टिपीको टेलिग्राम

टिपी पौडेल
[post-views]

हरेक लेखको लेखान्त हुन्छ, आउँछ र बिझाउँछ । लेखकलाई काउकुती लाउँछ वा वेदनामा चोबल्छ र बाध्य बनाउँछ मसी बाक्नलाई वा भनौं भइरहेको चलिरहेको क्रन्दनमाथि लेखद्वारा बमन गर्न मन लाग्छ । यही एक अहिंसात्मक माध्यम हो वाक् स्वतन्त्रताको नाममा । र, यसको प्रयोग कानुनतः बोल्ने लेख्नेले समयानुकूल मिलाएर गरेका छन् । यद्यपि, नेपालको ओली सरकार वा भारतको मोदी सरकारले आफ्ना विरोधी बोलीलाई कानुनीरूपमा जेलको हावा पनि खुवाएका छन् । अमेरिकी प्रसिडेन्ट डोनाल्डको त के कुरा भयो ह्वाइटहाउसको नियमित प्रेसमिटमा लेखक पत्रकारमाथि ठाडै जाइलाग्छन्, अमेरिकी स्वतन्त्रताको नियति फ्रेन्च जनताले दिएको उपहार स्ट्याचु अफ लिबर्टी हेरेर बसिरहन सक्दैन न त त्यस कलाकृतिका सर्जक फ्रेडरिक अगस्टे बार्थल्डीको आत्मसाक्षी रहन सक्छ । संसार गोलो हो होइन त्यो खगोलीय चिन्ताको विषय भयो यहाँ भोकको चिन्ता छ, रोगको चिन्ता छ, महामारीले ल्याएको शोकको चिन्ता छ, सबै हेर्दा लाग्छ संसारमा गोलमाल छ ।

आजका युवा : रेमिट्यान्स भरुन्जेल हीरा, कोरोना लागे किरा ?

यो लेख लेखिने पनि थिएन । नलेखिनुको साटो लेखिनुका कारण छन् : सीमामा आइपुगेर पनि आफ्नो देश छिर्न नपाएर भारतीय भूमिमा कष्टकर जीवन बिताइरहेका र आफ्ना प्रियजनलाई भेट्न तड्पिएका कैयौं नेपालीको कारुणिक दृश्य आँखामा झल्झली आइरहनु । खाडीमा कामविहीन अवस्थामा खान नपाएका कैयौं नेपाली युवाको चित्कारले कान ठाडो बनाइरहनु । र, अरबी तातोमा काम गरिरहेका गाउँले दाजुभाइको व्यथाले पोलिरहनु ।

एक जना गाउँले भाइ भन्दै थियो, ‘दाइ, कोरोनाले भन्दा पनि भोकमरीले मरिने डर छ । मर्नै परे पनि हिँड्ने बेलामा गर्भमा रहेको छोरो टुकुन–टुकुन हिँडेको, मेरो आगमनको प्रतीक्षामा रहेका वृद्ध बुबा–आमाको अनुहारमा छाउने खुशी हेर्ने र सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी जहानलाई भेट्ने मन छ । सरकार हाम्रो कुरा किन सुन्दैन, दाइ ?’

म निरुत्तर भएँ । सरदर एक दशक परदेशमा बिताएकाले मैले उसको कुरा बुझ्न सक्थें, उसको पीडाको भाकामा शब्द भर्न सक्थेँ । कुन देश को के कुरा भयो र ? कस्तो रंगको पासपोर्ट बोकेको छ त्यसले के फरक पार्छ र ? सत्य यही हो देश छाड्ने हामी सबै परदेशी र काम गरी जहान पाल्नु हाम्रो नियति । त्यस कर्मको रंग, पसिनाको गन्ध र घडीले बाँध्ने समयको दासशैली हामी सबैको एकै थियो ।

