फेरि उनैलाई ठूलो काम

फेरि उनैलाई ठूलो काम

मेडिकल सामग्री खरिद प्रकरणमा एकपछि अर्काे अनियमितताको गन्ध भेटिएको छ ।

स्वास्थ्य सेवा विभागका हाकिम महेन्द्रप्रसाद श्रेष्ठलाई सिएमसीको कार्यालयतिर लखेटेर डा.दिपेन्द्ररमन सिंहलाई तानिएको सात दिन नबित्दै अस्ति शनिवार पारेर स्वास्थ्य सेवा विभागले २८ करोड हाराहारीको टेण्डर निकालेको हो । सात थान कोरोना परीक्षणमा प्रयोग हुने उपकरण अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन र ५ लाख किट खरिद गर्नलाई समय भने मात्र तीन दिनको दिइएको छ । गत शनिबार अर्थात १३ जुनमा निस्किएको सूचनाको म्याद १६ जुन अर्थात हिजो दिँउसो अपरान्ह १२ बजे सकिएको छ ।

सो टेण्डरमा १४ वटा कम्पनी सहभागी रहे । सार्वजनिक खरिद ऐनले ,सबैभन्दा कम बोलकबोल गर्ने कम्पनी वा फर्मलाई दिनुपर्ने हो तर १५ करोड हाराहारीमा यस्ता उपकरण ल्याउन प्रस्ताव गर्ने कम्पनीलाई आउट गरेर सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनी ओम सर्जिकल कन्सर्नसँग सम्झौता हुँदैछ । ओम सर्जिकलले २४ करोड ८१ लाख रुपैयाँमा उक्त सामान दिने प्रस्ताव पेस गरेको छ । स्मरण रहोस्,ओम सर्जिकलका मालिक रामशरण भण्डारी ह्याम्स अस्पतालका मालिक हुन् ।

स्वास्थ्य सामाग्री कालोबजारीमा मुछिएको र सबैभन्दा बढी बोलकबोल गर्ने ओमलाई नै छोयो समय राखेर पुन: मेडिकल सामाग्री खरिद गर्न अनुमति दिनुले यसमा सेटिङ गन्ध आएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सुनाउँछन् ।

यसअघि स्वास्थ्य सेवा विभागले चैत २३ मा गरेको टेण्डरमा सहभागी भएको थियो ओम सर्जिकल । सिंगो देश कोरोनाको महामारीसङ्ग जुद्धै गर्दा उसले एकपटक होइन तीन तीन पटक चार्टर विमानबाट स्वास्थ्य सामग्री आपूर्ति गरेको थियो । सरकारलाई बुझाउने शर्तमा छुटमा ल्याएका स्वास्थ्य सामग्री ओमले कालोबजारीमा गरेको चार्ज लाग्यो ।

चीनबाट जहाज चार्टर गरी ल्याइएका स्वास्थ्य उपकरणहरु पूर्वी भेग इटहरी, बुटवल, धनगढीमा समेत लगेर कालोबजारी भएको छ । २ सय ७० मा पाइने एन ९५ मास्क ३८० रुपैयाँमा थोकमा बिक्री गरिएको छ। सरकारलाई बुझाउनुपर्ने यी सामान बुझाउन नसकेपछि पटक पटक गरी तीन पटकसम्म ताकेता पनि गरेको हो स्वास्थ्य सेवा विभागले । तर व्युरोक्रेट र मन्त्रीहरुभन्दा पनि एउटा ठेकेदार शक्तिशाली हुने देश न परयो नेपाल । नेकपा नेताहरुसँगै उठबस भएका रामशरण भण्डारी कालोसूचीमा पनि परेनन् । यसरी राज्य र त्यसका निकायमाथि घात गर्ने तिनै रामशरणहरुले अर्काे २४ करोडको टेण्डर हात पार्न सफल भएका छन् ।

टिप्पणीहरू