आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा ग्लोबल आइएमई बैंकलाई

आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा ग्लोबल आइएमई बैंकलाई

ग्लोबल आइएमई बैंकले आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा प्राप्त गरेको छ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत ग्लोबल बैंकसँग क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता गरेको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रमा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको बैंकको दाबी छ । परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको बैंकले जनाएको छ ।

कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरणका साथै द्विपक्षीय करेस्पोन्डेण्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउने बैंकले अपेक्षा गरेको छ ।

नेपालमा जलवायु अनुकुल व्यवसाय विस्तारका लागि यो कार्यक्रम सहयोगी बन्ने बताइएको छ । ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्न दुई करोड अमेरिकी डलर लगानी गरेको थियो ।

टिप्पणीहरू