विभिन्न मुलुकमा थुनिएका नेपालीको अनुहारले मस्तिष्कलाई झड्का दिइरहेको थियो केही समयदेखि । विदेशमा बस्ने नेपालीलाई ल्याएर नेपाल सोत्तर बनाउँदैनाँै भन्ने शासकको घटिया वाणीले कन्सिरीका रौं तातिरहेका छन् अझै । यस्तो बेलामा सुन्दरीका नितम्बका कथा र तिनले लाएको गाजलको वर्णन गरिने गजल वा मुक्तक लेखेर बस्ने समय होइन भन्ने लागेर आयो र भागमा परेको दुखान्तबारे गम्न मन लागेको छ । केही आएका वा आउने तयारीमा झोला बाँधेर राखेकाहरूबाट मनलाग्दी पैसा असुल गर्नलाई बीचमा एजेन्ट घुसाएर निर्लज्ज सरकार घुस खाइरहेको छ । सम्बन्धित देश भन्छ बरु मै निःशुल्क नेपाली पु¥याइदिउँला, त्यती चर्को भाडा प्रचार गरेर हाम्रो देशको बेइज्जत नगरिओस् तर बहिरो सरकार सुन्दैन । मौकामा चौका हान्न पल्केको छ । सर्वोच्च अदालत भन्छ, कुनै पनि शुल्क नलिईकन विमानमा, बसमा कसरी हुन्छ सरकारले आफ्ना नागरिकको उद्धार तत्काल गरोस् र क्वारेन्टाइनको शुल्क पनि तिर्न बाध्य नपारिओस् । सबैको प्रबन्ध सरकारले नै गर्नुपर्ने भन्छ तर सरकार ढाका टोपी मिलाउँदै पटके फ्लाइट गर्दै÷गराउँदै श्रमिकको पैसा लुटिइरहेको छ ।

मानौं तपाईं अचानक बिरामी पर्नुभयो । तपाईं आफ्नो परिवार र समाजबाट के आशा राख्नुहुन्छ ?

मानौं तपाईंको परिवारको एक सदस्य अचानक बिरामी प¥यो । तपाईं उसलाई कस्तो व्यवहार गर्नुहुन्छ ?

बिरामी हुनु आकस्मिक घट्ने घटना हो । जानीजानी मान्छे बिरामी त हँुदैन । संसारलाई आक्रान्त बनाएको अहिलेको कोरोना महामारी पनि एक आकस्मिक घटना हो । कोही पनि कोरोनाबाट संक्रमित हुन चाहँदैन र कोही–कसैलाई कोरोना सार्न पनि चाहँदैन । जीवन प्यारो छ र हामी बाँचिरहेका छाँै वा सुखमा बाँच्ने लालसमा मरिरहन बाध्य पारिएका छाँै तैपनि, यो रोग फैलिरहेको छ । मान्छेको वशभन्दा पर गएर भगवान्को मन्दिरको गजुरबाट फुत्केजस्तो वा चर्चको अजीव घण्टीले लखेट्न नसक्ने गरी, मस्जिदको लाउडस्पिकरको आवाजले सुन्न नसकिने गरी बहिरो भएर कोरोना मडारिइरहेको छ । हामी मान्छेलाई मान्छेबाट टाढा बनाइरहेको छ । यो समयकालको भोक्ता भइरहँदा मनमा आएको जिज्ञासा,
के घृणाले यसलाई जित्न सकिन्छ ? के संक्रमितलाई बहिष्कार गर्दैमा यो साम्य हुन्छ र ?

यो आलेखमा लगभग शताब्दीपहिले प्रकाशित फ्रान्ज काफ्काको प्रसिद्ध कथा ’दि मेटामोर्फोसिस’लाई आधार बनाएर वर्तमानका नेपाली शासकलाई हेर्ने प्रयास गरेको छु । यो कथा नपढेका पाठकलाई पहिले ‘दि मेटामोर्फोसिस’ कथाको सारांश कहन्छु ।

काफ्काको कथाले यस्तै एक आकस्मिक घटनाको वर्णन गर्छ । एउटा परिवारको कथालाई माध्यम बनाएर कथाकारले ब्रह्माण्ड र प्रकृतिमा अचानक घट्ने घटना र यसले ल्याउने मानवीय व्यवहारलाई उदांगो पारेका छन् ।

