रियाशील हुँदै, मानवीय उपागमका खातिर नवीनतम विज्ञानको प्रयोग मार्फत् पृथ्वी, वातावरण र पर्यावरणको संरक्षणमा, सक्रिय मानवजाति हुनु नै मानव श्रेष्ठताको कर्तव्य र निष्ठता हो ।

अस्त्रलाई छाडेर शास्त्र मार्फत् समाज परिचालन हुनुपर्दछ । शक्ति पुञ्ज होइन वुद्धि पुञ्जको निर्माण हुनु पर्दछ । संसार भरका गरीब, असहाय, अशक्त, ज्येष्ठ, विपन्न, द्वन्द्व पीडित, अभिभावकविहीन, अधिकारविहीनहरुको राज्यद्वारा संरक्षित कानुन निर्माणको प्रक्रिया समेतमा यसले टेवा पुर्याउने छ । जलवायु समस्याका कारण पर्यावरण र वातावरणमा देखिएका चुनौती समाधानको निम्ति मानवमाथि दबाब हुन थालेको छ ।

सोही कारणले पनि विश्वमा पैदा भएका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक चुनौतीलाई मानवताको मानव साङ्लोद्वारा गोलबद्ध गर्दै मानवतायुक्त समाज निर्माण गरी भ्रातृत्व, समानता र स्वतन्त्रता कायम गर्नु नै यस आन्दोलनको पुनर्जागरणरुपी उपलब्धी हुन सक्छ । तसर्थ २१ औं शताब्दीलाई मानवतावादको खोज कुनै नयाँ आन्दोलन नभएर मानवीयता पुनर्जागरण युगको रुपमा लिनु नै बुद्धिमानी ठहरिनेछ । सुखी, खुसी र स्वस्थ समाज निर्माण नै यो आन्दोलनको लक्ष्य हो । मानवतायुक्त बगंैचा निर्माणमा सबै जुटौं ।

टिप्पणीहरू