रानीवन नजिकै काठ गोदाममा आगो

रानीवन नजिकै काठ गोदाममा आगो

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानी वनस्थित एक फर्निचर उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल,नेपाली सेना, नेपाल प्रहरी,पानी ट्याङ्करहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

दिउँसो १ बजेदेखि अचानक आगो लाग्न शुरु भएपछि स्थानीयले तत्कालै प्रहरी वृत्त बालाजुलाई खबर गरेका थिए । बालाजु र स्वयम्भूबाट ‘क्विक रेस्पोन्स टिम–क्युआरटी’ परिचालन गराई दमकललाई ‘स्टान्डबाई’ गराइएकोमा महानगरको दमकल पनि घटनास्थल पुगेको थियो ।

आगलागी नियन्त्रणका निम्ति बौद्ध रामहिटी एक, महानगरपालिकाबाट दुई र सेनाबाट एक गरी चार दमकल र तीन पानी ट्याङ्कर परिचालन गरिएको थियो । त्यस्तै, जिल्ला प्रहरी परिसरबाट प्रहरी उपरीक्षक, नायव उपरीक्षक, नगर प्रहरी कार्यालय भृकुटीमण्डप, प्रहरी वृत्त बालाजु र स्वयम्भूका प्रहरी नायव उपरीक्षकको साथै ट्राफिक प्रहरी प्रभाग बालाजुबाट निरीक्षकको टोलीसहित झण्डै डेढ सय जना घटनास्थलमा परिचालित थिए ।

नेपाली सेनाबाट ३२ र सशस्त्र प्रहरी बल नेपालबाट ४० सुरक्षाकर्मी खटिएका थिए । अग्नि नियन्त्रक, उद्धारकर्मीलगायतको प्रयासबाट बल्लतल्ल आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीका कारण एलजी प्राइभेट लिमिटेडको दराज, सोफासेट अन्य तयारी फर्निचर गरी २५ लाख रुपैयाँ जतिको क्षति भएको छ ।

पाँच वटा ग्याँस विष्फोटन भएको छ । आगलागीमा परेर कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । हाल प्रहरी वृत्त स्वयम्भूले घटनाको मुचुल्का उठाउनेलगायतका कार्य गरिरहेको छ ।

टिप्पणीहरू