कथाको सारांश

फ्रान्ज काफ्काको ‘दि मेटामोर्फोसिस’ साम्सा परिवारको कथा हो । कथाको मुख्य पात्र ग्रेगर साम्सा हो । ऊ बुबा, आमा र ग्रेट साम्सा नाम गरेकी बहिनीसँग एउटा अपार्टमेन्टमा बस्छ । यही परिवारको वरिपरि कथा घुमेको छ र उक्त परिवारको मनोदशालाई चित्रण गरेको छ ।

ग्रेगर ट्राभल सेल्सम्यानको रूपमा काम गर्छ । एकदिन आफ्नो ओछ्यानमा ब्यूँझदा उसले आफूलाई ठूलो किरामा रूपान्तरण भएको पाउँछ । ऊ यताउति आफूलाई चलाउन खोज्छ तर आफ्नो नयाँ शरीरको कारण ऊ चलमल नसकेको चाल पाउँछ । उसले घडी हेर्छ र थाहा पाउँछ, लामो समय सुतेको कारण उसलाई काममा जान ढिला भएको छ ।

ढिला भएकाले ग्रेगरकी आमा ढोका ढकढक्याउँछिन् । ग्रेगर ढोकाको उसले जवाफ दिन्छ तर आफ्नो आवाज परिवर्तन भएको पाउँछ । ऊ बिरामी परेको आशंकामा उसको परिवारले ढोका खोल्न आग्रह गर्छन् । ऊ ओछ्यानबाट उठ्ने कोसिस गर्छ तर रूपान्तरित शरीर चलाउन सक्दैन । शरीर सार्न संघर्ष गर्दैगर्दा, ग्रेगरको म्यानेजर उसको अपार्टमेन्टमा आइपुग्छ । ऊ अन्ततः भुइँमा घस्रँदै ढोका खोल्ने जानकारी गराउँछ ।

ढोकाबाट अफिस म्यानेजरले ग्रेगरलाई काममा अनुपस्थित भएमा हुने नतिजाबारे चेतावनी दिन्छ र ग्रेगरको हालको काम सन्तोषजनक नभएको संकेत गर्छ । ग्रेगरले उक्त कुराको विरोध गर्छ र अफिस म्यानेजरलाई काममा चाँडै उपस्थित हुने जानकारी गराउँछ । न त उसको परिवारले न त अफिस म्यानेजर ग्रेगरले भनेको कुरा बुझ्न सक्दछन्, न त बुझ्न नै चाहन्छन् ।

बल्लतल्ल ग्रेगरले ढोका खोल्छ । कामको लागि ढिला हुने कुराका लागि उसले अफिस म्यानेजरसँग माफी माग्छ । ग्रेगरको बदलिएको अनुहार देखेर, अफिसको म्यानेजर आत्तिँदै अपार्टमेन्टबाट भाग्छ । ग्रेगर भाग्दै गरेको अफिस म्यानेजरलाई सम्झाउने प्रयास गर्छ । तर, उसको बुबाले उसलाई एउटा लठ्ठीले हिर्काउँदै विस्तारामा फर्काउँछन् । ग्रेगर ढोकाबाट पछाडि बेडरुमतिर घस्रँदै गर्दा घाइते हुन्छ । उसको बाबुले ड्याम्म ढोका लगाउँछ ।

ग्रेगरले भित्ताबाट परिवारका सदस्यहरूले कुरा गरेको सुन्न आफ्नो समय व्यतीत गर्छ । तिनीहरू प्रायः कठिन वित्तीय अवस्थाबारे छलफल गर्छन् । उनीहरूले सोच्छन्, ग्रेगरले अब उनीहरूलाई पाल्न सक्दैन । ग्रेगरले थाहा पाउँछ कि उसकी आमा उसलाई भेट्न चाहन्छिन् तर बहिनी र बुबाले भेट्न दिँदैनन् ।

आमालाई भेट्ने तीव्र इच्छासाथ ग्रेगर आफ्नो कोठाबाट भान्सामा पस्छ । बाबुले ग्रेगरलाई भान्सामा देख्छ । परिस्थितिको गलत अर्थ लगाउँदै बाबुले यसलाई आमालाई आक्रमण गर्ने प्रयास गरेको रूपमा लिन्छ र ग्रेगरलाई स्याउले हिर्काउँछ । बल्लतल्ल कोठामा फर्केको ग्रेगर गम्भीर घाइते हुन्छ ।

