कृष्ण सिटौला पूर्वराजा, एमाले र राप्रपाको त्रिपक्षीय चेपुवामा

कृष्ण सिटौला पूर्वराजा, एमाले र राप्रपाको त्रिपक्षीय चेपुवामा

गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्र शाहले आफूमाथि ‘इगो’ राख्ने गरेको नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाको बुझाइ छ । शाहलाई राजगद्दीबाट बिदाई गर्नेक्रममा गृहमन्त्रीको हैसियतमा सिटौला दरबार पुगेका थिए । यसकारण उनलाई फेरि पनि चुनावमा पछारेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयी गराउन पूर्वराजा सक्रिय हुनसक्ने विशेषगरी काँग्रेसवृत्तमा आशंका गर्न थालिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको दमकलाई पूर्वराजा ज्ञानेन्द्रको दोस्रो घरको रुपमा लिइन्छ । सोही क्षेत्रमा उनको चिया बगान रहेको बताइन्छ । चिया बगानमा बसेर ज्ञानेन्द्रले स्थानीय नेता, शुभेच्छुक, शुभचिन्तकहरुसँग भेटघाट गर्दै आएका छन् ।

बुहारी हिमानी शाहको नामबाट सञ्चालित ट्रष्टका गतिविधि पनि त्यहीँबाट हुने गरेको पाइएको छ । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङ्देनसँग सिटौला झण्डै साढे १३ हजार मतले पराजित भएका थिए ।

यस पटक लिङ्देन राप्रपाको अध्यक्षको हैसियतमा छन् । यसले पनि नेता सिटौलासामु चुनौती थपिदिएको आकलन गरिएको छ । पाँच वर्षअघि उनलाई पराजित गराउन तत्कालीन वामगठबन्धनसँगै राप्रपा पनि एक ठाउँमा उभिएको थियो । सिटौला यस पटक सत्ता गठबन्धनको निर्वाचन क्षेत्र बाँडफाँड कार्यदलको संयोजक छन् । उता एमाले र राप्रपाबीच पनि गठबन्धन हुने करिब निश्चितजस्तै देखिएको छ । तर अहिलेसम्म गठबन्धनको सीट भागबण्डा र एमाले–राप्रपाको तालमेलले ठोस आकार भने लिइसकेको छैन ।

एमाले र राप्रपाबीच गठबन्धन नभए सिटौलालाई यस पटक सिटौलाई निर्वाचनमा सहज हुने स्थानीयहरुको बुझाइ छ । एमाले अध्यक्ष ओलीले उक्त क्षेत्रबाट विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ लाई उम्मेदवार बनाउने तयारी गरेको आशंका गर्नेहरु पनि त्यत्तिकै छन् । सिटौला र मार्सीबीच नजिकको नाता सम्बन्ध रहेको दाबी गरिएको छ । स्रोतले उनीहरुबीच मामा र भानिजको नाता रहेको बतायो ।

प्रसाईंले सिटौलालाई केही महिना अगाडि टेलिफोन कुराकानीमा अध्यक्ष ओलीले आफूलाई मामाको क्षेत्रबाट निर्वाचनको निम्ति तयारी गर्न निर्देशन प्राप्त भएको सन्देश दिएको सिटौला निकटस्थहरुको दाबी छ ।

सम्भवतः अध्यक्षबाट ग्रीन सिग्नल पाएकै कारण प्रसाईं झापा–३ मा केन्द्रित भएर निर्वाचन लक्षित कार्यक्रममा सहभागी भइरहेका छन् । मतदाता आकर्षित गर्न उनले ठूलै रकम खर्चनेमा कुनै सन्देह नरहेको स्थानीय काँग्रेसी नेता–कार्यकर्ताको बुझाइ छ । एमालेका प्रतिबद्ध मतदाताभन्दा चुनावमा निर्णायक रहने तटस्थ मतदातालाई आफूतिर तान्न उनले विविध प्रयास गरेका हुन् ।

प्रसाईंले केही महिनाअघि दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुुमा अल माक्तुमलाई आफ्नो क्षेत्रमा लगेर घुमाउनुको उद्देश्य पनि निर्वाचनलक्षित भएको बताइन्छ । प्रसाईंले मुसलमान मतदातालाई आकर्षित गर्न उनलाई त्यहाँ पुर्याएको भन्नेहरु पनि छन् ।

झापा–३ मा पाँच हजारभन्दा बढी मधेशी, मुसलमान मतदाता छन् । संसदीय राजनीतिमा सिटौलाको सहभागिताले निरन्तरता पाएको छैन । कानुनी पृष्ठभूमिका उनले २०४८ सालयता एक उपचुनावसहित सात वटा निर्वाचनमा प्रतिस्पर्धा गरे । जसमा दुई वटामा मात्रै सफलता मिलेको छ । २०४८, ०५१, ०६४ र ०७४ मा पराजित उनी २०५० को उपचुनाव र ०७० को दोस्रो संविधानसभा चुनावमा विजयी भएका हुन् ।

यसअघि प्रत्यक्षतर्फ चुनाव लडेका र पार्टीको केन्द्रीय तहमा रहेका नेता सिद्धान्ततः समानुपातिकमा बस्न नहुने मान्यतालाई सिटौलाले पालना गर्दै आएको देखिन्छ । ‘मूलधारको राजनीतिमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत नभएका तर, संसदमा ल्याउनै पर्ने पात्रहरुलाई समेट्न समानुपातिकमा राख्ने हो, पार्टीको नेतृत्व तहमा रहेकाले होइन,’ भन्ने कुरामा सिटौला प्रतिबद्ध रहेको उनीनिकट एक नेताले बताए ।

०७४ को चुनावमा काँग्रेसको समानुपातिक सूचीको पहिलो नम्बरमा नाम राख्दा सिटौलाले त्यसलाई अस्वीकार गरेर प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका हुन् । तर, वाम गठबन्धनको सहयोग लिङ्देनलाई हुँदा उनी पराजित भए ।

‘आफ्नो चुनाव क्षेत्रबाट अन्यत्र जाँदा वा समानुपातिकमा समावेश हुँदा भागेको ठान्छन् । कि म सक्रिय राजनीतिबाट अलग हुन्छु, होइन भने चुनावी क्षेत्र छाड्ने कुरा हुन्न,’ समानुपातिक सूचीमा बसिदिँदा राम्रो हुन्छ भनेर सल्लाह दिनेहरुलाई सिटौलाले दिने गरेको जवाफ उल्लेख गर्दै ती नेताले जनअस्थालाई बताए ।

उता, सत्ता गठबन्धनमा रहेका पाँच दलको एकजुटका बाबजुद् एमाले–राप्रपा तालमेल र झापामा पूर्वराजा ज्ञानेन्द्रको अदृश्य सक्रियताका कारण सिटौलाका लागि यस पटक पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न त्यति सजिलो नभएको निश्कर्ष निकालिएको छ । कांग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली ठानिँदै आएका उनी आगामी दिनमा राष्ट्रिय राजनीतिको मियो बन्न सक्छन् कि सक्दैनन् त्यो भने मंसिर ४ पछि मात्र थाहा हुने छ ।

टिप्पणीहरू