डेंगु नियन्त्रण भन्दापनि निःशुल्क टेष्ट र सिटामोल बाँड्नमा व्यस्त महानगर

डेंगु नियन्त्रण भन्दापनि निःशुल्क टेष्ट र सिटामोल बाँड्नमा व्यस्त महानगर

पछिल्लो समय मुलुकमा डेंगुको प्रकोप बढ्दो छ । डेंगुका कारण आम नागरिकहरु आक्रान्त बनेका छन् । सात प्रदेशका ७६ जिल्लामा डेंगु फैलिएको छ । गत साउनदेखि हालसम्म २८ हजार १०५ जनामा डेंगु संक्रमण देखिएको छ ।

त्यसैगरी, ३८ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बागमती प्रदेशमा मात्रै हालसम्म २१ हजार ९७५ जना संक्रमित भेटिएका छन् । त्यस्तै, प्रदेश १ मा ८२९, मधेशमा ४१३, गण्डकीमा ६७७, लुम्बिनीमा तीन हजार १२५, कर्णालीमा २३८ र सुदुरपश्चिममा ८५० जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

डेंगु रोकथाम तथा न्यूनिकरणका लागि तीनै तहको सरकारले ध्यान नदिएको स्वास्थ्यविद्हरुले आरोप लगाएका छन् । डेंगुका बिरामीले अस्पतालका बेडहरु भरिभराउ छन् । चिकित्सकहरु समेत जीवनजल खादैं बिरामीको उपचारमा खटिएका छन् ।

डेंगुलाई सामान्य रुपमा लिँदा कोरोनापछि अर्को महामारीका रुपमा डेंगु फैलिएको बताइन्छ । डेंगु नियन्त्रणका लागि बेलैमा ध्यान नपुर्याउदा यसले उग्र रुप लिएको स्वास्थ्यविद्हरुको भनाइ छ । डेंगु संक्रमित लामखुट्टेले टोकेमा ५–६ दिन ज्वरोले शिथिल पार्छ । ७ दिनभन्दा बढी ज्वरो आएमा खतरा हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

ज्वरो आउने, ज्यान दुख्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, डाइरिया हुनेलगायत डेंगुका प्रमुख लक्षणहरु हुन् । मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिले काठमाडौं र ललितपुर डेंगुको हटस्पट बनेको छ ।

हिजोसम्म काठमाडौंमा नौ हजार ५२६ र ललितपुरमा ६ हजार ५४८ जनामा डेंगु संक्रमण देखिएको छ । त्यस्तै, भक्तपुरमा भने एक हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । घरघरमा डेंगुका बिरामीहरु छन् ।

डेंगुले गम्भीर रुपमा च्याप्दा पनि महानगरपालिका मौन बसेको छ । डेंगु जस्तो घातक रोगको रोकथामका लागि सरकारी पक्षले नै बेवास्ता गर्दा आम नागरिक थप मर्कामा परेका हुन् । डेंगु नियन्त्रणका निम्ति काठमाडौं र ललितपुर महानगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको यहाँका स्थानीयहरुको गुनासो छ । महानगरपालिकाका सम्बन्धित व्यक्तिहरुले आफ्नो कर्तव्य पुरा नगरेको आरोपसमेत लगाइएको छ ।

डेंगु नियन्त्रणमा सरकारी संयन्त्रको पहल निराशाजनक देखिएको छ । जनचेतना फैलाउने, लामखुट्टेको बासस्थान नष्ट गर्नेलगायतका कार्यले तीव्रता पाउन सकेको छैन् । महानगरपालिकाको निष्क्रियता देखेर उदेक लागेको गुनासो गर्न थालिएको छ । महानगरपालिकाको लापरवाहीले यसले झन् ठूलो रुप लिन सक्ने अनुमान लगाउन सकिन्छ ।

डेंगु नियन्त्रणको प्रयास भइरहेको छः काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि आवश्यक कदम चालेको दाबी गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले तीव्र रुपमा जनचेतना फैलाउने काम भइरहेको बताए । लामखुट्टेका लार्भाहरु खोज्न र नष्ट गर्न महानगरपालिका सक्रियताका साथ लागेको उनको भनाइ छ ।

महानगरपालिकाले नियमित लामखुट्टे मार्न स्प्रे गरिरहेको उनी बताउँछन् । साथै, निःशुल्क डेंगु टेष्ट गर्ने सुविधा ल्याइएको उनको भनाइ छ । डेंगु संक्रमितका लागि महानगरले २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ भने बिरामीले निःशुल्क एम्बुलेन्स सेवा पनि पाउनेछन् ।

यसका लागि बिरामीले १०२ मा सम्पर्क गर्नुपर्नेछ । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिने सकिने प्रवक्ता मानन्धरले बताए ।

साथै, डेंगु रोकथाम र नियन्त्रणको निम्ति टोल वा सामुदायिक रुपमा नै सक्रिय भएर लाग्न सम्पूर्ण महानगरबासीलाई आग्रह गरेको उनी बताउँछन् । डेंगु न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम भइरहेको उल्लेख गर्दै उनले थप विस्तार गरेर नयाँ कार्यक्रम ल्याइने जानकारी दिए ।

भन्छन्,‘जबसम्म सबै मिलेर डेंगु नियन्त्रणका लागि पर्दैनन्, तबसम्म यो उकालो लागिरहन्छ ।’ त्यस्तै, काठमाडौंको चार वटा ठाँउमा डेंगु चेकअपका लागि ल्याबको व्यवस्था गरिएको छ । डेंगुको शुरुवाती अवस्थाभन्दा अहिले अस्पतालहरु निकै खाली भइसकेको प्रवक्ता मानन्धर बताउँछन् ।

कतैकतै छुटेको होलाः ललितपुर महानगरपालिका

ललितपुरमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियानलाई प्राथमिकतामा राखिएको छ । वडाहरुबाट नियमित रुपमा स्प्रे गर्ने, खाल्डाखुल्डी पुर्नेलगायतका कार्य भइरहेको ललितपुर महानगरपालिकाको उपमेयर मञ्जली शाक्य बज्राचार्यले बताइन् ।

‘स्प्रे गर्ने, खाल्डाखुल्डी पुर्ने, जनचेतना फैलाउने काम भइरहेको छ’, उनले भनिन्,‘कतै आकलझुक्कुल छुटेको भए थाहा भएन् ।’ पानी जम्न नदिने र जनचेतना फैलाउन महानगरपालिकाबाट स्वास्थ्यकर्मी परिचालन गरेको उनको भनाइ छ । डेंगु नियन्त्रण र रोकथामका लागि महानगरपालिकाले सक्दो भूमिका निभाएको उनी बताउँछिन् । साथै, विभिन्न वडाले निःशुल्क डेंगु परीक्षण र सिटामोल वितरणको कार्य गरिरहेको उनले जानकारी दिइन् ।

टिप्पणीहरू