ग्रेगरले आफ्नो रूपान्तरणको कारण परिवारमा सृजित नयाँ गरिबी देखिरहेको हुन्छ । अन्त्यतिर ग्रेगरकी बहिनी ग्रेटले उसको आमाबाबुलाई ग्रेगरबाट छुट्कारा पाउनुपर्ने कुरा राख्छे र भन्छे ः यदि उसबाट छुटकारा नलिने हो भने, उनीहरू सबै बर्बाद हुनेछन् ।

ग्रेगरको बाबुले ग्रेगरले उनीहरूलाई बुझ्न सकोस् र आफँै बाहिर जाओस् भन्ने कामना गर्छन् । ग्रेगरले परिवारको यो कामना वास्तवमा बुझ्छ र बिस्तारै ओछ्यानमा फर्कन्छ । आफ्नो परिवारलाई आफ्नो उपस्थितिबाट मुक्त गर्न कटिबद्ध भएको ग्रेगरको मृत्यु हुन्छ ।

काफ्काको कथासँग मिल्दो सरकारको नियत र विदेशका नेपाली

कथामा जस्तो अजीव लाग्ने कुरा वर्तमानको नेपालमा भेट्न सकिन्छ । यो कथा एउटा यहुदीले बीसौं शताब्दीको शुरुमा युरोपीयन समाजमा आफूलाई समायोजन गर्न पर्दाको पीडा र एक्लोपनको व्यथा हो । यसमा एउटा नेपाली श्रमिकले खाडीमा भोग्नुपर्ने पीडा र किराको जस्तो अर्थहीन जीवन जीउन पर्ने बाध्यता देख्न सकिन्छ । परदेशमा बस्न नसक्ने अवस्था र घरदेशमा शासकको उर्दीले जान नपाइने पीडामा कथाको ग्रेगरजस्तो घरको न घाटको भई मृत्युवरण गर्न बाध्य लाखौं नेपालीको ब्यथा यसमा देख्न पाइन्छ ।

के सरकारले तानाशाही हिटलरले जस्तो विदेशमा बस्ने नेपालीलाई यहुदी बनाउन खोजेको हो ? होइन भने कोरोनाको संक्रमण फैलिएको ६ महिना बढी बित्दा पनि सरकार विदेशमा बसेका नेपालीलाई घर फर्काउन किन चाहँदैन ? अलमले नीतिमा अल्झेको सरकारको घोषणा साँझपख हुन्छ र बिहानै बदलिन्छ । भएका विमानको समुचित व्यवस्थापनमा अलमलिएको छ, सम्बन्धित देशले आफ्नै विमानखर्चमा पठाउने प्रयासम पनि केही सफल धेरै असफल भएका छन् । सरकार भने यात्रुले आफ्नै निजी खर्चमा विमान र क्वाइरेन्टाइन बनेको होटलको शुल्क तिर्न भनिरहेको छ । गाईभैसीको गोठमा मलमूत्रले सिर्जना गरेको गजार दृश्य सरकारी क्रम उपक्रमले देखाएका छन् । कमसेकम गोठको गजार कालान्तरमा कम्पोष्ट मलमा अनुदीत हुन्छ तर अहिलेको सरकारको मिति गुज्रिएपछि त्यो पनि आस गर्ने ठाउँ छैन । केवल निरासा मात्र छ, त्यसको शिकार देशभित्र बस्ने नेपाली र विदेशमा बस्ने नेपालीले अहिले भोगिरहन बाध्य बनाएको छ ।

काफ्काको कथाले एउटा मिहिनेती र परिवारको भरण–पोषण गर्ने मुख्य पात्र ग्रेगर ठूलो किरामा रूपान्तरण भएको देखाएको छ । रूपान्तरण भएपछि उसको जीवन निरर्थक बनेको छ ।

