ओरालोमा बालकोट

ओरालोमा बालकोट

– मनहरि तिमिल्सिना

भनिन्छ– ‘अहंकारले जितेको र विनम्रताले हारेको इतिहास छैन ।’ विश्व विजयको सपना बोक्ने एलेक्जेण्डर, नाजीवादी साम्राज्य विस्तारका नायक मानिने हिटलरदेखि बहुदलीय प्रजातन्त्रको अपहरण गर्ने ज्ञानेन्द्र शाहसम्मको इतिहासले अहंकारले विजय होइन पराजय मात्र व्यहोर्छ भन्ने देखाउँछ । विश्व राजनीतिक रंगमञ्चमा यस्ता दृष्टान्त दर्जनमा होइन हजारमा भेटिन्छन् ।

मानव मात्र होइन जगतमा अस्तित्ववान् सबै प्राणीको साझा गुण हो– आफू बाँचेको परिस्थितिभन्दा राम्रो परिस्थिति वा जीवनका निम्ति संघर्ष गर्नू । मानव जीवनको सन्दर्भमा यस मामिलामा २ दृष्टिकोण देखिन्छ । पहिलो दृष्टिकोणले भन्छ, जति सक्छौं, आफ्नो जीवन समृद्ध र सुखी बनाउनका निम्ति प्रयत्न गर । दोस्रो दृष्टिकोणले भन्छ : मानव जीवन सुखी बनाउन संघर्ष गर, तर आफ्ना निम्तिमात्र होइन सामूहिक जीवन र अस्तित्वका निम्ति ।

यीमध्ये पहिलो दृष्टिकोण राख्नेहरूसमेत प्राप्त सुविधा वा अनुकूलता सुरक्षित राख्दै थप सुविधाका लागि संघर्ष गर्ने गर्दछन् । तर, महत्वाकांक्षाले सीमा नाघेपछि उसले पछिल्तिर हेर्न छाडिदिन्छ, अनि आँखा अगाडिको लाभका निम्ति सम्पूर्ण तागत लगाउँछ । यसले कहिलेकाहिँ क्षणिक उपलब्धि पनि दिन्छ, तर प्रकारान्तरमा प्राप्त उपलब्धिको क्षयीकरणको मूल कारक पनि यही मनोवृत्ति बन्न जान्छ, जुन मनोवृत्तिमा बाँचेका छन् पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली ।

जब मानिसमा सामूहिक संकल्पको चेत हराउँछ, निष्ठा र प्रतिबद्धता जीवनमूल्यको सूचीबाट हट्दछ, तब ऊ अल्पदृष्टिको शिकार बन्दछ, जसले मानिसलाई टाढासम्म हेर्नै दिँदैन। तत्काल त्याग गरेर भविष्यका निम्ति लाभ हासिल गर्ने दृष्टि पुग्दै पुग्दैन । निवर्तमान संसदमा पहिलो शक्तिका रूपमा रहेको एमाले अहिले यस्तै परिस्थितिमाझ जेलिएको छ ।

प्रचण्डको प्रस्तावमा २÷२ पटक प्रधानमन्त्री भएका ओली लामो बाटो हिँड्न तयार भएनन्, जुन आफैंमा कष्टकर र दीर्घजीवी हुन्थ्यो । उनले सत्तारोहणलाई जनसेवा र राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा त लिएनन् नै, वाम गठबन्धनलाई सत्ताको लिस्नोका रूपमा बुझेका उनले पोल्टाको सुरक्षित नगर्दै भूईंको टिप्न थाले । त्यसले ओली र एमालेलाई ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ को परिस्थितिमा पुर्याउँदैछ ।

