दशैँ मान्न घर फर्कनेका दु:ख,७ ठाउँ चेकप्वाइन्ट

दशैँ मान्न घर फर्कनेका दु:ख,७ ठाउँ चेकप्वाइन्ट

-मनिष गुप्ता

दशैँ शुरु भएसँगै कपिलवस्तुको कृष्णनगर नाकामा नेपाल फर्किनेको थेगिनसक्नु घुइँचो लाग्न थालेको छ । रोजगारीका लागि भारतको बिभिन्न शहर पुगेका कपिलवस्तु, गुल्मी,अघाँखाची, पाल्पा,बैतडी,दार्चुला, प्युठानका मानिसहरू दशैँ मनाउन घर फर्कन थालेपछि कृष्णनगरमा भीड बढेको हो ।

त्यसरी घर फर्किन लागेकाहरुलाई दुबै देशका सुरक्षा निकायले चेकजाँचका नाममा दु:ख दिने गरेको गुनासो पनि आइरहेको छ । वर्षभरि मजदुरी गरेर कमाएको थोरै रकम र चाडपर्वका लागि लत्ताकपडा ल्याउँदासमेत चेकजाँचका नाममा दुबैतिरका सुरक्षाकर्मीले ‘दशैँ खर्च’ भनी पैसा मागेर हैरान पारेको पीडितहरुको गुनासो छ । नेपालको लिङ्कगेटस्थित प्रहरी चेकिङमा बसेकाहरुले पैसा नदिए सामान मिल्काइदिने,दु:ख दिने गरेको भारतबाट हालै फर्किएका एक युवाले दुखेसो गरे ।

कृष्णनगर नाका हुँदै घर फर्किन लागेका प्युठानका १ जना यात्रु भन्छन्, ‘चाडपर्वमा सधैं दु:ख पाइन्छ । बोर्डरमा भारतीय पुलिसले पैसा माग्छ,यता नेपालमा यहाँको पुलिसले पैसा नखाई छोडदै छोड्दैन । हामी मजदुरी गर्नेहरुलाई जहाँ पुगे पनि दु:खको दुखै ।’

अर्घाखाँची,गुल्मी, पाल्पा,बैतडीलगायत जिल्ला फर्किन लागेका यात्रुहरू क्यामेरामा बोल्न चाहेनन् तर आफूले खेप्नुपरेको दु:ख भने बताए । प्युठानको बिजुवारका मनोज जिसी भारतमा काम गरेर आएका नेपालीसँग आफ्नै दाजुभाइले पैसा माग्दा सारै मन दुख्ने बताउँछन् । चेकिङमा मात्र होइन,पाइलैपिच्छे पैसा माग्नेहरूले गर्दा हैरान छन् मनोज जस्तै दशैँ मान्न घर फर्किनेहरू । कृष्णनगरस्थित टुर एण्ड ट्राभल्सहरूले सुरक्षितसाथ घरसम्म पुर्याइ दिने भनी बोर्डरमा पैसा माग्ने गरेको मनोजले सुनाए । बढी पैसा लिने तर बोर्डरमा पुगेपछि त्यसै छोडिदिने गरेको उनले बताए ।सुरक्षाकर्मी र ट्राभल्सका मान्छे मिलेर नेपाल फर्किनेहरूलाई विभिन्न बहानामा पैसा माग्दै दु:ख दिने यहाँको चलनजस्तै भैसकेको छ । विगत वर्षहरुमा चाडपर्वमा नेपालीहरु लुटिने,ठगिने गुनासोसँगै प्रहरी प्रशासनले ‘हेल्प डेक्स’ स्थापना गरी भारतीय अधिकारीसँग समन्वय गर्ने गरेका थिए । जसका कारण दशैँ मनाउन घर फर्किने नेपालीहरूलाई केही हदसम्म सहज भएको थियो । तर, यसपाला यसप्रति प्रशासनले कुनै चासो नदेखाएका कारण डेस्क स्थापना गरिएन ।

प्रहरीले सीमामा नागरिक सहायता कक्ष राखेको छैन भने सशस्त्र प्रहरी बल कृष्णनगरको डेस्कले नागरिकको आवागमनलाई सहज तुल्याउन सकेको छैन । चेकजाँचका नाममा कृष्णनगरमा मात्रै अहिले ७ ठाँउ पोइन्ट राखिएको छ ।

टिप्पणीहरू