श्रम विभाग खोलेर युवाहरूलाई खाडीका विभिन्न देश र मलेसियामा पठाउने सरकारले आपत पर्दा उनीहरूलाई उद्धार गर्न बाहना बनाइरेको छ वा उपयुक्त आयको गणितमा सूत्र पहिल्याइरहेको अवस्था देखिन्छ । लकडाउनका बेला अस्ट्रेलिया उडान भर्नुमा सरकार ताली बजाइरहेको छ, यस अर्थमा कि पहिलोपल्ट नेपाली ध्वजावाहक विमानले अष्ट्रेलिया टेक्यो रे ? तर देश फर्कन झोला तयार पारी बसेका बेखर्ची बिरामी वा अलपत्र परेका नेपालीको देश फर्कने सपना तुहियो बरु विमानले खाली किन आउन नपरोस् । सरकार नेपाली युवालाई किरा बनाउन उद्यत भएको देखिन्छ । उनीहरूको जीवनलाई निस्सार बनाएको देखिन्छ र आम्दानी गर्न नसकेपछि परिवारले ग्रेगरको मृत्युको कामना गरेजस्तो शैली र शब्द ओकलिरहेको छ । श्रम मन्त्रालय र विभाग खोलेर युवाहरूलाई विदेश पैठारी गर्ने अनि त्यही पैसाले विदेशमा उपचार गर्न जाने शासकवर्गलाई विदेशमा बस्ने नेपालीलाई विपद् पर्दा ल्याउन सकिँदैन भन्नु कहाँसम्मको गैरजिम्मेवारी वक्तव्य हो त्यो हामी सबैले बुझ्न सक्छौँ ।
पैसा कमाउन सकिन्जेल ग्रेगर परिवारमा सम्मानित थियो तर जसै ऊ किरामा बदलियो परिवारले उसलाई त्यागिदिन्छन् ।

नेपाली सरकार र शासकले अहिले नेपाली युवालाई त्यही अवस्थामा धकलिदिएको छ । कोरोनापूर्व उनीहरूले पठाएको रेमिट्यान्समा मोज गरेको सरकारलाई अहिले विदेशमा बस्ने नेपाली बोझ भएको छ । रेमिट्यान्स भित्रिन्जेल हिरा लाग्ने युवा अहिले शासकको आँखामा किरा बनेको छ । सोध्न मन लागेको छ, के हामीले परिकल्पना गरेको गणतन्त्र यही हो ? या यो गलगाँडतन्त्रमा रूपान्तरण भएको हो ? बुझ्न गाह्रो परेको छ । मानी आएको तन्त्र वा पद्धतिको गलत फाइदा लिइरहेकाहरूको अप्रेसन गर्नुपर्ने बेला भएको छ । विवेचना गरेर सूक्ष्म समीक्षा गर्नुपर्ने भएको छ ।

ट्राभल सेल्सम्यानको रूपमा काम गर्ने चाहना हँुदैन ग्रेगरको । तर, परिवारका लागि ऊ निरन्तर काम गरिराख्छ । रूपान्तरित अवस्थामा पनि ऊ कामप्रति चनाखो हुन्छ । लाखौं नेपाली युवाको विदेशमा ट्राभल गरेर काम गर्ने रहर हुँदैन । तर, बेरोजगारीको खुँडाले पटकपटक हानेपछि बाध्यतावश उनीहरू आफ्ना लालाबाला परिवार छाडेर बिदेसिएका हुन्छन् ।

रोजगारी दिन नसक्ने सरकारसँग विदेश किन विदेश गयौ ? भनेर सोध्ने नैतिक प्रश्न हुने त कुरै भएन । विकल्प नदिएर सरकारले हरेक बर्ष लाखौं नेपालीलाई विदेशमा किरा बनाउन लखेटिरहेको छ । गोर्खा भर्ती पुरानो शैली थियो भाडाका सिपाही बनेर बेलायती क्राउनको रक्षा गर्दै सिंगापुर, हङकङ र बु्रनाइमा बिदेशीएका लाहुरेदेखि अरबी वा मध्यपूर्वदेखि युरोप वा अन्य विश्वमानचित्रमा आफ्नै क्षमताले पुगेका लाखौँ नेपालीको नियतिको प्रतिलिपि गाढा रंगले बढी नै रहेको छ । (अ)दक्ष कामदारको रूपमा होस् वा विद्यार्थी वा भिजिटरको नाममा पनि वर्षौंदेखि हजारौं युवालाई मौसमी किरा बनाउने काम भइरहेको छ ।

