प्रतिबन्धित माहुर माछामा लाग्न सकेन लगाम

प्रतिबन्धित माहुर माछामा लाग्न सकेन लगाम

विशेषगरी भारतबाट अवैध मार्ग हुँदै ल्याइने माछा र माछा बोकेका सवारी साधन पक्रन विभिन्न नाकामा ढुकेर बसेका नेपाल मत्स्य व्यवसायी संघका प्रतिनिधिले स्वदेशकै अवैध माछा समातेका छन् । बिक्रीका लागि बजारमा लैजाँदै गरिएको अवस्थामा चितवनको भरतपुरमा उत्पादित माछा रामनगरमा नियन्त्रणमा लिइएको बताइएको छ ।

जीपमा राखेर चार सय ५० किलो माहुर माछा पोखरातर्फ लैजाँदै गर्दा गत बुधबार रातको समयमा पक्रिएको थियो । माछा पक्रेपछि भोलिपल्ट दिनभर के गर्ने भन्नेबारे छलफल चलाइयो । नष्ट गर्दा माहुरपालक किसानलाई पर्ने मर्काप्रति कठोर बनेर संघले आँखा चिम्लिन नसकेकाले त्यसलाई छाडिएको बताइन्छ ।

जेहोस्, माहुर माछा नेपालमा प्रतिबन्धित छ । यो माछामा क्यान्सरको कारक तत्व मानिएको पारो र लिडको मात्रा अत्यधिक हुने मान्यता छ । यसलाई कुहिएका माछामासु समेत खाने फोहोरी माछाको रुपमा चिनिन्छ । यो मांशाहारी भएकाले जलीय जैविक विविधता नष्ट गर्छ भन्ने मान्यता पनि उत्तिकै छ । माहुर प्रजातिका माछा संसारका धेरै मुलुकमा प्रतिबन्धित रहेको नेपाल मत्स्य व्यवसायी संघले बताएको छ ।

नेपाल सरकारले २०६१ सालमा उक्त माछाको उपभोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । तर यसको उत्पादन, बिक्री–वितरण र उपभोगलाई निरुत्साहित तुल्याउन पर्याप्त सचेतना जगाउन नसकेको संघका केन्द्रीय लेखा संयोजक सुदर्शन दवाडीको भनाइ छ । ‘माहुर माछा प्रतिबन्धित हो भन्ने कतिलाई थाहै छैन । अहिले पनि व्यावसायिक रुपमा माहुर पालिरहेका किसानलाई सरकारले लागेको खर्च दिएर नष्ट गर्दै कडाइका साथ यसलाई रोक्नुपर्छ । यसको नकारात्मक पक्षबारे सचेतना फैलाउनुपर्ने देखिन्छ,’ दवाडीले बताए ।

खाद्य प्रयोजनको निम्ति यो प्रजातिका माछा पाल्न, बेचबिखन गर्न सरकारले रोक लगाए तापनि नेपालमा यसको पालन र उपभोग दिनप्रतिदिन बढ्दो छ । माहुर माछा अत्यन्त कम लागतमा पाल्न सकिने भएकाले जोखिम मोलेर कृषकहरुको यसमा आकर्षण देखिएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदी बताउँछन् । अहिले भारतीय माछाको बिक्री वितरणससँग प्रतिस्पर्धा गरिरहेका नेपाली मत्स्य व्यवसायीहरु नेपालकै कृषकसँग समेत लफडाबाजीमा लाग्दा उनीहरुको आन्दोलन कमजोर हुन सक्ने अवस्थाले तत्काल माहुरविरुद्ध लागिहाल्न संघलाई समस्या भएको हो ।

भारतबाट अवैध रुपमा भित्रिने माछा रोक्न नेपाल सरकार निरीह भइदिँदा यतिबेला त्यसैलाई निसाना बनाएर मुख्य चेक प्वाइन्टहरुमा नेपालका मत्स्य व्यवसायी खटिएका हुन् । गत असोज ३ गते रातको समयमा यात्रुवाहक बसमा राखेर काठमाडौं लैजाँदै गर्दा भारतबाट भन्सार छलेर ल्याइएका दुई हजार किलो पंगास र रहु माछा रामनगर क्वारेन्टाइनमै समातेर नष्ट गरिएको थियो । यसअघि जीपमा राखेर पोखरा लगिँदै गर्दा पनि भारतबाट गैरकानुनी नाका हुँदै ल्याइएका झण्डै छ सय किलो माछा रामनगरमै राति नियन्त्रणमा लिएर नष्ट गरिएको व्यवसायीले बताएका छन् । चितवनका साथै हेटौंडा, सिन्धुली र रुपन्देहीमा पनि भारतीय माछामाथि निगरानी भइरहेको उनीहरुको दाबी छ ।

माछाको ओसारपसार प्रायः रातको समयमा हुने गरेको छ । मत्स्य व्यवसायी संघका केन्द्रीय लेखा संयोजक दवाडीले भने, ‘जबसम्म सरकार ट्रयाकमा आउँदैन । भारतबाट अवैध रुपमा भित्रिने माछा रोक्ने पूर्ण जिम्मेवारी लिँदैन । हामी रातभर खटिन्छौं ।’

भारतबाट जिउँदो माछा ल्याउन त्यति सम्भव छैन । मरेको माछा लामो समयसम्म नसडोस्, नबिग्रोस् भनेर अखाद्य रासायनिक पदार्थ फर्मालिन र नाइट्रेड हालेर ल्याइने गरिएको नेपाली मत्स्य व्यवसायीको दाबी छ । यस्ता विषाक्त रसायन मिलाइएका खाद्यवस्तुको सेवनले मान्छेलाई अल्सरदेखि क्यान्सरसम्मको सम्भावना हुने विज्ञ बताउँछन् ।

भारतबाट अवैधानिक रुपमा भित्रिएका माछा नेपाली माछाकै भाउमा बिक्री हुने गरेको छ । यसबाट नेपालका मत्स्य व्यवसायीहरु प्रताडित भएका हुन् । नेपाल माछामा आत्मनिर्भर भइसक्दासमेत भारतबाट भित्रिन नरोकिएको, जसले गर्दा स्थानीय किसानको बजार धराशायी भएर लागतसमेत उठाउन नसक्ने अवस्था रहेको भन्दै पछिल्लो समय नेपाल मत्स्य व्यवसायी संघले विरोध र सचेतनाको आवाज निकै बुलन्द पारेको छ ।

मत्स्य संघका साथै उद्योगी–व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ, नेपालको उद्योग–व्यवसायसम्बद्ध अन्य संघ–संगठनसमेत एक भएर भारतबाट गैरकानुनी रुपमा हुँदै आएको माछा आयात अविलम्ब रोक्न सरकारलाई चर्काे दबाब दिइरहेछन् । यसै सिलसिलामा हालै अर्थमन्त्रीले भारतबाट माछा आयात रोक्न भन्सारका कर्मचारीलाई निर्देशन दिएको मत्स्य व्यवसायी संघले जनाएको छ । अझै पनि भारतबाट माछा भित्रिए नियन्त्रणमा लिन संघका प्रतिनिधिहरु भने नाकातिर ढुकिरहेकै छन् ।

टिप्पणीहरू