अहंकार र असहिष्णु स्वभावलाई राजनीतिक मूल्यका रूपमा स्थापित गर्न कोशिस गरिरहेका ओलीसँग सहकार्यको संस्कृति कमजोर देखिन्छ । २०७२ सालमा नयाँ संविधान बनेपश्चात् प्रचण्डको प्रस्तावमा ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए । तर, गठबन्धन सरकारको मान्यताअनुसार नचल्दा र आलोपालोको सहमति पालना नगर्दा उनका विरूद्ध संसदमै अविश्वासको प्रस्ताव ल्याउनुपरेको थियो । दोस्रोपटक वाम गठबन्धन गर्दासमेत ओलीमा विद्यमान अहंकारमा कुनै परिवर्तन आएन । बरू घटनाक्रमले आफू प्रधानमन्त्री बन्नका निम्तिमात्र ओलीले गठबन्धन गरेका थिए भन्ने तथ्यलाई नै बल मिल्यो ।

२०७४ फागुन ३ गते जतिबेला ओली प्रधानमन्त्री निर्वाचित भए, उनीसामु ‘महान् अवसरहरू’ थिए । उनले चाहेको भए नेकपामा व्यवस्थित कार्य विभाजन हुन सक्थ्यो । पार्टी र सरकारबीच सहकार्यको संस्कृति विकास हुन सक्थ्यो । समृद्धिको जग बसाल्न सकिन्थ्यो । समाजवादउन्मुख नीति कार्यक्रमप्रति इमान्दार भएको भए माओवादी पंक्ति ओलीसँग आश्वस्त हुने परिस्थिति निर्माण हुन्थ्यो । तर, ओलीले त्यसो गर्न चाहेनन् । किनकि उनमा विद्यमान अभिमान र अहंकार त्यसका निम्ति बाधक थियो । उनले महान् अवसरले भरिएको ‘वामपन्थी यान’ लाई निरन्तर रूपमा भीरको मार्गमा हाँकिरहे ।

पार्टीभित्रको विवादमा जब ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए, उनको ओरालो यात्राले थप तीव्रता पायो । प्रतिनिधिसभामा वामपन्थीको झण्डै दुई तिहाइ जनमत रहेको र आफंैलाई निर्वाचित गरेको जनप्रतिनिधिमूलक संस्था विघटन गरेपछि ओलीको लोकप्रियता मात्र घटेन, संविधान, लोकतन्त्र र व्यवस्थाप्रति ओली अनुदार रहेको आम दृष्टिकोण बन्यो । यसले ओलीलाई एकपछि अर्को रक्षात्मक बनाउँदै लग्यो ।

पुस ५ को ‘राजनीतिक काण्ड’ पछि ओली र एमालेको यात्रा निरन्तर ओरालोमा छ । प्रतिनिधिसभा विघटन र वाम एकताप्रति ओली अरूचीका कारण फागुन २३ मा नेकपाको एकता भंग भयो । त्यसपछि एमाले र माओवादी पूर्ववत् अवस्थामा क्रियाशील हुने परिस्थिति बन्यो। ओली शक्तिको क्षयीकरण यतिमा रोकिएन, नेकपा एमालेभित्र राजनीतिक द्वन्द्व विकसित हुँदै गयो । पार्टीभित्र लामो त्याग गरेको र लामो समय पार्टीको नेतृत्व गरेका नेताहरू नयाँ पार्टी निर्माणको अभियानमा लागे ।

प्रतिनिधिसभा विघटनको परिणाम प्रदेश र स्थानीयस्तरमा समेत देखिन थाल्यो । एमालेले नेतृत्व गरेका चार वटा प्रदेश सरकारहरू विस्थापित भई ती प्रदेशमा काँग्रेस–माओवादी समीकरणमा नयाँ सरकार गठन गरिए। विभिन्न राजनीतिक नियुक्तिहरू फेरबदल भए, कुटनीतिक अंगदेखि राज्यका विभिन्न निकायमा राष्ट्रिय राजनीतिको प्रभावअनुरूप राजनीतिक अदलबदल गरिए । यसले एमालेलाई एकपछि अर्को क्षति मात्र पुर्यायो ।