एकातिर ग्रेगर साहुको दादागिरीको शिकार भएको छ भने अर्कोतिर आफ्नै परिवारबाट उपेक्षित भएको छ । कथामा साहु अफिस म्यानेजरको रूपमा प्रकट भएको छ । नेपाली युवालाई निर्यात गरिएका देशलाई हामी अफिस म्यानेजरको रूपमा बुझ्न सक्छौँ । कैयौं देशले तिम्रो कामदार लैजाऊ वा हामीले फर्काउँछाँै भनिरहेका छन् । तर, नेपाली जनताको आँखामा छारो हाल्दै सरकार भनिरहेको छ, ‘नेपाली कामदारलाई त्यहींको नागरिकसरह व्यवहार गर्ने भनिएको छ, कूटनीतिक पहल जारी छ ।’ आफ्नै नागरिकलाई पराइ देख्ने र सहयोग नगर्ने शासकले अरू देशका साहुले नेपालीलाई राम्रो व्यवहार गर्छन् भन्ने कुरा तर्कसंगत छैन । छिमेकी भनिएको भारतमा मात्रै लाखाँै नेपाली श्रमिकले रोएर भारतीयको ज्यादती र अपमान सहँदै क्वारेन्टाइनको नाममा खुला आकाशमुनि रातदिन काट्नुपरेको छ भने अन्य देशको अवस्था त हामी कल्पना पनि गर्न सक्दैनौँ ।

कोरोना भाइरसको डरले कामदारहरू कार्यस्थलमा जान सक्ने अवस्था छैन । धेरैजसो कार्यस्थल बन्द छन् । तिनीहरू विदेशी भूमिमा किराजस्तै बेकार भएका छन्, बोझ भएका छन् । तिनीहरू आफ्नो मातृभूमि फर्कन र आफ्ना प्रियजनहरूलाई भेट्न चाहन्छन् तर सरकार उनीहरूको कुरा सुन्न चाहँदैन । रूपान्तरित ग्रेगरको आवाज सुन्ने धैर्यता न त विदेशी साहुको छ न त स्वदेशी साहुको नै ! नेपाली युवाको परिवर्तित आवाज भन्छ, ‘हामीलाई देश फर्काऊ, हामीलाई बचाऊ, बाँचे फेरि काम गर्नेछौ र रेमिट्यान्स भर्नेछौं ।’ दुर्भाग्य, सरोकारवालाहरू कानमा तेल हालेर सुतेका छन्, बन्दाबन्दी लम्ब्याइरहेका छन् । निद्राको गोली खाएर भए पनि सुतिरहेका छन् तर सुन्नेवाला छैनन्, संसारी क्रन्दनलाई देख्नेवाला छैनन् ।

ग्रेगरलाई आफ्नी आमासँग भेट्न नदिने बहिनी र बाउजस्ता केही मानिस भनिरहेका छन्, ‘विदेशमा बसेका नेपाली नल्याऊ ।’ यस्तो वाक्यांश सुन्दा, मर्दा र पर्दा खुला हृदयले सहयोगका लागि मरिमेट्ने नेपाली संस्कार मुर्छित परेको छ अहिले । हाम्रो नेपाली हुनुको संस्कार, हाम्रो जीवनशैलीको मूल्य–मान्यता विस्तारै स्खलित हुन थालेको अनुभूति हुन्छ । यस्तो स्वार्थी व्यक्तिगत मानवीय कमजोरीका रूपमा देखिनु सामान्य हुन्थ्यो तर यहाँ कलेक्टिभ संस्कार नै बनाएको छ अहिलेको सरकारले र अझै कम्मर कसेर लागेको छ मलजल गर्नलाई ।

