डेंगु लाग्नासाथ सरकारद्वारा ओखती सित्तै

डेंगु लाग्नासाथ सरकारद्वारा ओखती सित्तै

डेंगु संक्रमण दिनहुँ बढ्न थालेपछि सरकारले पारासिटामोल नि:शुल्क वितरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न निकायहरुलाई नि:शुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराइएको जानकारी दिएको छ ।

विभिन्न भण्डारण केन्द्रहरुमा औषधी भण्डार गरी राखिएको भन्दै मन्त्रालयले आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको बताएको छ । निजी स्वास्थ्य संस्था, फार्मेसी,औषधी उद्योगलाई सिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजिकरण भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

केही महिनादेखि विभिन्न स्थानमा डेंगु प्रकोप फैलिएको उल्लेख गर्दै मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले त्यसको रोकथाम,नियन्त्रण र उपचारका लागि सबै सरोकारवालाहरुलाई आवश्यक व्यवस्था मिलाउन परिपत्र गरिएको जानकारी दिए ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहअनुसार प्रशस्त झोलिलो पदार्थ पिउने, उच्च ज्वरो भएमा पारासिटामोल औषधि सेवन गर्ने र लक्षण जटिल भएमा अन्य विशेष उपचार तथा चिकित्सकीय परामर्श लिनुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू