‘म्याद हेरेर सामान किन्नु’

‘म्याद हेरेर सामान किन्नु’

-अमृत बास्कुने

दशैं, तिहारलगायत मुख्य चाडवाडको पूर्व सन्ध्यामा बजार अनुगमन गर्दै घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले उपभोक्तालाई उपभोग्य सामग्री खरीद गर्दा उपभोगको म्याद (डेट) हेरेर मात्रै सामान खरिद गर्न आग्रह गरेको छ । प्रमुख चाडवाड शुरु लगत्तै हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको कालीपुल आसपास क्षेत्रमा घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा स्थलगत अनुगमन गरिएको छ ।

कार्यालयको संयोजनमा दुईवटा टोलीले कालीपुल बसपार्क क्षेत्र, हस्पिटल चोक, पिपल चोक, शिक्षामार्ग क्षेत्रमा सञ्चालित किराना तथा खुद्रा, तरकारी, फलफूल, मासु पसल तथा होटल, रेष्टुरेण्टको अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर बेनीका विभिन्न प्रकृतिका ३५ वटा पसलमा अनुगमन गरिएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।अनुगमनको क्रममा पसल दर्ता नगरी सञ्चालन गरेको, नवीकरण नगरिएको, आन्तरिक राजश्वले छापा हानेको र दर्ता तथा नवीकरणको प्रमाणपत्र नदेखाइएको, म्याद सकिएका सामानहरु बिक्री गरेका जस्ता कमी कमजोरीहरु भेटिएका छन् । अनुगमनको क्रममा भेटिएका कमी, कमजोरीलाई तत्काल सुधार गर्न उद्योगी, व्यवसायीलाई एक हप्ताको समय दिइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख शर्माले बताए ।

दशैं लागेपछि पछिल्लो पटक दुई दिनसम्म सदरमुकाम बेनीका ७० वटा पसलमा स्थलगत अनुगमन गरिएको छ । चाडपर्वलक्षित तथा अन्य समयमा निरन्तर अनुगमन गरिने अनुगमन टोलीले जानकारी दिएको छ । यसका साथै आमसर्वसाधारण तथा उपभोक्तालाई सामान खरिद गर्ने क्रममा म्याद भए, नभएको हेरेर मात्रै किन्न पनि अनुरोध गरिएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र घरेलु तथा साना उद्योग कर्यालय म्याग्दीबाट जिल्ला भित्रका विभिन्न स्थानमा१२ पटक बजार अनुगमन गरिएको घरेलुका कम्प्युटर अपरेटर सन्तोष ढुङ्गानाको भनाइ छ ।अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामान टोलीले जफत पश्चात् नष्ट गरिएको बताइएको छ । जिल्लामा कार्यालयले विभिन्न समयमा पटक पटक बजारको अनुगमन गरेको दाबी छ । मंगलबारको अनुगमनमा कालीपुल बसपार्कमा रहेका केही होटल तथा रेष्टुरेण्टमा भने सरसफाइको कमी पाइएको छ । रेष्टुरेन्टको भान्छामा फोहोर, बासी खाना, बिक्री भएको जाँडरक्सी एकै ठाउँमा राखेको भेटिएकाले यसबाट जनस्वास्थ्यमा गम्भीर असर पर्ने टोलीको बुझाइ छ ।

शर्माको नेतृत्वमा भएको बजार अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका प्रमुख, बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र म्याग्दी र पत्रकारहरुको सहभागिता थियो ।

टिप्पणीहरू