बिनाचेकजाँच मनलाग्दी मान्छे भिœयाउनुपर्छ कसैले भन्दैन । भित्रिएका मान्छेलाई क्वारेन्टाइनमा राखेर घर पठाउन सकिन्छ वा घरमै ऊ क्वारेन्टाइनमा बस्न सक्छ । भारतबाट मात्र आउने अर्बांै मूल्यका अखाद्य सामग्री चेकजाँच छैन । यता, नेपाली उत्पादनलाई कोरोनाको भय देखाएर डोजर लगाएर पुर्नुपरेको छ वा उब्जाएका तरकारी गाईभैंसीलाई खुवाउनुपरेको छ तर सरकार नक्सा छापेर आमजनतामाथि परेड खेलीरहेकोछ । उता भारतीय पक्ष नेपाली भूमि छाड्ने त कुरा छाडौं सीमासम्बद्ध कुनै पनि विषयमा प्रवेश गर्न नै चाहेको छैन । विकसित भन्ने मुलुकमा पनि मान्छे आफ्नै घरभित्र क्वारेन्टाइनमा बसेका छन् । त्यसको अवलम्बन हामी किन गर्न सकिइरहेका छैनौँ । बन्द होटल चलाइदिएर मालिक रिझाउने र गरिब नेपालीलाई क्वारेन्टाइनको नाममा मनपरी शुल्क असुल्ने धारणाका पछाडि खेल के हो ? त्यसतर्फ हामीले मनन गर्नुपर्ने भएको छ ।

अहिले कोरोना भाइरस फैलिरहेको छ । सरदर १० हजारभन्दा बढी त नेपालमै देखिइसके संक्रमणका बिरामी । भारतीय खुला सीमा र त्यहाँको अस्पष्ट नीतिका कारण भाइरस सहजै नाकाबाट प्रवेश ग¥यो । के ग¥यो कति संख्यामा ग¥यो त्यसको रेकर्ड सरकारसँग छैन । समयमै भारतबाट फर्केका हजाराँै नेपालीलाई सिमामा थुन्ने काम गर्नुभन्दा उनीहरूलाई सुरक्षित तवरले चेकजाँच गरेर घर जान दिएको भए भाइरस तीव्र हुने थिएन । त्यसको कुनै तयारी छैन । आवश्यक पर्ने चेकजाँचका सामग्रीको पारदर्शी हिसाब सरकारले अहिलेसम्म देखाएको छैन । १४,१५ अर्ब कोरोना रोकथाममा खर्च भयो भनेर श्वेतपत्र जारी गर्छ ? कहाँ के कसरी भयो ? त्यसको कुनै शीर्षक छैन । पहिले रेमिट्यान्सबाट आउने रकमको आस थियो त्यो बाटो सुस्त भएपछि करका नाममा देशभित्र रहेका उद्यमीलाई तर्साउनेगरी समयमै करचुक्ता गर्ने उर्दी सरकारले दिएको छ । जीवन रहे पो काम भन्ने सरकारले व्यवसाय रहे पो माम भन्ने ज्ञानलाई किन बिर्को लगाएको होला ?

प्रख्यात अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिंग्वेले आफ्नो प्रख्यात उपन्यास ‘दि ओल्ड म्यान एण्ड सी’ मा भनेका छन्, ‘मानिस नाश हुन सक्छ तर पराजित हुँदैन ।’

सीमा बन्दलाई पराजय र अधिकार हननका रूपमा लिँदै हजारौं नेपाली ज्यानको बाजी लगाएर अनेक बाटोबाट आफ्नो देश प्रवेश गरे । समयमै उनीहरूलाई समेट्ने निर्णयको कमीले भाइरस फैलिन पुग्यो । अझै पनि फर्कन चाहनेहरूलाई बेलैमा ध्यान नदिने हो भने विकराल स्थिति आउनेछ, त्यसमा कुनै सन्देह छैन ।

