दशैँको मुखमा डेंगुको महामारी : ३० हजार संक्रमित,३६ जनाको मृत्यु

दशैँको मुखमा डेंगुको महामारी : ३० हजार संक्रमित,३६ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण ओरालो लागिरहेका बेला नेपालमा डेंगु संक्रमित हुनेको संख्या दिनहुँ बढ्दो छ । मुलुकभर फैलिएको डेंगु संक्रमणबाट बिरामीको संख्या बढेपछि यतिबेला अस्पतालका शैया भरिभराउ छन् ।

डेंगुबाट सबै उमेरका मानिसहरु संक्रमित भएका छन् । त्यसैमध्येका हुन् अजय ठकुरी । उनलाई डेंगु भएको सात दिन भइसकेको छ । तर, अझै पूरै सञ्चो भइसकेको छैन । अहिले पनि दिनमा चार पटक सिटामोल नियमित खाने गरेको ठकुरीले सुनाए ।

उमेरले लक्का जवान उनी वीर अस्पतालमा पुगेर डेंगु जाँच गर्दा अचम्ममा परे । यसअघि बालबालिका,बृद्दाबृध्दा र गर्भवतीलगायत स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिलाई डेंगुको जोखिम बढी हुने कुरा सुनेको बताउँदै उनले भने, ‘मलाई नै यो रोगले च्यापेपछि अल्लि सचेत भएको छु । लामखुट्टेले टोक्दा त सामान्य नै लाग्थ्यो तर,अहिले आफैँलाई गाह्रो पार्यो । अस्ति बिरामी हुँदा त मर्छु जस्तै लागेको थियो ।‘

ठकुरीले थपे, ‘यसअघि कोरोनाचाँहि लागेको थियो । शरीर अत्यधिक दुख्ने,आँखाको गेडी दुख्ने,खान मन नलाग्ने,वाकवाकी लाग्ने हुन थाल्यो । ज्वरो उस्तै आउन थाल्यो । अनि फेरि कोरोना लाग्यो कि भनेर अस्पताल पुगेको,डेंगु देखियो ।‘

२८ वर्षीय ठकुरी एक उदाहरण मात्र हुन् । मुलुकभर धेरैजसो सबै उमेर समूहका व्यक्तिहरु डेंगु ग्रस्त छन् । कसैलाई गाह्रो त कसैलाई सामान्य नै भएर निको हुने गरेको चिकित्सकहरु बताउँछन् ।

कोरोनापछिको अर्को भाइरसका रुपमा फेला परेको डेंगु रोगले भयावह रुप लिन सक्ने विज्ञहरुको चेतावनी छ । विशेषगरी काठमाडौँ,ललितपुर र मकवानपुरलगायत १० जिल्लामा डेंगुको जोखिम उच्च रहेको छ । हाल ती जिल्लामा संक्रमित पनि अन्य जिल्लाको तुलनामा सयौँ गुणा बढी छ । वर्षायाममा पानी जम्ने र फोहोर हुने हुँदा लामखुट्टे धेरै आउने कारणले बिरामी बढेको चिकित्सकहरु बताउँछन् ।

कसरी छुट्टाउने डेंगु र कोरोना ?

कोरोनाको चौथो लहरको ग्राफ उकालो लाग्दा काठमाडौँ उपत्यकालगायत मुलुकभर डेंगुको संक्रमण हल्का हल्का मात्र थियो । अहिले कोरोना संक्रमण घटेर दैनिक ६० को वरिपरि पुगेको छ । तर,डेंगु भने भयावह रुपमा देशभर फैलिँदै छ ।

मेडिकल अधिकृत डा. जेनिस न्यौपानेले डेंगु संक्रमितहरु दैनिक बढिरहेको बताए । उनका अनुसार आँखाका गेडी,टाउको,शरिरका भागहरु अत्याधिक दुख्नु,धेरै ज्वरो आउनु,बान्ता हुनु,रिँगटा लाग्नु यस रोगका लक्षणहरु हुन् । घाँटी खसखस हुनु,रुघा लाग्नु कोरोना संक्रमणका लक्षण हुन् ।

उनले भने,‘अस्पतालमा आउने धेरैजसो बिरामीलाई कोरोना र डेंगु छुट्टाउनै गाह्रो परेको हुन्छ । उहाँहरुले के बुझ्नुपर्छ भने कोरोनामा घाँटी र नाक खसखस भएर रुघा लाग्ने लक्षण देखा पर्छ । तर,डेंगुमा शरिर थाकेको महसुस हुने र अत्याधिक दु:खाइ हुने शुरुको लक्षण हो । यी लक्षणबाट हामीले सहजै पत्ता लगाउन सक्छौँ । उहाँहरु हामीकहाँ आउँदा पनि यी आधारमा जाँच गर्ने हो ।‘

पहिले पनि डेंगु लागेका व्यक्तिहरु पटक-पटक संक्रमणको जोखिम अत्याधिक हुने उनको भनाइ छ । यस रोगको औषधी र खोपसमेत नबनेको उल्लेख गर्दै डा. न्यौपानेले लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताए ।
नपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । पहिलेका वर्षको तुलनामा यस पटक डेंगु ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।

यो वर्ष सुरूवातदेखि नै बिरामीको चाप बढेको छ । पहिले डेंगु संक्रमितहरूलाई लक्षणहरू सामान्य थियो । तर,पछि विस्तारै कडा लक्षणहरु देखिन थालेको हो । चिकित्सकका अनुसार लामखुट्टेले टोक्नेबित्तिकै ज्वरो आउँदैन । डेंगुको लक्षण देखिन १० दिनसम्म लाग्छ । डेंगु लागेका सय जनामध्ये एक जनामा मात्र लक्षण देखिने गरेको बताइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले गत साउनदेखि हालसम्म कूल २७ हजार ५६९ जना डेंगुका बिरामी फेला परेको बताए । उनका अनुसार डेंगुका कारण हालसम्म देशभर ३६ जनाको मृत्यु भएको छ ।

