एअरपोर्ट क्षेत्रमा मनपरि चङ्गा उडाइएपछि

एअरपोर्ट क्षेत्रमा मनपरि चङ्गा उडाइएपछि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा उडाउन निषेध गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल वरपर चङ्गा उडाउन मनाही गर्दै जवर्जस्ती गरिए कारबाहीको चेतावनीसमेत दिएको छ ।

वायुयान उडान तथा अवतरणको समय विमानस्थलको आसपास चङ्गा उडाउनाले उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सर्वसाधारणलाई सचेत गराएको हो ।

‘वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने गरेको पाइएकोले यस सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ,‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

सूचनाको अवज्ञा गरी रोक लगाइएका गतिविधि गरेमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।

टिप्पणीहरू