नर्भिकमा ‘एनएबीएल आईएसओ सर्टिफाइड’ ल्याब

नर्भिकमा ‘एनएबीएल आईएसओ सर्टिफाइड’ ल्याब

नर्भिक इन्टरनेसनल हस्पिटलले अस्पतालस्तरमा मुलुककै पहिलो र एकमात्र नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबीएल) आईएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालनमा ल्याएको छ । अस्पतालस्तरको पहिलो र एकमात्र एनएबीएल आईएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको बताइएको छ ।

प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठका अनुसार एनएबीएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तर कायम गरेका कारण नर्भिक ल्याब्रोटोरीले धेरैको मन जित्न सफल भएको हो । उनले नर्भिकको ल्याबबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाई गर्ने बताउँदै भने, ‘हामीसँग पाँच जना प्याथोलोजिष्ट हुनुहुन्छ । एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ ।’

प्रयोगशालाका विभिन्न विधाहरुमध्ये पाँच वटा स्पेशल परीक्षणलेसमेत आईएसओ सर्टिफिकेट पाएको बताइएको छ । हेमाटोलोजी, बायोकेमेस्ट्री–हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजी सेवामा आइएसओ सर्टिफाईड प्राप्त भएको हो । डा. श्रेष्ठले भने, ‘धेरै सेक्टरमा आईएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः हाम्रो ल्याब पहिलो र एकमात्र हो ।’

नियामक निकायले तोकेका र एनएबीएलका मापदण्ड पूरा गर्दै अगाडि बढेर जनविश्वास कमाएको कारण पछिल्लो समय गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति पाँच वर्षका लागि पुनः नवीकरण भएको हो । धेरै कम अस्पतालमध्ये नर्भिकले ल्याब सञ्चालनका लागि छुट्टै अनुमति लिने गरेको दाबी गरिएको छ ।

डा. श्रेष्ठकाअनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा प्रत्येक दिन बिहान, दिउँसो र बेलुकी क्वालिटी कन्ट्रोल र जाँचको काम हुने गरेको छ । मेशिनले दिएको रिपोर्टबारे प्रत्येक दिन तीन पटक जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । आन्तरिकसँगै वाह्य क्वालिटी कन्ट्रोलको काम प्रत्येक महिना गर्ने गरिएको उनले बताए ।

‘एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीलाई दिइन्छ । कुनै रिपोर्टमा केही अस्वभाविक देखिए त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको छ,’ उनले भने । ल्याबमा प्रयोग भएका सबै उपकरण एफडिए र सिए प्रमाणित भएको दाबी छ । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । डा. श्रेष्ठका अनुसार, ‘क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिँदैनौं ।’

टिप्पणीहरू