ओलीको ओरालो यात्रा त्यतिबेला उत्कर्षमा पुग्यो, जतिबेला उनले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरे र सर्वोच्च अदालतले परमादेश जारी गर्दै ओलीको सरकार असंवैधानिक भएको फैसला गर्यो । त्यसपछि उनी प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगे । बालकोट पुगेको दिन ओलीले घरको बार्दलीबाट माधवकुमार नेपाललगायतका नेताहरूलाई धारेहात लगाएर गाली मात्र गरेनन्, उनीहरूलाई क्षमा दिन नसकिने घोषणासमेत गरे। ओलीको उक्त अभिव्यक्तिलाई राजनीतिक आलोचकहरूले ‘बार्दलीकाण्ड’ का रूपमा चित्रित गर्ने गरेका छन् ।

ओली बालुवाटारबाट बालकोट पुग्दै गर्दा एमालेले अनपेक्षित क्षति बेहोरिरहेको छ । उनी सरकारबाट बाहिरिएपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन सरकार बनेको छ । उक्त सरकारले संविधानको परिपालना नगरी गरिएका राजनीतिक नियुक्तिहरू खारेज गरेको छ । संविधान र लोकतन्त्रलाई लयमा फर्काउन गठबन्धनद्वारा चालिएको कदमले एमालेको शक्ति कमजोर बनिरहेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा समेत एमाले कमजोर देखिएको छ । २०७४ को स्थानीय निर्वाचनमा २९६ सिटमा विजय हासिल गरेको एमालेले २०७९ को निर्वाचनमा १०० भन्दा बढी स्थानीय सरकारहरू गुमाएको छ । स्थानीयस्तरका सामाजिक संस्थामा समेत एमालेको छवि धुमिल हुँदा जनसम्बन्धका संयन्त्रहरू कमजोर हुन थालेका छन् ।

२०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव लड्दैछन् । यता प्रतिपक्षी दल एमालेले सरकारविरोधी मोर्चा बनाउन खोजे पनि त्यो परिणाममुखी देखिएको छैन । स्थानीय तहको निर्वाचन २०७९ लाई आधार मान्दा प्रत्यक्षमा एमाले १२ स्थानमा मात्र सुरक्षित देखिएको छ । यसले प्रष्टाउँछ– मंसिर ४ को निर्वाचनपछि एमाले थप कमजोर हुनेछ ।

लोकतान्त्रिक प्रणालीमा जनताले दलहरूलाई शर्तबद्ध मतदान गरेका हुन्छन्, जुन शर्तहरू दलले पालना गर्दैनन्, उनीहरूसँग मतदाताको मोहभंग हुन्छ । तर, एमालेले अघिल्लो निर्वाचनका मतदाताको मतलाई निःशर्त सम्झिरहेको छ, जुन यथार्थ होइन । समृद्धि र सुशासनको शर्तमा दिएको जनमतलाई प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक प्रणालीमाथि आक्रमण, विधिमाथि प्रहार र सुशासनमाथि अंकुश लगाएका कारण एमाले उही रूपमा रहनेछन् भन्ठान्नू एउटा मीठो कल्पना मात्र हुनेछ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा तल्लो कमिटीबाट आएको सर्वसम्मत सिफारिसमा समेत ओली अनुदार देखिएको चर्चा चल्न थालेको छ । पार्टीभित्र माधव नेपाल पक्षधरका रूपमा चिनिने ‘दश भाइ’ लाई आत्मालोचना गराएर मात्र टिकट दिने ओली अडान एमाले क्षयीकरणको अर्को कारक बन्न देखिन्छ । यसरी हेर्दा तत्कालका लागि ओली वरिपरि ठूलै भीड देखिए पनि मंसिर ४ को निर्वाचनपछि त्यो शक्ति अवसरका निम्ति विकेन्द्रित हुने र एमाले २०६४ पछिको स्थितिमा खुम्चिने आँकलन गरिएको छ ।

टिप्पणीहरू