नबुझेका जनतालाई कोरोनासम्बन्धी चेतना जगाउन सरकार चुकेको छ । टेलिकमको रिगंटोनमा अपुष्ट, सन्दर्भ नमिलेको सन्देश दिँदैमा आमजनतामा कसरी सूचना पुग्न सक्छ ? राजधानीमा लाटाबाठाहरूले दायाँ–बायाँ राखेर पत्रकार सम्मेलन गर्दैमा कसरी सूचना जनजनसम्म पुग्न सक्छ ? चर्को शुल्क लिने नाम चलेका निजी अस्पतालले कोरोना संक्रमितलाई सरकारी अस्पतारमा रिफर गरिरहेका छन् र उपचार गर्दैनौँ भन्दा कारबाही गर्न सकेको अवस्था छैन । कोरोना महामारी फैलिरहँदा ओम्नी समूहमार्फत चीनबाट ल्याएको भनिएको स्वास्थ्य सामग्रीको स्तरीयता र अनियमितताबारे सरकार मौन छ । त्यसपछि सेनाले ल्याउने भनेको तीन अर्ब बराबारको सामग्री के कति मात्रामा आयो र कहाँ कहाँ बाँडियो कुनै जवाफदेहिता छैन । यी र यस्ता यावत् कर्तुतबाट नेपाली जनताको ध्यान मोड्न शासक भनिरहेको छ, ‘हामी विदेशमा भएका नेपाली ल्याएर देश खत्तम बनाउन चाहँदैनाँै । ल्याउनै परे पनि आवश्यक रणनीति मिलाउँदै छाँै ।’

यस्ता सस्ता अभिव्यक्तिलाई सचेत नेपालीले बुझ्नुपर्ने बेला आएको छ । यसरी कोरोना संकट शासकका लागि आफूले हीरा लुट्ने र जनतालाई किरा बनाउने मौका भएको छ । ज्यान हत्केलामा राखेर, काली नदीको भंगालो तरेर आमाको काजक्रिया बस्न देश पसेका जनतालाई ग्रेगरको बाउले जस्तो डण्डा हिर्काइरहेको छ सरकार । रोम जल्दा निर्दयी शासक निरोले बाँसुरी बजाएको भन्दा डरलाग्दो यो धुन नेपाली माटोमा फैलिरहेको छ । त्यो धुनलाई अन्धाधुन्द सर्वोपरी मान्दै कर्णप्रिय भन्ने अवस्था छैन, समृद्धि बाँसुरी बजाएर आउँदैन, कर उठाउन करकर गरिरहने सरकारले बुझ्नुपर्छ, कलकारखानाको अवस्था तर विदेशका रहेका नेपालीको अवस्था । अनि देशभित्र रहेर आकाश ताकिरहेका किसानलाई घरमै थुनेर खेतमा घाँस फलाउन बाध्य पार्ने सरकारले चिन्नुपर्छ वा हामी स्वयंले चिर्नुपर्छ अहिलेको अवस्थालाई ।

केही जिज्ञासा

के विदेशमा बस्ने नेपालीलाई ग्रेगर बनाउन खोजिएको हो ? कोरोनाको कारण काम गर्न नसकेर र काम नपाएर घर फर्कन्छु भन्ने लाखौं नेपालीलाई ग्रेगरजस्तै मरोस् भन्ने चाहना हो ? के सबै नेपाली रातो बाकसमा फर्किए खर्च गर्न पर्दैन र कोरोनाको नाममा उठेको रकम रकमान्तर गरेर खान पाइन्छ भन्ने सोचेको हो ? के पारिजातको पात्र सुयोगवीरले भनेजस्तो ‘जिन्दगी असफलता हो, जिन्दगी दुर्भाग्य हो । मानिस यसैपनि दुःखी छ, उसै पनि दुःखी छ भनेर नेपालीको जीवनमा निरर्थकता र निस्सारता लाद्न खोजेको हो ?

नेपाल देश सारा नेपाली पुर्खाको रगत र पसिनाले ठडाएको शान हो । नेपालको शताब्दीयौ लामो लामो कालखण्डमा जोडिन आएको अहिलेको सरकारले मैले नै सिर्जना गरेको देश हो देशवासी हो मेरै इशारामा नाच हो भन्नु शानले बाँचिरहेका आम नेपालीको अपमान हो । चुनावी मतको गलत परिभाषा र व्याख्या अहिलेको कोरोना महामारीमा सबै देशबासीले बुझेको कुरा हो ।

(साहित्य तथा दर्शनका शोधार्थी लेखक पौडेल क्यानाडा निवासी हुन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*