उनले हालसम्म सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको जानकारी दिए । यो अवधिमा बागमतीमा २१ हजार ५८९ जनामा डेंगु भेटिएको छ । त्यसपछि लुम्बिनी प्रदेश रहेको छ । त्यहाँ अहिलेसम्म ३ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा २३६ जनालाई मात्र डेंगु भेटिएको छ । यस्तै,प्रदेश १ मा ८१५, मधेश प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
दशैँताका शहरमा घट्ने, गाउँमा बढ्ने

मन्त्रालयका प्रवक्ता ठाकुरले दशैँको समय शहरी क्षेत्रमा डेंगुका बिरामीहरु केही मात्रामा घट्न सक्ने अनुमान गरिहेको बताए । चाडपर्व मनाउन गाउँ फर्किने क्रम बढेको भन्दै उनले संक्रमितहरु समेतसँगै गएको उल्लेख गरे । यहाँको संख्या घटेसँगै गाउँमा डेंगुका बिरामीहरु बढ्ने उनको भनाइ छ ।

डेंगु कोरोना जस्तो सरुवा रोग नभएको स्पष्ट पार्दै डा. ठाकुरले डेंगुका बिरामीलाई लामखुट्टेले टोक्दा धेरै भाइसर लिने भएकाले त्यसले नै अन्य व्यक्तिलाई टोकेमा संक्रमण फैलिने बताए ।

उनले भने, ‘दशैँको मौकामा गाउँघर फर्किने क्रम बढेको छ । त्योसँगै डेँगुका बिरामीहरु पनि गएका छन् । ती व्यक्ति गाउँघरमा खुला रुपमा हिंड्डुल गर्ने र उनीहरुलाई लामखुट्टेले टोकेमा छिट्टो अन्य व्यक्तिलाई सर्ने गर्छ । डेंगु सार्ने लामखुट्टे एक हजार मीटर उठ्न सक्छ । त्यसैले हामी सबै यस्तो समयमा सचेत बन्न जरुरी छ ।‘

डेंगु नियन्त्रणमा सरकार उदासिन

पछिल्लो समय सरकार डेंगु नियन्त्रण र रोकथाममा उदासिन भएकै कारण देशभर फैलिएको आरोप लाग्ने गरेको छ । राज्यले जुनरुपमा जनतासामु जनचेतना दिनुपर्ने हो सोही किसिमले दिन नसकेको सत्तारुढ दलकै नेताहरु स्वीकार गर्छन् ।

डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले नै आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहले डेंगु नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न सरकारसँग बारम्बार आग्रह गर्ने गरेका छन् । जुन किसिमबाट डेंगुले भयावह रुप लिई रहेको छ सोहीअनुसार सरकारले रोकथाम र नियन्त्रणका लागि पहल गर्न नसकेको चिकित्सकहरुले समेत बताउने गरेका छन् ।

यता,स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुरले डेंगु नियन्त्रण र रोकथामका लागि सरकारको पक्षबाट सबै काम पूरा भइरहेको दाबी गरे । डेंगुका बिरामी देखिएलगत्तै फोहोर व्यवस्थापन,लामखुट्टेका लाभ्रा नष्ट गर्ने लगायत महात्वपूर्ण काम गरिएको भन्दै उनले प्रदेश र स्थानीय सरकारले समेत विभिन्न काम गरिरहेको बताए ।

डेंगु सार्ने लामखुट्टेबाट स्वयम् नागरिक पनि जोगिन पर्ने बताउँदै मन्त्रालयका प्रवक्ता डा. ठाकुरले भने, ‘सबै कुरामा सरकारकै मुख ताकेर हुँदैन। पानी जमेको ठाउँ सफा गर्ने, झाडीहरु उखेल्ने,झुल टाँगेर सुत्ने लगायत सुरक्षा विधि अपनाएर लामखुट्टेबाट बच्न सकिन्छ । त्यसको लागि सरकार नै नागरिकको घरघरमा पुग्नु पर्ने त होइन होला नि ?‘

कसरी गर्ने नियन्त्रण ?

एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गरेको चिकित्सकहरु बताउँछन् । घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताएको दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय भएर टोक्ने गरेको विज्ञहरु भनाइ छ ।

हाल लामखुट्टे धेरै पाइने तराईमा मात्र होइन हिमाली क्षेत्रमा समेत डेंगुको संक्रमण बढ्दै गएको छ । डा.न्यौपानेले घरबाहिर मात्र नभई घरभित्रै पनि एडिज प्रजातिको लामखुट्टे फेला पर्न सक्ने बताए । उनका अनुसार डेंगुबाट बच्ने भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । डेंगु अन्य कुनै सरुवा रोग नभएका कारण पहिलो कुरा लामखुट्टेको टोकाइबाट मात्र बच्नुपर्ने उनको भनाइ छ ।

साँझ/बिहान सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने या लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने, घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, कोठा सफा गर्नुपर्ने डा.न्यौपानेको सुझाव छ ।

लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकाले डेंगु रोकथामका लागि सबैभन्दा पहिले आम सर्वसाधारणले लामखुट्टेको लार्भा नष्ट गर्ने कुरामा ध्यान दिन आवश्यक छ । लार्भा नष्ट गर्न सकेमा मात्र डेंगु नियन्त्रण गर्ने सकिने उनले जानकारी दिए ।

टिप्पणीहरू